७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीबाट विस्थापित भोकभोकै बस्न बाध्य

बाँके (बैजापुर)- राप्तीसोनारी गाउँपालिका–३ बैजापुरकी नुमा शाहीको घरमा तीन दिनदेखि चुल्हो बलेको छैन। राप्तीको बाढीले घर खण्डहरमा परिणत भएको छ भने अन्नपात, लत्ताकपडा पूरै भिजेका छन्। करिब दुई फिटसम्म पानी जमेका कारण बाढी घटे पनि घरभित्र जमेको हिलो सुक्न पाएको छैन। दिनहुँ वर्षा भइरहेकाले भिजेको अन्नपात सुकाउन पाएकी छैनन्।

   शाही परिवारले छिमेकीको घरमा आश्रय लिइरहेको छ। ‘घरभित्र पस्ने बित्तिकै मन भक्कानिन्छ,’ सुष्माले नागरिकसँग भनिन्, ‘बाढीले हामीलाई सुकुमबासी नै बनायो।’ गाउँमा राप्ती नदीको बाढी आउने कल्पना नै नगरेकाले पूर्वतयारी नगरिएको र यसले धेरै क्षति बेहोर्नु परेको उनले सुनाइन्। मध्यरातमा बाढी आएकाले मुस्किलले ज्यान जोगाउन सफल भएको सुष्माले बताइन्। उनले थपिन्, ‘घरभित्र राखेको दाल, चामल, धान, गहुँलगायत सबै अन्नपात भिजेर गन्हाउने भइसकेको छ, अहिलेसम्म कोही पनि राहत लिएर आएका छैनन्।’

अर्का पीडित बढवा थारुको त झन् बाढीले घर नै भत्काइदिएको छ। घर भत्किदा मानवीय क्षति नभए पनि कुनै पनि सामान बाहिर निकाल्न नपाएको थारु बताउँछन्। विस्थापित भएको उनको परिवारले आफन्तको घरमा आश्रय लिइरहेको छ। घर भत्केपछि अन्नपात, लत्ताकपडा सबै पुरिएको उनले दुखेसो पोखे। थारुले भने, ‘बाढीले घरवारबिहीन बनायो, अब कसरी बाँच्ने होला?’ विस्थापित भएको दिनदेखि भोकभोकै बस्नु परेको बताउँदै गाउँमा अहिलेसम्म राहत बाँड्न कुनै पनि संघ संस्था, सरकारी निकाय नआएको गुनासो गरे। वृद्ध थारुले थपे, ‘आफन्तको घरमा पनि अब धेरै दिन टिक्न सक्ने अवस्था छैन, त्यहाँ पनि धेरै अन्नपात भिजेको छ, कहाँबाट ल्याएर हामीले पेट पाल्ने होला?’

   बाँकेको बाढी प्रभावित क्षेत्रमा उनीजस्तै धेरै पीडितहरू भोकभोकै बस्न बाध्य छन्। बाढीले राप्तीसोनारी गाउँपालिकाका १ देखि ९ वडामा करिब ७० प्रतिशत घरमा क्षति पुर्‍याएको गाउँपालिका कार्यालयले प्रारम्भिक अनुमान गरेको छ। यस्तै बाढीले डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही वडाका घरमा क्षति गरेको छ। जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेले  प्रभावकारी रूपले राहत वितरण गर्न सकेको छैन।

  गाउँपालिकाको पहलमा केही पीडितलाई राहत वितरण गरिएको छ। राजमार्ग तथा सडकहरू ठाउँ–ठाउँमा भत्केका कारण राहत सामग्री पठाउन कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले बताए। ‘नेपाली सेनाको एउटा मात्रै हेलिकोप्टर यहाँ परिचालित भएको छ,’ उनले भने ‘एउटा हेलिकोप्टरले कहिले बाँके, कहिले बर्दियामा राहत सामग्री खसाल्छ, यसले गर्दा राहत वितरण प्रभावकारी हुन नसकेको हो।’

  उनका अनुसार सोमबार सेनाको हेलिकोप्टरमार्फत बाँके, राप्तीसोनारी गाउँपालिकाको देउपुर्वा, सर्रा, डुडुवा गाउँपालिकाको चौफेरी, नरैनापुरको भगवानपुर क्षेत्रमा चिनी, चिउरा, नुन, तेल, बिस्कुट, चाउचाउ, पानी वितरण गरिएको छ। फत्तेपुरमा औषधिसहित स्वास्थ्यकर्मी टोली पठाइएको उनले बताए।

राहत संकलन र वितरण सुरु

 बाढीपीडितका लागि जिल्लामा विभिन्न व्यक्ति, क्लब, तथा संघ, संस्थाले राहत संकलन सुरु गरेका छन्। जिल्ला बालक्लब सञ्जाल बाँके, नगर स्तरीय बालक्लब सञ्जाल, बीग्रुप, निजामती कर्मचारीको आधिकारिक टे्रड युनियन, निजामती कर्मचारी युनियन संघ, निजामती कर्मचारी संगठन, क्रियाशिल पत्रकार महिला, लायन्स तथा लियो क्लब, जेसिसलगायत संघ संस्थाले राहत संकलन अभियान सुरु गरेका हुन्।

   यसैबीच व्याकवार्ड सोसाईटी एजुकेशन(बेस)ले  बाढी प्रभावित राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा सोमबार चिउरा र चाउचाउ वितरण गरेको छ। गाउँपालिका अध्यक्ष लाहुराम थारुको उपस्थितीमा झण्डै १२ सय घरधुरीलाई राहत वितरण गरिएको बेसका केन्द्रीय सदस्य संगीता चौधरीले जानकारी दिइन्।

राजमार्ग तेस्रो दिन पनि अवरुद्ध

   अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्ग सोमबार तेस्रो दिन पनि सञ्चालनमा आउन सकेन। राजमार्ग सञ्चालनमा नआउँदा विशेषगरी अत्यावश्यक सामान बोकेका सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन्। राजमार्ग नखुल्दा राहत सामग्री ओसारपसार गर्नसमेत कठिनाइ भएको छ। राजमार्ग भएर आवतजावत गर्ने यात्रुसमेत समस्यामा परेका छन्।

  कोहलपुर–कुसुम खण्डको गन्धौली खोला र गाभर खोलामा रहेको पुल शनिबार बिहान करिब ५ बजेतिर भत्काएको थियो। भत्केको पुलमा माटो पटान गरी राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरे पनि वर्षा आउने बित्तिकै माटो बगाएर लैजाँदा समस्या परेको प्रहरीले जनाएको छ। यस्तै पूर्वपश्चिम राजमार्गको कोहलपुर–कुसुम खण्डमा करिब एक दर्जन पुल तथा कल्भर्ट पनि भत्किने अवस्थामा पुगेका छन्।

प्रकाशित: ३१ श्रावण २०७४ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App