coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिक्टाको ढोका समयमा नखोल्दा बढी क्षति

बाँके (बैजापुर)- बाँके, राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित सिक्टा सिंचाई आयोजनाको मूल बाँधको ढोका समयमा नखोल्दा राप्ती नदीको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। वर्षा भइरहेको अवस्थामा पनि मूल बाँधको ढोका बन्द गरिँदा बाढीले उक्त गाउँपालिकाको वडा नम्वर ३ र ४ बैजापुर तथा वडा नम्वर ५ बिनौनामा अकल्पनीय क्षति पुगेको हो। यी वडाका दर्जनौं गाउँ डुबानमा पर्दा हजारौं घर परिवारको यतिखेर विचल्ली भएको छ। सिक्टा सिंचाइ आयोजनाको लापरबाहीले राप्ती नदीको भेल सिधै गाउँमा पसेको हो।

स्थानीयका अनुसार शुक्रबार रातीदेखि भएको अविरल वर्षाले सिक्टा सिंचाई आयोजनाको मूल बाँधका कुल १८ वटा ढोका मध्ये ४ वटा मात्र खुला थिए। आयोजनाका कर्मचारीले बाँधका ढोका समयमा खोल्ने हेक्का नै राखेनन्। पानीको बहाब बढ्दै गएपछि स्थानीय बासिन्दाले सुतेका कर्मचारीलाई उठाएर बाँधको ढोका खोल्न लगाएका थिए। कर्मचारीले जेनेरेटर चलाएर एकैसाथ सबै ढोका पूरै खोलिदिएपछि राप्तीको भेल बैजापुर, बिनौना, कचनापुरका विभिन्न गाउँमा पसेर जनधनको ठूलो क्षति पुर्‍यायो। बाढी गाउँमा पस्दा रातको करिब १ बजिसकेको थियो। स्थानीय बासिन्दाबीच भागाभाग मच्चियो।

‘राप्ती नदीको बाढी त्यसरी आउला भनेर हामीले कल्पनै गरेका थिएनौं,’ राप्तीसोनारी गाउँपालिका–३ का पर्वराम थारुले भने ‘बाढी आएर घर घेरिसकेपछि मात्र भागाभाग मच्चियो।’ बाढीले घर भत्काउँदा बैजापुरस्थित लालपुर निवासी एकै घरका तीन बालिकाको पुरिएर मृत्यु भएको छ भने उच्च स्थानमा रहेका गाउँ पूरै जलमग्न भएको छ।

 बाढीकै कारण दर्जनौं चौपाया मरेका छन्। रातको समयमा बाढी आएपछि स्थानीयले चौपाया, खाद्यान्न, लत्ताकपडा केही जोगाउन सकेनन्। ‘राती मस्त निद्रामा परेको बेला रातको समयमा बाढी आयो, मुस्किलले ज्यान मात्रै जोगाउन पाइयो,’ ६० वर्षीया पविता भण्डारीले भनिन्। अहिलेसम्म गाउँमा राप्ती नदीको यति ठूलो बाढी नआएको स्थानीयले बताएका छन्। बाढीले गाउँभरि करिब ३ फिटसम्म पानी आएको उनीहरूले बताएका छन्।

बाढीले बढी क्षति पुर्‍याएको राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, कचनापुर, महादेवपुरी क्षेत्रमा अहिलेसम्म कुनै निकाय राहतका लागि पुगेका छैनन्। गाउँमा पीडितको विचल्ली भएको छ। दुई दिनदेखी भोकभोकै बस्न बाध्य छन्। विस्थापितले आफन्तका घर, विद्यालय तथा सरकारी भवनमा आश्रय लिइरहेका छन्। बाढी प्रभावित गाउँ सुनसान छन्। मरेका पशु चौपायाले गाउँ दुर्गन्धित हुन थालेको छ। बाढी पसेर विचल्ली बनाएका कारण कसैको चुलोमा आगो बलेको छैन।

राप्तीसोनारी गाउँपालिकाको वडा न. १ देखि ९ सम्म पूरै गाउँ डुबानमा परेका छन्। बाढी पसेर सयौं घर भत्किएका छन् भने हजारौं घर डुबानमा परेका छन्।

प्रकाशित: ३१ श्रावण २०७४ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App