१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

फेर्नुपर्ने, फेरिएको चालढाल

कार्ल मार्क्सले भनका छन्, 'परिस्थितिले मानव चेतना बनाउँछ। मानव चेतनाले परिस्थिति बनाउँदैन।' माओवादी शक्ति नेपालको अग्रगामी, जनविद्रोह, क्रान्ति, उपलब्धि र जनाधारको प्रमुख शक्ति हो। सामन्ती, विभेद, जातीय, वर्गीय, क्षेत्रीय, लैंगिकलगायतका असमानता एवं विभेदविरुद्ध बलिदानी दिएको, जनयुद्धमार्फत शोषण उत्पीडनमा पारिएका जनसमुदायका हक अधिकारका निम्ति जबर्जस्त स्थापित मूल धार बन्न पुग्यो, माओवादी आन्दोलन। त्यसकारण मानवता, सभ्यता, न्याय लोकतन्त्र, गणतन्त्र जनताको सार्वभौमसत्ता, समानता र समावेशिताको प्रतीक बन्न सफल भयो।

वास्तवमा माओवादी केन्द्र कमजोर बन्नुमा 'किन चाउरिस मरिच आफ्नै रागले' भन्ने उखान चरितार्थ हुन्छ।

पछिल्लो कालखण्डमा कहाँ चुक्न पुग्यो माओवादी केन्द्र? परिस्थितिलाई ठीक ढंगले मूल्यांकन गर्न र त्यसैबमोजिमको चेतना स्थापित गर्न सकेन कि? क्रमिक फुटलाई किन रोक्न सकेन? लोकतन्त्र, न्याय, विधिको शासनलाई जीवन ठान्ने र माओवादी केन्द्रमा जोडिन चाहने नयाँ विप्लव, नयाँ बाबुराम, नयाँ मोहन वैद्यहरूलाई पार्टीमा स्वागत गर्ने, नयाँ जिम्मेवारी एवं विश्वाससाथ पार्टी र राष्ट्रलाई थप अघि बढाउने दृढता निर्माण गर्न सक्नुपर्छ। समय परिस्थिति, सन्दर्भलाई सही मूल्यांकन गरी नीति र नेतृत्व 'डायनामिक' हुने हो भने मात्रै यस पार्टीलाई भविष्यमा अब्बल, विशाल र सफल बनाउन सकिन्छ।

सम्पन्न भएका स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र तेस्रो शक्ति बन्न पुग्यो। वास्तवमा माओवादी केन्द्र कमजोर बन्नुमा 'किन चाउरिस मरिच आफ्नै रागले' भन्ने नेपाली उखान चरितार्थ हुन्छ। मतपरिणामपछि उसले जसरी आफैँभित्र कमी–कमजोरी देख्यो र आन्तरिक र बाह्य स्वार्थ, घमण्ड, पथभ्रष्टता, अन्योलजस्ता कारणले पार्टी विभिन्न समयमा फुट्न गयो। अब केन्द्रसामु दुई चुनौती छन्। एक फुटेर गएका, भ्रमित पुराना शक्तिलाई कसरी जोड्ने? दोस्रो, नयाँ युवा, क्रान्तिकारी, अग्रगामी, लोकतन्त्रवादी ठूलो जमात माओवादी केन्द्रमा संगठित हुन चाहन्छ, तिनलाई कसरी जोड्ने?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थायी कमिटी बैठकमा पार्टी विघटन गर्ने उद्घोष गरेको भन्ने सवालमा हाल निकै ठूलो चर्चा छ, बजारमा। सत्ता, स्वार्थ, लोभ सम्पत्तिको लोभ, विलासिता, जनतासँग सोझो सम्पर्कबाट विमूख, गुटफुट इत्यादि कारणले माओवादीप्रति जनतामा निराशा छायो। कहिले माओवादी सत्ताका निम्ति एमालेजस्तो, कहिले विभिन्न कारणले नेपाली कांग्रेसजस्तो बन्न र देखिन पुग्यो। त्यति मात्रै होइन, कहिले राष्ट्रवादी, कहिले छिमेकी मुलुक भारत विरोधीजस्तो, कहिले सहयोगीजस्तो, कहिले कम्युनिस्ट, कहिले लोकतन्त्रवादी, पुँजीवादी पार्टीजस्तो काम र व्यवहार देखाउन पुग्यो।

राजनीति द्वन्द्वबाट नै अघि बढ्छ। सामन्ती, पश्चिगामी, कथित उच्च जाति, वर्गका व्यक्ति र त्यस्ता सोच राख्नेहरू राष्ट्रलाई पछाडि फर्काउन चाहन्छन्। संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, समानता र समावेशीकरण, विधिको शासन, जनप्रतिधिद्वारा लिखित संविधान, त्यस्तो शक्तिको निमित्त असह्य भएको छ। माओवादी केन्द्रलगायतका अग्रगामी शक्ति भने यस्ता जनताका उपलब्धि एवं जनाधारलाई प्रयोग गदर्ैै थप उपलब्धिका निम्ति अघि जान चाहन्छ। फुटेका माओवादी घटकसँग मात्रै होइन, क्रान्तिकारी अग्रगामी, न्यायप्रेमी, परिवर्तनलाई सहयोग गर्ने अन्य राजनीतिक शक्ति संस्था र व्यक्तिलाई कृेन्द्रमा गोलबन्द गर्ने उद्देश्य राख्नैपर्छ।

उत्पीडित वर्ग, शोषण दमन, अन्याय, अत्याचारमा परेका जाति, क्षेत्र, लिंग, वर्गको विशाल भरोसा र सहादतमार्फत माओवादी शक्ति स्थापित हुन पुगेको हो। सामन्तवादविरुद्ध क्रान्तिको उदय त्यसै भएको थिएन। राजशाहीदेखि तल्लो स्तरसम्म जमिनदारी कुलघराना, जातिको नाममा चलाइएका सामन्ती अत्याचारविरुद्ध मुक्तिका निम्ति जनताले माओवादीलाई साथ दिए। र, बलिदानीको इतिहास रचिएको हो। तथापि कमजोर वर्ग, उत्पीडित, दमित, जनताको योगदानलाई भुलेर सामन्तसँगै साइनो जोड्न पुग्ने हो भने माओवादी आन्दोलन सकिने मात्रै होइन, ती दुःखी गरिबमाथि देखाइएको सपनासमेत अपुरो बन्न जान्छ।

माओवादी केन्द्रले जनयुद्धकालमा आश्रय पाएका झुपडी, भोकमा पाएको खोले, ढिँडो, डर र त्रासका बीच पाएको जनताको साथ, सहयोग भुल्ने धृष्टता गर्नै हुँदैन। माओवादीको फेरिएको चालढाल सुुधार्न जरुरी छ। जनतासँग टाढिँदै गएको सम्बन्ध तत्काल सुधार्न जरुरी छ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, विधिको शासन, न्याय समानता र समावेशीकरण, संविधानवाद लगायतका जनउपलब्धि प्राप्त भइसकेका छन्। संसदीय व्यवस्था मात्रै लोकतन्त्र होइन। प्रत्यक्ष निर्वाचिन कार्यकारी (राष्ट्रपति या प्रधानमन्त्री) पनि लोकतान्त्रिक व्यवस्था नै हो। संसदीय व्यवस्थाको विकल्प खोज्न फेरि अर्को विद्रोह गरिरहन जरुरी छैन। किनभने प्रत्यक्ष निर्वाचित कार्यकारी पक्षधर शक्ति मिल्ने र जनमत प्राप्त गरी यसै संविधान संशोधन गर्न कठिन छैन। वैधानिक, जनताको मन र मत जितेर नै यस्तो स्थायित्व दिने शासन पद्धतिमा प्रवेश गर्न सकिन्छ। त्यसैकारण जनतालाई त्रस्त, भ्रमित, आक्रोशित बनाइरहनु जरुरी छैन।

अब युद्धमार्फत होइन, जनमतद्वारा राष्ट्रको समृद्धि प्राप्त गर्न सकिन्छ। अथाह जनउपलब्धि प्राप्त भइसकेको नवयुगमा हामी प्रवेश गरेको सन्दर्भमा बढीभन्दा बढी जनतासँग जोडिनु, भरोसा जित्नु नै माओवादी केन्द्र (अन्यको पनि) को दायित्व हो। कसैले गरेनन्, माओवादीले गर्छ भन्ने आशा अझै जीवितै छ। पार्टीले सबै अग्रगामी शक्तिलाई एकताबद्ध बनाउँदै राष्ट्रको विकृति रूढिवाद, कुसंस्कार, विभेद, छुवाछूत, असमानताविरुद्ध अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गर्नुपर्छ। राष्ट्रको दिगो समृद्धिका निमित्त माओवादी केन्द्रको भविष्य पनि जोडिएको छ र यही नै एक मात्र बाटो हो।

प्रकाशित: ५ भाद्र २०७४ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App