८ वैशाख २०८१ शनिबार
प्रवास

अमेरिकामा दिनबन्धुको पुराण अभियान

टेक्सास- अमेरिकामा नेपाली समुदायले आआफ्नो बासोबास भएको स्थानमा सामुदायिक भवन निर्माणमा जुटेका छन्। सामुदायिक भवन निर्माणका लागि पछिल्लो एक महिनामा मात्रै पण्डित दिनबन्धु पोख्रेलले बोष्टन, नर्थ क्यारोलिनामा सात दिने श्रीमद भागवत महापुराण वाचन गरेका छन्। आजबाट न्यूयोर्कमा रिजउड नेपाली सोसाईटीको आयोजनामा भागवत पुराण शुरु भएको छ।

बोष्टनमा पशुपतिनाथ बुद्ध फाउण्डेसनले कम्यूनिटि सेन्टरमा पसुपतिनाथ र बुद्धको मन्दिर स्थापना गर्नका लागि आयोजना गरिएको सप्ताहमा १६ लाख डलर जम्मा भएको सथका अध्यक्ष विष्णुमणि आचार्यले बताए। फाउण्डेसनका महासचिव ध्रुव घिमिरेका अनुसार कम्यूनिटि सेन्टरसहित मन्दिर स्थापना गर्ने अभियान पहिलेदेखि नै शुरु भएको र हाल आएर मुर्तरुप पाउन लागेको बताए। यस अघि देउसी भैलो अभियानबाट जम्मा भएको डेढ लाख डलर र पुराणबाट जम्मा भएको १६ लाख डलरले भवन बनाउन सकिने महासचिव घिमिरेले सुनाए। त्यसका लागि जग्गा वा बनेकै मर्मत गर्न मिल्ने भवन खोजी अभियान जारी रहेको उनले बताए।
   
उता ट्रायड नेपलीज् कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टर स्थापनाका लागि आयोजना गरिएको श्रीमद् भागवत गीता महापुराण सञ्चालनबाट दुई लाख ६० हजार डलर उठेको छ। सेन्टरकी अध्यक्ष सान्त्वना खड्काले महापुराणबाट उठेको रकमले भवन निर्माणको काम शुरु भैसकेको र एक बर्षमा निर्माण सम्पन्न हुने बताइन्। भवन निर्माणका लागि पुराण सकिएकै दिन पण्डित पोख्रेलबाट भवनको शिलान्यास पनि भैसकेको छ।

सुप्रसिद्ध वाचन प्रवीण दिनवन्धु पोख्रेलको मुखारबिन्दबाट सात दिनसम्म चलेको प्रवचन भएकोे भागवत महापुराणबाट नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। दुई वर्षभित्र नेपाल हेरिटेज सेन्टर निर्माण गर्ने योजनाका साथ शुभारम्भ गरिएको महापुराण सप्ताहमा उपस्थित दानवीरहरुको सहयोगले समुदायको सपना एक बर्षभित्रै पुरा गर्ने हुनेमा आफु विश्वस्त रहेको महापुराण मूल आयोजक समितिका संयोजक प्रशिम पौड्यालले बताए।

न्यूयोर्क रिजउड सोसाईटिमा शुरु भएको सात दिने सप्ताहबाट सामुदायिक भवन निर्माण गरिने बताइएको छ ।
पण्डित पोख्रेलले आफूले नेपालमा ११ बर्षको बीचमा ५ सय भन्दा बढी विधालय स्थापना भैसकोको  छ। सुर्खेतमा विश्वविद्यालय स्थापना, महेन्द्र नारायण निधि अस्पताल, मनमोहन अस्पताल र जनमैत्री अस्पताल स्थापना गर्न पुराणबाट रकम उठाएका थिए। पण्डित पोख्रेलका अनुसार हालसम्म आफूले लगाएको पुराणबाट ४० देखि ५० अरब रकम उठाएर सामाजिक काममा योगदान दिएको बताए।

सामाजिक सद्भाव कायम गर्न आफुले धार्मिक, आध्यत्मिक जागरण शुरु गरेको र केही हदसम्म सफल भएको उनले दावी गरे। आपसी सद्भाव र जागरणका लागि नेपालमा जातीय अभियानले सामाजिक सद्भाव खलवलिएकोमा चिन्ता व्यक्त गर्दै सामाजिक कामका साथै जागरण अभियानले निकै सफलता प्राप्त गरेको पण्डित पोख्रेलले बताए। प्रवासमा सामाुदायिक भवन निर्माणका लागि पण्डित पोख्रेलले अमेरिका, अष्ट्रेलिया, यूरोप, बेलायत, कोरियालगायत विश्वका दर्जन भन्दा बढी मुलुकमा पुराण लगाएको बताए । 

प्रकाशित: ८ भाद्र २०७४ १६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App