८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

'कांग्रेसको सिद्धान्तमा होइन, कार्यशैलीमा थुप्रै समस्या छन्'

नेपाली कांग्रेसका नेता तथा काठमाडौँ–५, का सांसद नरहरि आचार्यले ‘नयाँ नेपालको प्रस्तावना’ पुस्तक छाप्दा आमाको गर्भमा रहेका भ्रुणहरू पनि जन्मीवरी–हुर्कीबढी नागरिकताको प्रमाणपत्र पाउने भइसके । प्रपोजलपछि रिपोर्ट तयार पारिन्छ । उसो भए १८ वर्षपछि उनीसँग ‘नयाँ नेपालको प्रतिवेदन’ के छ त ? आचार्य कांग्रेसभित्र गणतन्त्रलाई प्रवेश गराएवापत कारबाही भोग्ने नेता हुन् ।  बिरामी भएका कारण झन्नै दुई वर्षदेखि आराम गरिरहेका आचार्यसँग नागरिकका लागि विमल आचार्यले भदौ ९, शुक्रबार गरेको संवाद :

अहिले कस्तो छ, यहाँको स्वास्थ्य ? 
ठीकै छ । आराम गरिरहेको छु । संसद्मा पनि जान थालेको छु । घरमै स्वास्थ्यविज्ञ (नजिकै बसेकी श्रीमती शारदा शर्मा मुस्कुराउँछिन्) भएकाले राम्रो स्याहार पाएर पनि होला म चाँडै तंग्रिएँ कि ! 

सक्रिय राजनीति गर्न थालेपछि यति लामो समय मौन बस्नुपरेको पहिलोपल्ट होला । कस्ता कुरा खेल्दा रहेछन् मनमा ? 
सायद यस्तो बेला मान्छेले यो गर्न सकिनँ, त्यो गर्न सकिनँ सोच्दा हुन् । तर म बिरामी परेको समय कस्तो पर्‍यो भने शरीरले पनि आराम खोजिरहेको रहेछ । पहिलो संविधानसभा उसै विघटन भयो । म त्यसमा पनि निर्वाचित सदस्य थिएँ । संविधान ल्याउन नसकेकामा धेरै नै छटपटी थियो, ममा । संविधान ल्याउँछु नै भनेर म दोस्रोचोटि उठेको हुँ । यसैका लागि मैले अमूल्य मत पाएँ र दोस्रोचोटि पनि सभासद् चुनिएँ । संविधान ल्याउन नसकेका भए बिरामी पर्दा म गुनासो र असन्तुष्टि सोच्ने र पोख्ने गर्थें हुँला । तर मलाई संविधान ल्याउन सकेको सफलताले सधैँ सन्तुष्टि दिइराखेको छ । 

लामो समय अस्पताल बस्नुभयो, स्वास्थ्य क्षेत्रका समस्या झन् नजिकबाट देख्नु पनि भयो होला । पछिल्लोपटक यहाँ मन्त्री हुँदा पनि डा.केसी अनशनमा हुनुहुन्थ्यो । यहाँ पूर्वमन्त्री भएको यति धेरै समय भइसक्यो, उहाँ पूर्वअनशनकारी हुने कहिले होला ? 
हो, स्वास्थ्य क्षेत्रमा धेरै नै विकृति छन् । म मन्त्री हुँदा उहाँ (डा केसी) सँग धेरैपल्ट भेटघाट, कुराकानी र वार्ता गरेको छु । हामीले उहाँका माग पूरा गर्छाैं भनेर सहमति पनि ग¥यौँ । अहिलेजस्तो २३ दिनसम्म हामीले अनशन बस्न दिएनौँ । गोविन्द केसीको व्यक्तिगत स्वार्थका लागि थिएनन् र छैनन्, यी माग । त्यसैले हामीले पूरा गर्ने सहमति गर्‍यौँ । तिनै सहमति लागू गर भनेर पटपटक अनशन बस्नुपर्ने अवस्था आउनु बडा दुःखदायी कुरा हो । यसतर्फ साँच्चै गम्भीर हुन म सबैसँग अनुरोध गर्छु । सबभन्दा सजिलो व्यापार स्वास्थ्यमा भएको छ, यो समाधान नगरी नहुने सवाल हो हाम्राे।

अब अलिकति फर्काैं । यहाँ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्थ्यो, अनि राजनीति पनि गर्नुहुन्थ्यो । त्यहाँ छोडेर राष्ट्रिय सभाको सदस्य हुँदै कांग्रेसमार्फत राजनीतिमा सक्रिय हुनुभयो । कांग्रेसभित्र बसेर गणतान्त्रिक चेतना कसरी निर्माण भयो ? 
हो, म पहिला त्रिभुवन विश्वविद्यालयमा पढाउँथेँ । त्यहाँ मैले १७ वर्ष प्राध्यापन गरेँ । अलि वर्ष पढाएको भए म पेन्सन पनि पाउँथेँ । मेरै समय जति पढाएर केहीले पेन्सन मिलाएर जागिर छोडे । तर मलाई के लाग्यो भने मैले राज्यकोषको तलब खाएर पार्टीको काम गर्नुहुँदैन । राजनीति गर्न हुन्छ तर राजनीतिक पार्टीको काम गर्नहुँदैन । प्राध्यापक जस्तो दुई–चार कुरा जानेको मानिसमा राजनीतिक चेतना र विचार हुनु स्वाभाविक मात्र छैन, जरुरी पनि छ । तर, यहाँ बिग्रेको राजनीति र राजनीतिक पार्टीबीचको फरक नबुझेर हो । जब म यता (राष्ट्रिय सभा) आएँ अनि मैले उता (त्रिवि) राजीनामा गरेँ । 

अँ, हामी कुरा गर्दै थियौँ, यहाँको वैचारिकी निर्माण प्रक्रियाबारे ? 
२०४६ सालमा जेजस्ता सम्झौतामा आन्दोलन टुंगियो, मलाई चित्त बुझेको थिएन । मैले त्यसबेला मेरो असन्तुष्टि त्यतिबेलाका नेताहरूसमक्ष पोखेको पनि थिएँ । २०५२ साल फागुन १ गते माओवादीले आन्दोलन सुरु गर्‍यो । यसैको ७ गते मैले महेन्द्र मोरङ क्याम्पसको प्राध्यापक संघले गरेको कार्यक्रममा गणतन्त्र चाहिन्छ जस्तो कुरा गरेँ । यसले केही तरंग सिर्जना गर्‍यो । मन्त्री पनि गणतन्त्रको पक्षमा भनेर केही पत्रिकाले लेखे । मलाई पछि राजाका गतिविधि हेर्दा र हाम्रो अविकासको दुष्चक्र हेर्दा राजतन्त्र रहुन्जेल नेपाल र नेपाली राजनीतिक, मनोवैज्ञानिक, आर्थिक कुनै पनि रूपमा फ्रि हुँदैनन् भन्ने लाग्यो । 

यहाँको ‘नयाँ नेपालको प्रस्तावना’अनुसार देश त नयाँ पनि भयो नि है ? 
गणतन्त्र आयो । यो हामीले बिराएको बाटो होइन । जनताले चुनेका प्रतिनिधिले संविधान बनाए । यो कोही पनि दुःखी हुनुपर्ने कुरा होइन । त्यतिबेला मैले संघीयता नभनेर प्रादेशिक संरचना भनेको थिएँ । तीन तहमध्ये एक तहको चुनाव झन्नै भयो, एउटा प्रदेश बाँकी छ । सबै तहको जब चुनाव सम्पन्न हुन्छ । देशले एउटा महत्वपूर्ण राजनीतिक काँचुली फेर्छ । समावेशीकरण अथवा समावेशिता यो यस्तो पनि त थिएन नि पहिला। 

भनेपछि यहाँ पूरा सन्तुष्ट हुनुहुन्छ ? 
सन्तुष्ट भन्ने कुरा हुँदैन । यो निरन्तर हुने कुरा हो । खुला समाजमा समस्या पनि खुला हुन्छन्, समस्या धेरै देखिन्छन्, हुन्छन् नै । यो स्वाभाविक हो । स्वाभाविक हो भनेर चुप लागेर बस्ने पनि होइन । यहाँ गर्नुपर्ने–हुनुपर्ने कुरा थुप्रै छन् । 

यहाँले आफ्नो प्रस्तावनामा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ पनि भन्नुभएको थियो नि ? 
हो, म यसमा अहिले पनि छु । कार्यकारी प्रमुख जनताबाट सीधै चुनिने नै हुनुपर्छ । 

अहिले राष्ट्रपति कार्यकारी हुनुपर्छ र प्रत्यक्ष चुनिनुपर्छ भन्ने गाइँगाइँ आइरहेको छ, केही पार्टीबाट । संविधान बनाउँदा यस्तो कसैले नमान्ने/नभन्ने/एजेन्डा छोड्ने अनि संविधानको मसी सुक्नै नपाई शासकीय स्वरूप अर्कै चाहिन्छ भन्नु देशलाई सधैँ अस्थिर बनाइराख्ने चाहना हैन ? 
हैन । अहिलेजस्तो राष्ट्रपति त सेरेमोनियल नै भएपछि उनलाई संसद्ले नै चुन्ने हो । मेरो कुरा के हो भने प्रधानमन्त्री वा राष्ट्रपति जो देशको कार्यकारी प्रमुख हुन्छ, ऊ देशवासीको मतले चुनिनुपर्छ । हो, यही कुरामा ढिपी गर्दा संविधान नै नबन्ने अवस्था थियो । यही गर्छाैं भनेर जितेर आएका पार्टीले यसलाई किन उठाएनन्, यो उनीहरूलाई सोध्ने कुरा हो । फरक मतमा बहस हुनुपर्छ, रोक्नुहुन्न । थरीथरी जाति–संस्कृति, भूगोल भएपछि विचार पनि थरीथरी हुन्छ नै । यो आत्तिनुपर्ने कुरै होइन । कसैले फरक मतकै आधारमा चुनाव लडेर जनताको विश्वास जितेर संशोधन गर्छ भने ठीकै छ त। 
हामी हिँडको बाटो नै सच्याउनुपर्ने छ कि बटुवाको हिँड्ने तौरतरिका ? हिँड्न नजान्ने, बाटो अप्ठेरो भनेजस्तो देख्नुहुन्छ ? 
हामी हिँडेको बाटो सही छ । अब यो मूल बाटो फेर्ने होइन र फेरिँदैन पनि । हाम्रो मूलबाटो गणतन्त्र, संघीयता, समावेशिता नै हो । प्रमुख कार्यकारी प्रत्यक्षबाट आउनुपर्छ भनेको यही मूलबाटो सम्याउने, चौडा पार्ने, सफा गर्ने भनेको हो । यहाँले संकेत गरेझैँ यो बाटोमा हिँड्ने बटुवाहरूले कोही त हिँड्न नजानेर, कोही नसकेर र कोही नचाहेर केही समस्या देखिएको सत्य हो । 

बटुवामध्ये तपाईंकै कांग्रेसको कुरा गरौँ । कांग्रेसको हिँडाइ केमा सच्चिनुपर्छ ? 
कांग्रेस अब सिद्धान्तमा सच्चिनुपर्ने छैन । समस्या जति पनि छन्, ती व्यवहारगत समस्या हुन् । हाम्रो कार्यशैलीमा थुप्रै समस्या छन् । 

भर्खरैको चुनावमा तपाईंहरूलाई पनि जितेको एमाले पनि केहीमा सच्चिन जरुरी छ कि ? 
छ नि, एमालेले त सबभन्दा पहिला आफ्नो नाम फेर्नुपर्छ । एकीकृत माक्र्सवादी लेनिनवादी भन्दा त शिक्षा–स्वास्थ्यमा यो पार्टी भिन्दै हुुनुपर्ने हो । एमाले, माओवादीले सबैभन्दा पहिला नाम फेर्नुपर्छ । जहाँका जुनसुकै बाबुआमा वा पण्डित–पुरोहितले वा आफैँ व्यक्तिले आफ्नो नाम माक्र्स, लेनिन, माओ भनेर राख्न सक्छ । उसले यिनीहरूका विचार बोक्नुपर्दैन । चिन्नु–बुझ्नु पनि पर्दैन । तर, यिनीहरूको विचार पत्याउँछु, बोक्छु, बुभ्mछु भन्ने पार्टीहरूले अब आफ्नो नाममा यिनलाई राख्न अब सुहाउँदैन ।

डेमोक्र्याट भनेर चिनिने ‘एक्लो’ कांग्रेस त दोस्रो भयो चुनावमा । एमाले, माकेले नाम फेरे भने कांग्रेस त पत्तासाफ होला त ? 
सबै डेमोक्र्याट भए ठीकै छ । तर, तपाईं सबै उही सामानबीच पनि को सक्कली, को ब्रान्डेड, को पुरानो, को आइएसओ मान्यताप्राप्त भनेर खोज्नुहुन्छ नि । 

पार्टीमा एकलौटी हालीमुहाली गरेका नेताहरूलाई चुनावी चुनौती दिएको, पार्टीको पुरानै विचारविरुद्ध नयाँ विचार छेडेको भनेर पार्टीबाहिर यहाँ निकै प्रशंसित हुनुभयो । तर, सुशील कोइरालाभन्दा फरक प्यानलबाट उठेर उनकै नेतृत्वको सरकारमा सहभागी हुनु के तपाईंको बौद्धिक र निर्भीकपनको आत्मसमर्पण थिएन ? 
मलाई मन्त्री बनाइदिनुस् भनेर म कहिल्यै गइनँ । फेरि म मन्त्री नै हुन्न भनेर कसम खाएको मान्छे पनि होइन । मन्त्री बनेर पनि केही योगदान गर्न सकिन्छ भने किन नबन्ने त भनेर मैले उहाँको प्रस्ताव स्वीकार गरेको हुँ । मलाई अरू मन्त्री बन्ने प्रस्ताव थियो तर मैले कानुन, न्याय नै रोजेँ । किनभने संविधान जसरी पनि बनाउनु थियो । यो मन्त्रालयमा भए केही थप पहल गर्नसक्छु भन्ने पनि थियो । पछि मलाई प्रधानमन्त्रीले शान्ति मन्त्रालयको पनि जिम्मा दिनुभयो । उहाँलाई लागेको हुन सक्छ, द्वन्द्वकालीन केही टुंग्याउनैपर्ने कुरा यसले गर्न सक्छ भनेर । नौ वर्षदेखि बन्न नसकेका सत्य निरूपण, बेपत्ता छानबीनजस्ता आयोग कसरी कति दुःख गरेर बनाउन सकियो, त्यसको कथा लामो छ । अन्ततः सबै पक्षलाई मनाएर–मिलाएर सफलता पाइयो । 

यहाँ कानुन मन्त्री हुँदा अदालतमा राजनीतिक हस्तक्षेप बढ्यो, न्यायाधीश नियुक्तिमा लेनदेन पनि भयो भन्ने छ नि ? 
यहाँ निराधार हल्ला र भ्रम धेरैै फिँजिन्छन् । म आफू संविधान बनाउन अहोरात्र खटिएको हुँदा प्रस्टीकरण, प्रतिवादतिर लागिनँ । म मन्त्री भएपछि न्यायपरिषद्को सिफारिसमा आठ जना न्यायाधीश ल्याइयो, सर्वाेच्चमा । उहाँहरू सबै मुख्य न्यायाधीश हुनुहुन्थ्यो । बाहिरबाट पनि ल्याउन सकिन्थ्यो, तर एक जना पनि ल्याइएन । सांसदलाई न्यायाधीश त मैले बनाइनँ नि । यति लामो समय इमान र लगनमा प्रतिबद्ध भएको म यो उमेरमा किन लेनदेनमा बहुलाउँथेँ होला र ! बलात्कारीलाई सजाय घटाएर कानुन बनायो भनेर यहाँ कत्रो होहल्ला ! म सुन्छु । वस्तुपरक आलोचना धारण गर्छु तर निराधार आरोपका पछि लागेर पहिलेदेखि नै उत्रिइनँ । 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग प्रस्ताव किन ल्याइयो ? यही प्रस्तावले पार्टी दोस्रो भएको भनेर शेखर कोइराला भनेको भन्यै हुनुहुन्छ ।
यो प्रस्ताव गलत रहेछ भन्ने फिल गरेर पछि फिर्ता लिइयो होला । सुशीला कार्की इमानदार न्यायाधीश हो । म यसमा संलग्न नभएकाले यसबारे धेरै कुरा भन्न सक्ने स्थितिमा म छैन ।

संविधान पारित हुँदा मधेसी दललाई मनाउन सक्ने स्थिति नै थिएन ? 
सबैलाई समेट्न भरभग्दुर प्रयास गरिएकै हो । तर, संविधान नै नबन्ने स्थिति देखेपछि ल्याइएको हो । अहिलेसम्म संविधान नआएको भए के हुन्थ्यो होला ? दुईदुईवटा चुनाव हुने, समय र स्रोतको अथाह खर्च हुने तर परिणाम केही ननिस्कने अवस्था भइरहन दिन हुन्थ्यो त ? भारतमै पनि त सबैको सहमति भएर संविधान ल्याइएको होइन । हामीकहाँ ९० प्रतिशतभन्दा बढी सांसदको सहमतिमा संविधान आयो । संशोधनको सम्भावना र फरक मतको बहस त हुन्छ नै, यसबाट आत्तिनु हुँदैन । 

प्रकाशित: ११ भाद्र २०७४ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App