coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिक्टा नहरको डिजाइनमै त्रुटि

नेपालगन्ज- राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले बर्सेनि अर्बौं रुपैयाँ बजेट छुट्ट्याउँदै आए पनि यसको डिजाइनमा भएको त्रुटिले १० प्रतिशत बजेट पुनर्निर्माणमा नै सकिने गरेको छ ।

सम्बद्ध प्राविधिकहरुका अनुसार डिजाइनमा गरिएको त्रुटिका कारण आयोजनाको निर्माणाधीन संरचना प्रत्येक वर्ष भत्कने र त्यसलाई फेरि बनाउनुपर्ने बाध्यता छ । यसले आयोजनालाई दिएको बजेटको १० प्रतिशत रकम पुनर्निर्माण नै खर्चिनु परेको हो । 

‘पूर्व–पश्चिम भएर फैलिएको मूल नहरले उत्तर–दक्षिणतर्फ बग्ने पानीको बहाव थेग्न नसकेकै कारण भत्किने समस्या निम्तिएको हो,’ आयोजनाका एक इन्जिनियरले नागरिकसँग भने, ‘नहरभन्दा मुनि र माथिबाट बनाइएका साइफन कतै अत्यन्त साँघुरा छन्, कतै कमजोर हिसाबले बनेका छन्, त्यसैको परिणाम देखिएको हो ।’ उनका अनुसार मूल संरचना बनेको स्थानको माटो पनि कमसल भएका कारण समस्या आएको हो ।

गत साउन अन्तिम साता परेको अबिरल वर्षाले सिक्टा नहरको एक दर्जनभन्दा बढी स्थानमा क्षति पु¥याएको छ । उत्तरबाट बगेर आउने पानी मूल नहरबाट सहज रुपले बग्न नपाउँदा संरचनामा क्षति पु¥याएको प्राविधिकको भनाइ छ । यस वर्ष मूल नहरमा मात्र पाँचदेखि सात करोड रुपैयाँ बराबरको क्षति भएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशबहादुर कार्कीले क्षतिको यकिन विवरण संकलन नभए पनि पाँचदेखि सात करोड जति हुने बताए । ‘उत्तरबाट दक्षिणतर्फ एकैचोटि धेरै पानी बग्यो, त्यो पानी साइफनबाट राम्ररी बग्न नपाएपछि सिधै नहरमा खस्यो,’ कार्कीले प्रस्ट्याउँदै भने, ‘त्यही पानीले नहरको संरचना भत्काइदियो ।’

भत्केका संरचनाको इस्टिमेट गरेर पुनःनिर्माणको काम थालिने उनले बताए । क्षतिग्रस्त संरचनाको केही दिनअघि सिँचाइ विभागको टोली आएर निरीक्षण गरी फर्केको छ । बाढीले २०७१ सालमा पनि सिक्टामा ठूलो क्षति पु¥याएको थियो । कार्कीका अनुसार २०७१ को बाढीमा पनि आठ करोड बराबरको क्षति पुगेको थियो । आयोजना अधिकारीका अनुसार सिक्टाका लागि सरकारले बर्सेनि विनियोजन गर्ने बजेटको झन्डै १० प्रतिशत रकम पुनःनिर्माणमा खर्च हुने गरेको छ ।

कमजोर डिजाइनकै कारण सिक्टामा बर्सेनि करोडौं बजेट नोक्सान हुन थालेपछि बाँकेबासी असन्तुष्ट छन् । उच्चस्तरीय प्राविधिक सहितको छानबिन टोली बनाएर सिक्टाको डिजाइनबारे बृहत् रुपले अध्ययन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ । ‘डिजाइनको विषयमा सरकारले उच्च स्तरको अध्ययन गर्नुपर्र्छ, नत्र यति ठूलो आयोजना बाँकेबासीका लागि सपना मात्रै हुनेछ,’ बाँके, कचनापुरका स्थानीय बासिन्दा समेत रहेका नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलले भने । राष्ट्रिय गौरवको आयोजनाभित्र चरम भ्रष्टाचार मौलाएको र डिजाइनमा भएको त्रुटिकै कारण बारम्बार नहर भत्किने गरेको उनले बताए ।

कुल ४५ किलोमिटर मूल नहरमध्ये हालसम्म १७.७ किलोमिटर मात्र आयोजनालाई हस्तान्तरण गरिएको छ । सबैभन्दा बढी क्षति हस्तान्तरण भएको ठाउँमा छ । उक्त खण्डको निर्माण सिटिसी कालिका जेभीले गरेको थियो ।

सिक्टा दक्षिण साइडमा मानव बस्ती छ । मूल नहर भत्किँदा एकातिर सरकारको कराडौं रुपैयाँ नोक्सानी भइरहेको छ, भने नहरको दक्षिण साइडमा रहेका मानव बस्ती डुबानको पीडामा छन् । नहरबाट फुटेर बगेको पानी गाउँमा पस्दा गत साउनमा कचनापुरका केही घर भत्किएका थिए । राप्तीसोनारी गाउँपालिका–२ कचनापुर तथा वडा नम्बर ८ र ९ महादेवपुरी क्षेत्र बढी जोखिममा देखिन्छन् ।

कचनापुरका स्थानीय बासिन्दा एवं पूर्वमन्त्री प्रेमबहादुर भण्डारी समयमा आफूहरुले दिएको सुझाव नमान्दा सिक्टाको मूलनहर वर्षैपिच्छे भत्किन थालेको बताउँछन् । ‘पानी बग्ने साइफन कमजोर भयो, यसले मानव बस्तीलाई क्षति पु¥याउँछ भनेर हामीले पहिल्यै भनेका हौं,त्यो कुरालाई वास्ता गरिएन,’ भण्डारीले भने । डिजाइनमै भएको कमजोरीका कारण सिक्टा सिँचाइ आयोजनाले भविष्यमा झन् ठूलो बिनाश निम्त्याउने निश्चित रहेको उनले बताए । समयमै उच्चस्तरीय प्राविधिक अध्ययन गरी समस्या समाधान गर्नुपर्ने पूर्वमन्त्री भण्डारीको सुझाव छ ।

लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामदास थारुले सिक्टा सिँचाइ आयोजनाको मूल नहर भरपर्दो नहुँदा यहाँका बासिन्दाले दुःख पाएको बताए । ‘नहर ठाउँ–ठाउँमा भत्किँदा त्यहाँबाट बगेर आएको पानीले गाउँमा क्षति गरिरहेको छ, कमजोर संरचना बनाउँदा एकातिर राज्यको सम्पत्ति नोक्सानी भयो, अर्कोतिर हामी जोखिममा प¥यौं,’ एमाले नेता थारुले भने ।

प्रकाशित: १८ भाद्र २०७४ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App