coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अब विकास बैंकबाट पनि एलसी

काठमाडौं- विकास बैंकहरुले लामो समयदेखि गर्दै आएको एलसी खोल्न पाउनुपर्ने माग पूरा भएको छ । केन्द्रीय बैंकले सोको लागि बाटो खुला गरिदिएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो कदमसँगै राष्ट्रिय स्तरका एक दर्जन (१२ वटा) विकास बैंकबाट एलसी (प्रतितपत्र) खोल्न पाइने भएको छ ।
राष्ट्र बैंकले विकास बैंकबाट पनि वाणिज्य बैंकबाट जस्तै एलसी खोल्न सकिने व्यवस्था गरेपछि विकास बैंकहरुले ग्राहकलाई उक्त सुविधा दिने आन्तरिक तयारी सुरु गरेका छन् ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्रिय स्तरका विकास बैंकलाई एलसी खोल्ने सुविधा दिने भनेको थियो । चालु आवको मौद्रिक नीतिमा ‘तोकेको मापदण्ड पूरा गरेका राष्ट्रिय स्तरका विकास बैंकलाई स्वदेशी प्रतितपत्रको कारोबार गर्न स्वीकृति दिने व्यवस्था मिलाइने’ उल्लेख छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको उक्त व्यवस्थालाई निर्देशन जारी गरेर मार्ग प्रशस्त गरेको हो । राष्ट्रिय स्तरका सबै १२ वटै विकास बैंकले ग्राहकलाई एलसी खोल्ने सुविधा दिन आन्तरिक तयारी गरेको डेभलमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष भरत ढकालले जानकारी दिए । ‘एलसी खोल्न आन्तरिक रुपमा तयारी भइरहेको छ,’ मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, ‘आन्तरिक तयारी पूरा गरेपछि स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिनेछौं ।’ मुक्तिनाथ विकास बैंकले पनि राष्ट्र बैंकमा निवेदन तयारी गरेको उनले जानकारी दिए ।
यसअघि वाणिज्य बैंकबाट मात्र एलसी खोल्न सकिने व्यवस्था थियो । राष्ट्र बैंकको पछिल्लो कदमसँगै एलसी खोल्न सकिने बैंकको संख्या २८ बाट बढेर ४० पुगेको छ । यसअघि २८ वटा वाणिज्य बैंकहरुबाट मात्र एलसी खोल्न पाइन्थ्यो ।
मुलुकभरमा ३८ विकास बैंक भए पनि राष्ट्रिय स्तरका १२ वटा मात्र छन् । मौद्रिक नीतिमा राष्ट्रिय स्तरका विकास बैंकलाई मात्र एलसी खोल्न दिइने व्यवस्था गरिएको छ । विदेशबाट सामान आयात गर्दा भुक्तानीको लागि एलसी खोल्नुपर्ने हुन्छ ।  

 

प्रकाशित: १९ भाद्र २०७४ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App