७ वैशाख २०८१ शुक्रबार
अर्थ

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

दोलखा-  जिल्ला भित्रिने प्रमुख मार्गमा भईरहेको विस्तारको कामका कारण आउजाउमा समस्ती भोग्नुपर्ने चिन्ताले पर्यटकहरु दोलखा नआउँदा जिल्लाको पर्यटन व्यवसाय ठप्प प्राय बनेको छ।

अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको खाडीचउरबाट दोलखा सदरमुकाम चरिकोट सम्म सडक बिभागले गरिरहेको सडक बिस्तार कार्यका कारण आउजाउ गर्दा कठिनाई भोग्नु पर्ने चिन्ताले राजधानीबाट जिल्ला भित्रिने आन्तरिक तथा बाह्य पर्यटक नआँउदा २ महिना यता चरिकोट सुनसान जस्तै छ।

सडक बिस्तारका क्रममा बर्षात लागेपछि खाडीचउर देखी चरिकोट सम्मको खण्ड हिलाम्मे साथै खाल्डाखुल्डी र अफ्ठेरो भएका कारण यात्रुहरुले कष्ट ब्यहोरिरहेका छन् । जसका कारण दुई महिना यता राजधानीबाट घुम्ने गन्तव्यका लागी दोलखा रोज्ने पर्यटकहरु आउनै छाडेका छन् ।

सदरमुकाम चरिकोटका अधिकांश होटलहरु दुई महिना यता सुनसान छन् । प्रसिद्ध कालिञ्चोक मन्दिर स्थित कुरी बजारमा समेत पर्यटक आगमन नहुँदा सन्नाटा छाएको छ । भीमेश्वर मन्दिर रहेको दोलखा बजारमा जिल्ला भक्तजन ह्वात्तै घटेका छन्।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका होटल संगम प्यालेसका सञ्चालक सुदर्शन कार्कीका अनुसार बर्षात सगैं सडक आउजाउ गर्न समस्या पर्दा होटल व्यवसायमा नराम्ररी मार परेको छ । ‘पहिलो भरिभराउ हुने शुक्रबार र शनिबार त अचेल सुनसान हुन थालेको छ, अरु बारको कुरै छाडौ’ उनले भने । कार्कीका अनुसार होटल व्यवसायमा बर्षात लगतै देखिएको मारले व्यवसायी साथै मजदुरहरु समेत आर्थिक रुपमा अफ्ठेरोमा परेका छन् । उनका अनुसार सुन्दर पर्यटकीय नगरी चरिकोट, जिरी, कालिञ्चोक, शैलुङ लगायतका स्थान घुम्न आउने पर्यटक आउनै छाडेका छन् । यस्तै गोष्ठी सेमिनार लगायत ठूल ठूला कार्यक्रम साथै एन जिओ र आईएनजिओले गर्ने कार्यक्रमहरुमा समेत सडककै कारण कमी आएको छ। 

बिस्तार भईरहेको लामोसाँघु–जिरी सडक आयोजनाका प्रमुख केदार नेपालले बर्षातका कारण देखिएको हिलो र खाल्डा खुल्डीको समस्या छिट्टै हट्ने बताए ।  ‘पानी पर्न अझै नरोकिएका कारण समस्या देखिएको हो’ उनले भने – ‘पानी रोकिए लगतै हिलो र खाल्डा खुल्डी पुरेर सजिलो गरी आउजाउ गर्न मिल्ने बनाउछौं । उनले दशैका यात्रुलाई आउजाउमा सहज बनाईने समेत बताए । उनले सडक विस्तारका क्रममा दायाँ बायाँका वाल लगायतका संरचना निर्माण सकिएको र खोला खोल्सी कटाउनका लागी धमाधम ह्युम पाईप बिच्छ्याउने काम चलिरहेको समेत बताए।

विकल्प विपी राजमार्ग

विस्तार हुँदै गरेको सडक बाट आउजाउ गर्न कष्ट भोगिरहेका यात्रुहरुलाई विपी राजमार्गबाट आउजाउ गर्न पर्यटन व्यवसायीले आग्रह गरेका छन् । धुलिखेलबाट विपी राजमार्गको भकुण्डेबेसी, नेपाल थोक हुदै खुर्कोट निस्किएर त्यहाँबाट सुनकोशी पुल तरेपछि रामेछाप सदरमुकाम मन्थली हुदै मालुखोला, नयाँपुल बाट चरिकोट आउने रुट प्रयोग गर्न पर्यटन व्यवसायीले आग्रह गरेका हुन् ।

‘खाडीचउर देखी चरिकोट सम्मको सडक दोहोरो निर्माण सम्पन्न नहुञ्जेल विपी राजमार्गबाट यात्रु गर्न हामी सबै पर्यटकहरुलाई आग्रह गर्दछौ’ महासंघका केन्द्रिय सदस्य कार्कीले भने । उनका अनुसार अरनिको रावमार्ग हुदै खाडीचउरबाट मुडे निस्किएर चरिकोट आउने रुटको तुलनामा विपी राजमार्गको यात्रा करिब ५० किलोमिटर बढी दुरी हुन्छ ।

जापान सरकारले निर्माण गरेको सुन्दर सडक र खुर्कोटबाट नयाँपुल हुदै चरिकोट सम्म समेत कालोपत्रे सडकका कारण यात्रुहरुले झण्झट ब्यहोर्नुनपर्ने कार्कीको भनाई छ ।

 

 

प्रकाशित: १९ भाद्र २०७४ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App