coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘सहरवासीमा वैमनस्यता बढ्दै गएको छ’

अन्जु पन्त, गायिका

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर सुन्दर, शान्त र सुविधायुक्त हुनुपर्छ । सहरमा बसेका सबैले सहरमा छु भन्ने महसुस गर्न सकुन् । एकले अर्कोलाई अवरोध नगरुन् । सहरवासीले पनि सहरप्रतिको आफ्नो कर्तव्य भुल्नु हुन्न । 

काठमाडौं कस्तो लाग्छ ?
ठिकै लाग्छ । यहाँको प्राकृतिक र सांस्कृतिक कुरा एकदमै मनपर्छ । काठमाडौंको मौसम पनि राम्रो छ । मात्रै प्रदूषण र अव्यवस्थित विकास निर्माणले सहरलाई कुरूप बनाएको हो । यहाँको हावापानी प्रदूषित भइसकेको छ । काठमाडौं सहर आफैमा नराम्रो होइन । कुनै ताका राम्रो सहरमध्ये उपत्यकालाई राखिन्थ्यो । तर, हिजोआज काठमाडौंलाई हेप्न थालिएको छ । यहाँको समस्या समाधान गर्न सरकार प्रतिबद्ध देखिएको छैन । काठमाडौंलाई सबैले अवसरका रूपमा मात्रै लिए । तर, बनाउन कोही जुटेनन्। 

काठमाडौैं किन अव्यवस्थित भएको होला ?
सरकारले काम नगरेकै कारण काठमाडौं यस्तो भएको हो । जनसंख्याको चापले गर्दा पनि काठमाडौं साघुँरो भएको छ । त्यसैले सहर सपार्न यहाँको पूर्वाधार निर्माण र जनसंख्या चाप व्यवस्थित पार्नुपर्छ । अर्को कुरा यहाँ भएका सेवा सुविधा पनि अन्य ठाउँमा विकेन्द्रीकरण गर्न जरुरी छ । सडक विस्तार, धुवाँधुलो रोकथाम, ट्राफिक व्यवस्थापनलगायत विषयलाई समाधान गर्न जरुरी छ।

तपाईंको सपनाको सहर कस्तो हुनुपर्छ ? 
मेरो सपनाको सहर यस्तो होस्– सहरका सबैले बराबर अधिकार पाउन्, कतै पनि प्रदुषण नदेखियोस्, सरकारी सुविधामा नागरिकले सास्ती खेप्न नपरोस्, सडकको छेउमा हरियाली र सडक बत्ती होस् । यति भयो भने सहर केही राम्रो हुन्छ होला । 

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई धरान एकदमै राम्रो लाग्छ । त्यहाँँको हरियाली, मिलेको मानव बस्ती राम्रो लाग्यो । त्यहाँका नागरिक सहरप्रति समझदार पनि छन् । सहर फोहोर हुनेबित्तिकै सबै एकजुट भएर सफा गर्नतिर लाग्छन् । यि कुराले धरान राम्रो भएको हो । त्यस्तै पोखरा, काठमाडौं, इलाम, धनकुटालगायत ठाउँका सहर पनि राम्रो लाग्छ । यी ठाउँका सहर हाम्रा देशका धरोहर नै हुन् । नेपालको मौलिकपना र वास्तविक नेपाल कस्तो छ भन्ने विषयलाई यी सहरले झल्काएका छन्।

तपाईं बाहिरी मुलुकका धेरै सहर पनि घुम्नुभएको छ, तीमध्ये राम्रो लागेको सहर कुन हो ?
मलाई लण्डन, जुरिक, भेनिस, जेरोसेलम, टोरेन्टो, साउदीको दमामलगायत सहर एकदमै राम्रो लाग्यो । मैले घुमेका धेरै सहर अति नै सुन्दर र लोभलाग्दा थिए । सहरको ऐतिहासिक पक्ष र आनुधिक पक्ष राम्रो लाग्यो । त्यहाँको सांस्कृतिक र भौगोलिक अवस्था पनि कहिल्यै नर्बिसिने खालको छ। 

पछिल्लो समय घुमेको सहर कुन हो ?
पछिल्लो समय करिब एक महिना अमेरिका बसेर आएँ । त्यहाँको सफा सुग्घर हेर्दा नेपालका सहर अति नै पछि छन् ।

घुमेका सहर र हाम्रा देशमा सहरबीच के भिन्नता पाउनुभयो ?
धेरै भिन्नता पाएँ । तर, नेपालका सहरलाई विदेशका सहरसँग दाज्न मिल्दैन । किनेभने यहाँका सहर र विदेशका सहरको विशेषता फरक–फरक छ । आधुनिकता र सुन्दरतालाई हेर्ने हो भने विदेशका सहर धेरै राम्रा छन् । प्राकृतिक र मौलिक परम्परालाई हेर्दा हाम्रा सहर अग्रपंक्तिमा छन् ।

उपत्यकाको मन नपर्ने पक्ष के के हुन् ?
यहाँको सबैभन्दा मन नपर्ने पक्ष प्रदूषण र ट्राफिक जाम हो । ट्राफिक व्यवस्थापन हुन नसकेकाले राजधानीवासीले धेरै समस्या खेप्नुपरेको छ । 

यहाँका मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार छ । धेरै गर्मी र धेरै जाडो पनि हुँदैन । त्यस्तै, सेवा सुविधाको हकमा पनि काठमाडौं राम्रो छ । यहाँका पुराना संस्कृति र परम्परा दरबार क्षेत्र पनि उत्तिकै रमणीय लाग्छन् । 

सहरवासीका मन पर्ने बानी व्यवहार कस्तो लाग्छ ?
सहर मात्रै होइन, नेपालका भूभागभित्र बस्नै हामी सबै एउटै बगैचाका फुलबारी हौं । हामी सबैले हाम्रो भूगोललाई सफा राख्नुपर्छ । एकले अर्कालाई सम्मान गर्नुपर्छ । नेपाल यस्तो ठाउँ हो जहाँ एकले अर्कोप्रति गर्ने माया र आदर छुट्टै छ । तर, पछिल्लो समय हामीमा एक हौं भन्ने भावना हराउँदै गएको छ । सहरवासीमा एक अर्काप्रति वैमनस्यता बढ्दै गएको छ । 

सहरलाई व्यवस्थित पार्न के गर्नुपर्ला ? 
सबै मिलेर काम गर्नुपर्छ । नागरिक पनि सहर बनाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । उपत्यकाको सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषय केन्द्रमा राखेर काम गर्ने हो भने समस्या तुरुन्तै समाधान हुन सक्छ । यहाँको मौलिकता र आधुनिक दुवैलाई ख्याल राखेर विकास निर्माणका काम गर्ने हो सहर राम्रो बन्छ । 

काठमाडौं नजिकै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ? 
मलाई मेरो आफ्नै ठाउँ फर्पिङ राम्रो लाग्छ । गोदावरी, धुलिखेल पनि मलाई मनपर्ने ठाउँ हुन् । समय मिल्नासाथ यी ठाउँमा शितल हावा खान निस्कन्छु । 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २३ भाद्र २०७४ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App