५ वैशाख २०८१ बुधबार
कला

नेवारी सिर्जनालाई ‘पेज थ्रि’ अवार्ड

काठमाडौं- नेवारी भाषामा बनेका गीत, संगीत तथा फिल्मका विभिन्न विधा समेटेर अवार्ड गरिने भएको छ । राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संगीत, म्युजिक भिडियो र फिल्म क्षेत्र गरी तीन विधामा ‘पेज थ्री पिपुल्स च्वाइस अवार्ड’ वितरण गरिने जानकारी आयोजकले दिएका छन् ।

आयोजकका अनुसार अवार्डमा संगीतमा ८ विधा, म्युजिक भिडियोमा ७ विधा र फिल्ममा १८ विधा छन् । संगीतमा गायक (महिला र पुरुष), संगीत, संगीत संयोजन, गीत लेखन, युगल गीत, नवप्रतिभा र एल्बम विधा छन् । त्यस्तै म्युजिक भिडियोमा मोडल –महिला र पुरुष), कोरियोग्राफी, निर्देशन, क्यामरापर्सन, सम्पादन र म्युजिक भिडियो विधा छन् ।

यसैगरी फिल्ममा कलाकार (महिला र पुरुष), नवकलाकार (महिला र पुरुष), कलाकार सह–भूमिका (महिला र पुरुष), कलाकार खलभूमिका, कलाकार हाँस्य भूमिका, बालकलाकार, स्क्रिन प्ले, संवाद, सम्पादन, क्यामरापर्सन, एक्सन, ओरिजिनल साउन्ड ट्र्याक, कोरियोग्राफी, निर्देशन र चलचित्र विधा छन् ।

अवार्डका संयोजक दर्शनवीर शाक्यका अनुसार जुरीले बाल कलाकारको अवार्ड नेपाल भाषाको फिल्म ‘थ्व ला ग्यानपु स्टाइल’का बालकलाकार नस्वाः जो शीलाई दिने निर्णय गरेको छ । ‘एक मात्र बाल कलाकार मुख्य भूमिकामा रहेको कारण यस विधामा मनोनयन आवश्यक नरहने जुरीले निर्णय गरेको छ,’ संयोजक शाक्यले भने, ‘म्युजिक भिडियो विधामा सुरेन्द्र तुलाधर र पवन जोशीलाई  कार्यक्रममा सम्मान गरिनेछ ।’

आयोजकले गायक तथा संगीतकार विष्णु जल्मीलाई ‘पेज थ्री लाइफटाइम एचिभमेन्ट अवार्ड’ दिने भएको छ । अवार्ड आगामी असोज ८ गते राष्ट्रिय नाचघर जमलमा हुँदैछ ।

प्रकाशित: २५ भाद्र २०७४ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App