coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उम्मेदवार नै जान्दैनन् भोट हाल्न

बालकृष्ण अधिकारी/सुरेश यादव
नगराईन – सुमिन्त्रादेवी पासवान नगराइन नगरपालिका वडा नम्बर ९ बाट स्थानीय तहको निर्वाचनमा महिला सदस्यमा उम्मेदवार बनेकी छिन् । उनी आफ्नो पक्षमा भोट माग्दै जनताको घरदैलोमा पुगिरहेकी । तर, उनैलाई कसरी मतदान गर्ने र कुनकुन चिह्नमा स्वस्तिक छाप लगाए आफूलाई भोट पर्ने हो भन्ने पनि थाहा छैन । एमालेबाट उम्मेदवार बनेकी पासवान दलका कार्यकर्तासँगै घरघर डुल्दैछिन् । सँगैका अन्य उम्मेदवारले यो छापमा मोहर लगाए आफूले जित्ने भनेर मतदातालाई सम्झाइरहँदा पासवान ‘म पनि उम्मेदवार छु, ध्यान दिनुहोला है’ भनी मतदातालाई आग्रह गर्छिन् । मतदातामाझ भेटिएकी उनले नागरिकको जिज्ञासामा न आफू चुनाव लडेको सही वडा नम्बर बताउन सकिन् न मतदान गर्ने तरिका नै । त्यतिमात्र होइन, उम्मेदवार बनेको दलको नाम सम्झन पनि उनलाई गाह्रो भयो ।

उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । गाउँकै पार्टी प्रतिनिधिले महिला सदस्यको कोटामा चुनाव लड्नुपर्ने प्रस्ताव गरेपछि उनी राजनीतिमा आएकी हुन् । यसअघि राजनीतिको ‘र’ पनि नबुझेको बताउने उनले चुनाव ‘महँगो’ भएको अनुभव सुनाइन् । तर चुनावै लडिसकेपछि अब आफू पनि नेता हुन पाएकोमा भने उनलाई गर्व छ ।

मतदातामाझ भेटिएकी सुमिन्त्रादेवी पासवानले न आफू चुनाव लडेको सही वडा नम्बर बताउन सकिन् न मतदान गर्ने तरिका नै । उम्मेदवार बनेको दलको नाम सम्झन पनि उनलाई गाह्रो भयो ।

सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनाबतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनभिज्ञ छिन् । ‘यसअघि धेरै चुनावमा भोट खसाएकी छु । अहिले आफैं खडा भएकी छु तर नौलो मतपत्र आएकाले बुझ्न कठिन भइरहेको छ’, उनले सुनाइन्।

सबैला नगरपालिका वडा नम्बर १२ मा महिला सदस्यका लागि उम्मेदवारी दिएकी माओवादीकै हीरादेवी सदाले पनि मतदान गर्न जानेकी छैनन् । दुईतिहाइ उमेर अर्काको खेतबारीमा मजदुरी गर्दै बिताएकी ४८ वर्षीया सदाले खुला राजनीतिमा लाग्ने र चुनावै लड्ने भनेर कहिले पनि सोचेकी थिइनन् । ‘हामी गरिब मान्छेले पनि राजनीति गर्न सक्छ र ?’ राजनीतिमा लागेको उद्देश्यबारे सोधेपछि उनले नागरिकसँग भनिन्, ‘यो त हामी दलित महिलाकै लागि एउटा सिट सरकारले छुट्याइदिएको छ रे, त्यही भएर हामीलाई पार्टीले खोजेको हो ।’ उनले पहिलेदेखि राजनीति गर्नेबारे नसोचेकाले अहिलेसम्म केही बुझ्न नसकेको बताएन् । आफ्नै लागि भोट माग्ने अवस्था आइसकेपछि अब भने बिस्तारै सबै कुरा सिक्दै जाने विश्वास उनको छ ।

कमला नगरपालिकाको वडा नम्बर ५ मा कांग्रेस प्यानलबाट महिला सदस्यमा उम्मेदवारी दिएकी विमला देवीलाई आफू चुनाव लडेकोसम्म पनि प्रस्ट थाहा छैन । ‘गाउँका नेताले मैले चुनाव लडिदिनुपर्ने भनेका थिए । अस्ति निर्वाचन कार्यालयमा गएर सहीछाप गराएको त छ तर अहिलेसम्म नेताहरूले भोट माग्न पठाएका छैनन्’, उनले भनिन् । तर त्यसपछि नेताहरूले केही नभनेकाल आफू उम्मेदवार हो कि होइन भनेर प्रस्ट थाहा हुन नसकेको उनले बताइन् । 
सबैला नगरपालिकामा माओेवादी केन्द्रका मेयर उम्मेदवारले मतदातालाई मतदान गर्ने तरिका सिकाउन नमुना मतपत्र र स्वस्तिक छाप उपलब्ध गराइदिएका छन् । अहिलेको शैलीमा हुन लागेको मतदान यसअघि कहिले नभएकाले धेरै मत बदर हुन सक्ने अनुमान पार्टी नेताहरूको पनि छ ।  

२० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा संविधानमै प्रत्येक वडामा एक महिला र एक दलित महिला अनिवार्य राख्ने व्यवस्था उल्लेख रहेका कारण दलहरूलाई महिला सदस्य उठाउने बाध्यता छ । तराई मधेसको सहर होस् कि गाउँ, केही महिला शिक्षण र जागिरमा संलग्न भए पनि आम महिलालाई चुलोचौकादेखि फुर्सद छैन । एक किसिमले राजनीतिमा लाग्न परिवारबाट उनीहरूलाई अधिकार पनि दिइएको छैन । तर संविधानले नै त्यो अधिकार अनिवार्य गरिदिएपछि बाध्यता भएको स्थानीय बताउँछन् ।
 

 

प्रकाशित: २६ भाद्र २०७४ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App