६ वैशाख २०८१ बिहीबार
नागरिक खोज

आपूर्तिसचिवले आयल निगमको गाडी फिर्ता गरे

काठमाडौं, भदौ २५ – आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपाल आयल निगमले उपलब्ध गराएको विलासी गाडी फिर्ता पठाएका छन् । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आपूर्तिमन्त्री र सचिवलाई प्रभावित बनाउने ध्येयले उपलब्ध गराएको विलासी गाडी देवकोटाले फिर्ता गरेका हुन् । नागरिक दैनिकले ‘खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव देवकोटा अघिल्लो सातामात्र आपूर्तिमा सरुवा भएर आएका थिए ।

इन्धन भण्डारणको जग्गा खरिदमा करोडौं घोटालाका आरोपित खड्काले निगमको खर्चमा दुई विलासी गाडी किनेर तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरा र सचिव प्रेम राईलाई उपलब्ध गराएका थिए ।

तिनैमध्येको एउटा गाडी देवकोटालाई दिइएको थियो । आफ्ना लागि निगमले उपलब्ध गराएको गाडी आवश्यक नभएकाले ड्राइभरसहित फिर्ता गरेको सचिव देवकोटाले बताए । उनले भने, ‘मेरा लागि मन्त्रालयकै गाडी छ ।’

निगमले मन्त्रालयलाई हस्तान्तरण गरेकोे बा२झ ३०९१ नम्बरको टोयटा गाडी आपूर्तिमन्त्री र बा२झ १४९९ नम्बरको गाडी सचिवले चढ्दै आएका थिए । देवकोटाले बा२झ १४९९ नम्बरको गाडी फिर्ता गरेका हुन् । मन्त्रीलाई चढ्नेगरी दिएको गाडी भने मन्त्रालयकै नाममा पास भइसकेको मन्त्रालयले जनाएको छ।

आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने प्रावधान रहेको छ । खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएको भन्दै आलोचना भएको थियो । अहिलेका आपूर्तिमन्त्री शिवकुमार मण्डलले पनि निगमले उपलब्ध गराएकै गाडी प्रयोग गरिरहेका छन् । तत्कालीन मन्त्री बोहोराको निर्देशनअनुसार आपूर्तिसचिव समेत रहेका निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष राईले जग्गा खरिदको सम्पूर्ण अधिकार निगमका कार्यकारी निर्देशक खड्कालाई प्रत्यायोजन गरेका थिए।

प्रकाशित: २६ भाद्र २०७४ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App