coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

सुन्दरी बन्न काठमाडौं

काठमाडौं– राजधानीमा च्याउ उम्रिएसरि सौन्दर्य प्रतियोगिताहरू भइरहे पनि मोफसलमा भने त्यतिधेरै सौन्दर्य प्रतियोगिता हुँदैनन् । मोफसलमा समय–समयमा हुने सौन्दर्य प्रतियोगितामा स्थानीय युवतीहरूको सहभागिता पनि उल्लेख्य नै हुन्छ । तर, केही युवती यस्ता पनि छन्, जो मोफसलको सौन्दर्य प्रतियोगिताभन्दा राजधानीमा हुने सौन्दर्य प्रतियोगितालाई प्राथमिकता दिन्छन् । आगामी असोज ६ गते राजधानीमा हुन लागेको ‘मिस टिन नेपाल’मा सहभागिता जनाउन केही युवतीहरू यतिबेला राजधानी आएर बन्द प्रशिक्षणमा व्यस्त छन् ।

मोरङ, पथरीकी निमा तामाङ गत सातादेखि हरेक दिन नियमित रूपमा व्यक्तित्व विकास र अनुशासनलगायतका विषयमा प्रशिक्षण लिइरहेकी छिन् । काठमाडौं जेसिजको आयोजनामा हुन लागेको १५ औं संस्करणको ‘मिस टिन नेपाल २०१७’को फिनालेका लागि छनोट भएकी उनी झन्डै तीन साताअघि नै काठमाडौं आएकी हुन् । ‘काठमाडौं आएको २२ दिन जति भयो । म समाजसेवामा रुचि राख्छु । जेसिज पनि सामाजिक सेवामै सक्रिय भएकाले प्रतियोगितामा भाग लिन काठमाडौं आएकी हुँ,’ पथरीकी निमाले भनिन्, ‘प्रतियोगितामा भाग लिन अडिसन दिँदा निकै डर लागेको थियो । छनोट हुन्छु कि हुन्न भन्ने डर थियो । तर सेलेक्ट भएको खबरले खुसीको सीमा नै रहेन ।’

वाल्मिकी उच्च माविबाट प्लस टु सकेकी निमाले उपाधि जित्ने नै लक्ष्य लिएर राजधानी छिरेकी निमाले लक्ष्य प्राप्त गर्न मेहनत गरिरहेको बताइन् । ‘उपाधि जित्ने लक्ष्य लिएरै प्रतियोगितामा अडिसन दिएकी हुँ । त्यसका लागि कडा मेहनत पनि गरिरहेकी छु,’ उनले भनिन् ।

निमाजस्तै चितवनकी समीक्षा क्षेत्री पनि पहिलो पटक सौन्दर्य प्रतियोगितामा सहभागि हुन प्रशिक्षण लिइरहेकी छिन् । ‘चितवनमा छँदा पनि विभिन्न सामाजिक काममा लागिरहन्थें,’ उनले भनिन्, ‘अभिभावकले पनि यो प्रतियोगितामा सहभागिताका लागि प्रोत्साहन गर्नुभयो ।’ प्लस टु सकेकी समीक्षाले उपाधि जितेमा सामाजिक काममा लाग्ने बताइन् ।
आयोजकका अनुसार प्रतियोगिताका लागि झापा, मोरङ, चितवन र काभ्रेबाट युवतीहरू काठमाडौं आएका छन् । प्रतियोगितामा १६ देखि १९ वर्षका ३० सुन्दरी छानिए पनि २७ जनाले मात्र बन्द प्रशिक्षणमा सहभागि छन् । प्रतियोगितामा संयुक्ता राजभण्डारी, रिया राज्यलक्ष्मी शाह, मेरी लिम्बु, प्रवृत्ति क्षेत्री, बिनी कार्की, निस्ता सिग्देल, दिया मण्डल सिजापति, वर्षा बराल, प्रतिभा ढुंगेल, नितु बञ्जारा, सञ्जु मोक्तान, रैना बस्नेत, उर्वशी पाण्डे, सुमन उप्रेती, युबिना भट्टराई, रश्मी गुरुङ, अस्मिता राना मगर, रोजा शिल्पकार, पुजा पुरी, प्रशंसा श्रेष्ठ, अञ्जिला श्रेष्ठ, प्रार्थना शाही, प्रतिभा अर्याल, नुमा शेर्पा र निसम लिम्बु सहभागी छन् ।

काठमाडौं जेसिजकी कार्यकारी उपाध्यक्ष इनु थापाले शीर्ष तीन विधासहित ९ विधासम्म अवार्ड दिइने बताइन् । ‘उपत्यकाबाहिरका प्रतियोगिले शीर्ष उपाधि जितेमा उनीहरूको प्रस्तावका आधारमा हामी सामाजिक काम पनि गर्नेछौं,’ थापाले भनिन्, ‘आफ्नो क्षेत्रको विकासका लागि उनीहरूले ल्याउने प्रस्तावमा सहकार्य गर्छौं ।’

आयोजकका अनुसार प्रतियोगिता शुक्रबारबाट प्रतियोगितात्मक चरणमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न भएको तालिमबाट प्रतिस्पर्धी नम्बर १ संयुक्ता राजभण्डारीलाई ‘इन्च्यान्टर कन्टेष्टेन्ट अफ दी डे’को रूपमा आभानीका निर्देशक जितेन रन्जितले पुरस्कृत गरे । प्रतियोगीहरुलाई कोरियोग्राफर तथा पूर्व मिस नेपाल सुगरिका केसीले उत्कृष्ट बडी ल्याङवेज र आर्ट अफ  स्पिकिङको बारेमा प्रशिक्षण दिएकी थिइन् । ग्ल्यामर फोटोग्राफर राजभाइ सुवालले क्याजुअल, फेमिनिस्ट र कल्चरल गरी तीन चरणमा प्रतियोगीको फोटो सेसन गरेका थिए । फोटोसेसन दिनको ‘इन्च्यान्टर कन्टेष्ट अफ दी डे’ निशाम लिम्बु बनिन् ।

काठमाडौं जेसिजले १९९४ मा ‘मिस नेपाल’ को आयोजनापछि दोस्रो ठूलो सुन्दरी प्रतियोगिताका रूपमा ‘मिस टिन नेपाल’ को आयोजना गर्दै आएको छ । प्रतियोगितामा ‘मिस धरान’, ‘मिस हेटौंडा’, ‘मिस पोखरा’ र ‘मिस पूर्वाञ्चल’ले सोझै सहभागी हुन पाउनेछन् । यस वर्षको प्रतियोगितामा फ्रेन्च व्युटी प्रडक्ट ‘इन्चाइन्टर’ले प्रायोजन गरेको छ भने रिलायन्स पेन्ट सहप्रायोजक रहेको छ ।

 

प्रकाशित: २६ भाद्र २०७४ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App