१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ब्लड मनी बुझाउन नसक्दा चार वर्षदेखि जेलमा

काठमाडौं – नवलपरासी, मध्यबिन्दु–४ की ६२ वर्षीया यमकुमारी भुसाललाई यतिखेर न रातको निद्रा छ, न दिनको भोक नै । सात वर्षअघि ‘आमा अब हाम्रा दुःखका दिन सकिए...’  भन्दै रोजगारीका लागि साउदी अरेबिया पुगेका छोरा स्थानेश्वर (३६), उतै जेलमा परेपछि उनी बेचैन भएकी हुन्। 

वैदेशिक रोजगारीबाट कमाएर आफू र परिवारलाई सहज गुजारा गराउने उद्देश्य बोक्दै खाडीको तातो भूमिमा हान्निएका स्थानेश्वरले त्यहाँबाट कमाइ गर्नु त कता हो कता उल्टै आफैं समस्यामा परेपछि उनको पीडाले परिवार समेत छटपटीमा परिरहेको हो।

डेढ लाख रुपैयाँ खर्च गरी २०६७ असोज ६ गते रोजगारीका लागि साउदी पुगेका स्थानेश्वरले चलाएको गाडी दुर्घटनामा एक स्थानीयको मृत्यु भएपछि उनको दुर्भाग्य सुरु भएको हो । पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिएपछि स्थानेश्वरले चलाइरहेको गाडी धकेलिएर अगाडि हिँडिरहेको कारलाई ठक्कर दिँदा स्थानीयको निधन भएको थियो। 

‘साउदी गएको १० महिनामै उक्त घटना भएछ,’ यमकुमारीले भनिन्, ‘तर, हामीले निकै पछि मात्र त्यसबारे थाहा पायौं ।’ सडक दुर्घटनापछि अदालतको फैसला नआउँदासम्म बाहिरै रहेका स्थानेश्वर पछिल्लो चार वर्षदेखि साउदीको जेद्दास्थित डाबान जेलमा रहँदै आएको त्यहाँस्थित नेपाली नियोगले पीडित परिवारलाई जानकारी गराएको छ। 

इनोभेटिभ मेनपावरमार्फत साउदी गएका स्थानेश्वरलाई त्यहाँको रोजगारदाताले पछि सवारी चालक अनुमतिपत्र बनाई दिने भन्दै गाडी चलाउन लगाएको थियो । साउदीको सवारी चालक अनुमतिपत्र बन्न नपाउँदै सडक दुर्घटनामा एकजनाको निधन भएपछि त्यहाँको अदालतले दोषी करार गरेको हो । जेद्दास्थित नेपाली नियोगले उनको परिवारलाई दिएको जानकारी अनुसार साउदीका स्थानीय र उच्च अदालतले स्थानेश्वरले चलाएको गाडीबाट एकजनाको निधन भएको ठहर गर्दै एक लाख ५० हजार रियाल (करिब ४५ लाख रुपैयाँ) क्षतिपूर्ति (ब्लड मनी) तिर्नुपर्ने फैसला गरेको  छ । 
अदालतले तोकेअनुसार रकम मृतकका परिवारलाई बुझाउन नसके स्थानेश्वर आजीवन जेलमा बस्नुपर्ने फैसला समेत अदालतले गरेको छ । यता स्थानेश्वरकी आमा भने अदालतले तोके अनुसार ब्लड मनी बुझाउन आफूसँग कुनै उपाय र सम्पत्ति नभएको गुनासो गर्छिन् । ‘घरमा कमाइ गर्ने एउटै व्यक्ति उही हो,’ उनले भनिन्, ‘छोराको हालत त्यस्तो भएपछि मसँग छोरालाई साउदीबाट झिकाउने रकम त के जाँदाको ऋण चुक्ता गर्ने उपायसमेत छैन।’ 

ब्लड मनी बुझाउन ढिला भए छोराले मृत्युदण्ड पाउने हो कि भन्ने चिन्ताले आमालाई झन् धेरै तड्पाउँछ । ‘जसरी हुन्छ, छोरालाई बचाउनु पर्‍यो भनेर पटकपटक श्रम तथा रोजगार, परराष्ट्र मन्त्रालय र कन्सुलर विभाग पुगें । तर, कतैबाट पनि ब्लड मनी तिर्ने उपाय जुरेको छैन,’ उनले भनिन् । यमकुमारीका अनुसार स्थानेश्वर साउदीको जेलमा परेको खबर पाउनेबित्तिकै उनकी पत्नीले अर्कै व्यक्तिसँग बिहे गरिसकेकी छन् । पिता रुखबाट लडेर अपांग बनेका छन् । 
‘यतिखेर घरको काम भ्याउनेदेखि लिएर छोराको उद्धारमा सहयोगी खोज्नेसम्मको जिम्मेवारी मेरै काँधमा छ,’ उनले भनिन्, ‘यति गर्दा पनि छोराको उद्धार हुन सकेन भने मलाई पनि बाँच्नु बेकार हुनेछ ।’ 
बक्स
पिएनसिसीले उद्धार अभियान चलाउने
यसैबीच, स्थानेश्वरको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले ब्लड मनी संकलन अभियान चलाउने निर्णय गरेको छ। 

‘वैदेशिक रोजगारीमा गएका स्थानेश्वरको गल्ती नहुँदा नहुँदै पनि समस्यामा परेको देखिएपछि अदालती फैसला अनुसारको ब्लड मनी संकलनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेका छौं,’ समितिका अध्यक्ष कुलप्रसाद कार्कीले भने, ‘स्वदेश र विदेशमा रहेका नागरिकलाई समस्यामा परेका स्थानेश्वरले जीवनदान पाउने गरी सहयोग गर्न आग्रह गर्छौं।’ 

पिएनसिसीले रकम संकलनका लागि ग्लोबल आइएमई बैंकमा ३९०१०१००००४०९ नम्बरको खाता खोलेको जनाएको छ । ब्लड मनी बुझाउन नसकेको खण्डमा स्थानेश्वरको जीवन विदेशमै समाप्त हुने र जसले गर्दा परिवारको अवस्था पनि खराब हुने भएकाले पीडितलाई सहयोग पुर्‍याउन आग्रह गरिएको छ। 

पिएनसिसीका महासचिव सोमप्रसाद लामिछानेले ब्लड मनी संकलनमा आफ्नो संस्थाले १० हजार रुपैयाँ जम्मा गरेको र अन्य निकायले पनि सहयोग थप्दै जाने बताए । रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका नागरिकलाई पनि विगतमा ब्लड मनी तिर्नुपर्ने निर्णय हुँदा विभिन्न संस्थाहरूले त्यस्तै खाले अभियान चलाउने गरेका थिए । सरकारी निकाय भने गन्तव्य मुलुकका अदालतले दोषी ठहर गरेका व्यक्तिलाई सरकारी कोषबाट ब्लड मनीको व्यवस्था गर्न नसकिने भन्दै पन्छने गरेका छन्। 

 

प्रकाशित: २६ भाद्र २०७४ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App