७ वैशाख २०८१ शुक्रबार
अन्य

मेयर शाक्यद्वारा पुनरावलोकन नगरी नगरप्रहरीको बढुवा

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुनरावलोकन गर्न दिएको आदेश बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाले नगर प्रहरीको बढुवा गरेको छ ।

नगर प्रहरी नायब निरीक्षक पूर्णचन्द्र भट्ट र मीनबहादुर थापालाई भदौ २२ गते प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा गरेको हो । महानगरले उनीहरूलाई गत चैतमै बढुवा गर्ने निर्णय गरेको थियो ।तर, नियम मिचेर बढुवा गरेको भन्दै मन्त्रालयमा उजुरी परेपछि त्यतिबेला उनीहरूको बढुवा हुन सकेको थिएन । 

नगर प्रहरी नायब निरीक्षक लीलाराज गाछा मगर, धु्रवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ र रामेश्वर उपाध्यायले बढुवा मूल्यांकन सही ढंगबाट नगरेको भन्दै महानगरविरुद्ध उजुरी गरेका थिए ।
उनीहरूको उजुरीको फैसला गर्दै मन्त्रालयले भट्ट र थापाको बढुवा कार्यान्वयन नगर्न आदेश दियो । मन्त्रालयका सचिव दिनेश थपलियाले जेठ २३ गते गरेको फैसलामा पुनरावलोकन गर्न महानगरलाई आदेश दिएका थिए । 

महानगरका सहप्रवक्ता तथा मेयर शाक्यका सचिवालय प्रमुख नमराज ढकालले भने प्रक्रियागत हिसाबबाटै बढुवा गरेको बताए । ‘मन्त्रालयले बढुवा निर्णय बदर गर्नु भनेको छैन,’ उनले भने, ‘कानुनविपरित भएको लागेमा अन्याय हुनेहरू अदालत जान सक्छन् ।’ नगर कार्यपालिका बैठकबाटै पारित गराएर निर्णय कार्यान्वयन गराएको बताउँदै सबैले चासो लिन नपर्ने धारणा ढकालको छ । 

तर, महानगरले मन्त्रालयको आदेशबमोजिम पुनरावलोकन नगरी पहिला गरेकै निर्णय बदर गर्दै बढुवा गरेको हो । बढुवा भएका निरीक्षकलाई मेयर विद्यासुन्दर शाक्यले सोही दिन दर्जानी चिन्ह (फुली) समेत लगाइदिएका छन् । स्रोतका अनुसार मेयर शाक्यले बढुवाको कानुनी प्रावधान नहेरी महानगर प्रशासनले गरेको पहिलाको निर्णयलाई नै कार्यान्वयन गराएका हुन् । बढुवा मूल्यांकनकै क्रममा प्रशासनले धाँधली गरेको आरोप स्रोतको छ ।

मन्त्रालयकै एक अधिकारीका अनुसार माथिल्लो शैक्षिक योग्यतालाई पनि मूल्यांकन गर्दा अहिले बढुवा भएका इन्सपेक्टरको अंक पुग्दैन । इन्सपेक्टरमा बढुवा भएका भट्ट बिए पास हुन् भने थापा आइए मात्रै हुन् । जबकी, नगर प्रहरी नायब निरीक्षकमा उनीहरू भन्दा धेरै शैक्षिक योग्यता भएकाहरू छन् । 

निष्पक्ष बढुवा मूल्यांकन भएको खण्डमा अहिले बढुवा भएका इन्सपेक्टर तेस्रो र छटौं नम्बरमा पर्ने स्रोतले बतायो । मूल्यांकनको क्रममा प्रशासनले उनीहरूलाई बढी नम्बर दिएर बढुवा गरेको आरोप नगर प्रहरी नायब निरीक्षकको छ । उनीहरू आफूहरूमाथि अन्याय भएको भन्दै न्यायका लागि अदालत जाने तयारी रहेको बताए । प्रशासनले चलखेल गरेर उनीहरूलाई बढुवामा सिफारिस गरेको र त्यसैलाई मध्यनजर नगरी मेयर शाक्यले पनि स्वीकृत गरेको आरोप नगर प्रहरी नायब निरीक्षकहरूको छ ।

महानगरका सहप्रवक्ता तथा मेयर शाक्यका सचिवालय प्रमुख नमराज ढकालले भने प्रक्रियागत हिसाबबाटै बढुवा गरेको बताए । ‘मन्त्रालयले बढुवा निर्णय बदर गर्नु भनेको छैन,’ उनले भने, ‘कानुनविपरित भएको लागेमा अन्याय हुनेहरू अदालत जान सक्छन् ।’ नगर कार्यपालिका बैठकबाटै पारित गराएर निर्णय कार्यान्वयन गराएको बताउँदै सबैले चासो लिन नपर्ने धारणा ढकालको छ । 

यता, मन्त्रालयका सचिव थपलियाले पुनरावलोकन गर्न दिएको आदेशलाई अटेर गर्न नहुने बताए । ‘दिएको आदेश अनुसार पुनरावलोकन गर्नपर्छ,’ उनले भने, ‘त्यसो नगरेको हो भने अदालतमा उजुरी परेका खण्डमा बढुवा बदर हुन सक्छ ।’

प्रकाशित: २६ भाद्र २०७४ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App