८ वैशाख २०८१ शनिबार
राजनीति

मतदाता फकाउँदै उम्मेदवार

रौतहट- संघीय नेपालको संविधान जारी भएपछि पहिलो पटक हुन थालेको स्थानीय तहको निर्वाचनमा विभिन्न उम्मेदवारले आफ्नो पक्षमा मतदाता तान्न अनेक उपाय अपनाउन थालेका छन्।

राजनीतिक दलका उम्मेदवारले संविधान संशोधन, विकास निर्माण र स्थानीय तहलाई अझ सशक्त बनाउने किसिमका मुद्दा उठाउन थालेपछि यीनै आवाजलाई उम्मेदवारले जनसमक्ष पुर्याउन थालेका छन् ।

मतदातालाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले मतदाताका आफन्त, नातागोता तथा कुरो खानेलाई बोलाएर आफ्नो पक्षमा तान्ने प्रयासमा लागेका छन् । विदेशमा कामको खोजीमा रहेका, जागिरको क्रममा जिल्ला बाहिर रहेका र मतदाता भए पनि अर्को स्थानीय तह तथा जिल्लामा रहेकालाई पनि फकाउन उम्मेदवारले हरेक कसरत थालेका छन् । गौर नगरपालिका–७ सिसवाका सदानन्द झा पाँच जना दाजुभाइ छन् । उनको दाजुभाइका श्रीमती, छोरा, छोरी, बुहारी गरी तीस भन्दाबढी भोट छन् । उनको परिवारले पार्टीभन्दा व्यक्तिलाई भोट दिने निर्णय गरेको छ । विभिन्न पार्टीका उमेदवार आप्mना पक्षमा मत तान्न उनको कुरा खाने नाताकुटुम्ब, इष्टमित्रसमेत आप्mनो पक्षमा मत हाल्न दबाब दिइरहेको झा बताउँछन् ।

मतदाताको घरदैलोमा पुगेर मतदाताकै समस्यालाई उठाउँदै समाधान गर्ने प्रतिवद्धता जनाइरहेका उम्मेदवारले गाउँटोलमा एम्बुलेन्स, पुस्तकालय, वाइफाइलगायतका आकर्षक कुरा गर्न थालेका छन् । विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने, स्थानीय युवालाई रोजगारी दिने, शिक्षित बेरोजगारलाई प्रमाणपत्र धितो राखेर सहुलियत ऋणको व्यवस्था गर्ने तथा स्थानीय भाषालाई नगरको भाषा घोषणा गर्दै केहीलाई रोजगारी दिने व्यवस्था गर्ने योजना उम्मेदवारहरूले बाँड्न थालेका छन् ।

स्वास्थ्य र सडकलगायतको भौतिक पूर्वाधारले सम्पन्न गराउन पनि उम्मेदवारले अनेक आश्वासन बाँड्न थालेका छन् । हरेक टोलमा एम्बुलेन्सको निःशुल्क व्यवस्था र स्वास्थ्य चौकीलाई चौबीसै  घण्टा संचालन गरी जनताको स्वास्थ्य सेवाप्रति गम्भीर हुने उम्मेदवारको साझा भनाइ रहेको छ । जिल्लाका अधिकांश उम्मेदवारले मतदाता फकाउन जनताका वास्तविक समस्या उठाउन थालेका छन् । चुनाव प्रचारमा व्यस्त उम्मेदवारले स्थानीय तहको माध्यमबाट जनतालाई सुखी, सम्पन्न र स्वस्थ्य बनाउने सपना देखाउन थालेका छन् । कतिपय उम्मेदवारले आफू चुनाव जित्न असम्भव सपना पनि बाँड्न थालेको देखिएको छ ।

नेपाली कांग्रेसका कटहरीया नगरपालिकाको मेयर पदका उमेदवार अजय प्रकाशले आफू मेयर पदमा निर्वाचित भएलगत्तै प्रत्येक वडामा एक्बुलेन्सको व्यवस्था गर्ने र आप्mनै उद्योगमा एक हजार भन्दा बढीलाई रोजगारी दिने बताएका छन् । जिल्लाको विकट स्थानकारूपमा चिनिएको कटहरीयामा एक्बुलेन्स अभावमा स्थानीय बिरामीको समुचित उपचार हुन नसकेका कारण स्थानइसँग गरिएको पहिलो वाचा नै एम्बुलेन्स नै रहेकाले त्यसलाई तत्काल पूरा गर्ने बताए ।

फोरम र कांग्रेसबीच तालमेलसँगै गौरमा त्रिपक्षीय भीडन्त

रौतहटको सदरमुकाम गौरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भएको छ । नेपाली कांग्रेसले मेयरमा मनोनयन नै दर्ता गराएको छैन भने फोरमको उपमेयरको उम्मेदवार छैन । कांग्रेसले गौरको मेयरमा संघीय समाजवादी फोरम नेपालका गौरीशंकर यादवलाई समर्थन गरेको  छ भने संघीय समाजवादी फोरम नेपालले उपमेयरमा कांग्रेस उम्मेदवार वीरबहादुर साहलाई समर्थन गरेको छ ।

कांग्रेस र फोरमबीच चुनावी तालमेल भएको कांग्रेसका रौतहट सभापति कृष्णप्रसाद यादवले स्वीकारे । कांग्रेस र फोरमबीच चुनावी तालमेल भएपछि सदरमुकाम गौरमा कांग्रेस, नेकपा एमाले र राजपा नेपालबीच त्रिपक्षीय चुनावी भीडन्त हुने निश्चित भएको आकलन गरिएको छ ।

कांग्रेस र संघीय समाजवादी फोरम नेपालका जिल्ला स्तरीय बैठकमा निकै छलफल भएपछि एक अर्कालाई मेयर र उपमेयर पदमा सघाउने तालमेल भएको स्थानीय नेताले बताए । मेयर उपमेयर उम्मेदवारद्वय यादव र साहद्वारा सोमबार गौरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरको बृहत्तर हितका लागि यो पवित्र गठबन्धन भएको तथा यसमा आँच आउन नदिन दुवै तर्फबाट त्यत्तिकै पहलकदमी चाल्ने प्रतिवद्धता उपमेयरका उम्मेदवार साहले व्यक्त गरे ।

समय र जनताको मागअनुसार हामी गठबन्धन गरेकाले विजय सुनिश्चित रहेको दाबीसमेत उनले गरे । गठबन्धन गौरका दुई पदका लागि मात्रै गरिएको र गठबन्धन पश्चात् आफूहरू थप बलियो भएको उनले बताए । आफूहरू मिलेर अगाडि बढ्ने सहमति भएको र सहमतिले दुवैको जित सुनिश्चीत भएको दाबी साहले गरे ।

 

 

प्रकाशित: २८ भाद्र २०७४ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App