काठमाडौं – आपूर्ति मन्त्री शिवकुमार मण्डलले गलत गर्ने व्यवसायीलाई कुनै पनि हालतमा कारबाहीको दायरामा ल्याउने बताएका छन् । दरबारमार्गमा छापा मारेपछि केही व्यवसायीले कारबाही नगर्न दबाब दिएपछि मन्त्री मण्डलले व्यवसायीलाई चुनौती दिँदै अटेर गर्ने व्यवसायीलाई निर्मम रुपमा कारबाहीमा उत्रिने बताए।
विगतमा व्यवसायीले मन्त्रीलाई प्रभावित पारेर उन्मुक्ति पाएको लक्षित गर्दै मन्त्रीले यस्तो बताएका हुन् । ‘चोरी पनि गर्ने उल्टै धम्की दिने,’ मन्त्रीले भने चुनौती दिँदै भने, ‘मन्त्रीलाई पकेटमा राख्न सकिन्छ भन्ने सपना नदेखे हुन्छ ।’ मन्त्रालयले उपभोक्ता ठग्नेलाई निगरानी राखिरहेको उनले बताए । ‘निर्दोषलाई दुःख दिने नियत छैन,’ मण्डलले भने, ‘गलत गर्नेलाई कठघरामा उभ्याउछौं।’
बजार अनुगमनमा कडाई गर्दै आएका आपूर्ति मन्त्री शिव कुमार मण्डलले कानुन मिच्नेलाई छुट नदिने बताएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चको १२औं साधारण सभाको अवसरमा मन्त्री मण्डलले नियम नमान्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने बताए । काठमाडौंको दरवारमार्गमा व्यापारीले उच्च नाफा राखेर बिक्री गर्नेलाई कारबाही गर्ने अग्रसरता देखाएपछि व्यवसायी बन्दमा उत्रिएका थिए।
सामान ल्याउँदा भन्सार छलेर न्यूनविजीकरणको नाममा उन्मुक्ति नहुने बताए । ‘न्यूनविजिकरण गर्ने अधिकार कसले दियो,’ मण्डलले भने, ‘कर्मचारीसँग मिलेमतोमा राज्यलाई ठग्न पाइँदैन।’
प्रकाशित: २८ भाद्र २०७४ १४:१६ बुधबार