७ वैशाख २०८१ शुक्रबार
विचार

अपभ्रंश हुँदै दसैँ

हिन्दु धर्मावलम्वीको सबैभन्दा महान् चाड दसैँ हो भन्नेमा दुई मत छैन । लोक कथाअनुसार त्रेत्रायुमा रामले आफ्नी श्रीमती सीतालाई रावणले हरण गरेपछि लंकामा लडाईँ गरी रावणलाई समाप्त गरी हरण भएकी श्रीमती फेरि आफूले ल्याउन सफल भएकाले अर्थात विजय प्राप्त गरेकाले अयोध्याबासीले यो विजयलाई उल्लासका साथ मनाएका थिए । त्यसबेलादेखि विजयादशमी मनाउने चलन सुरु भएको किंवदन्ती छ ।
‘असत्यमाथि सत्यको विजय’ भएको उत्सवका रूपमा पनि दसैँलाई लिइने गरिएको छ । दसैँलाई धेरैले परम्पराअनुसार आफ्नो संस्कृति जोगाउन, ठूला मान्छेको हातबाट रातो रङको अक्षता लगाई नौ दिनसम्म विभिन्न कष्ट सहेर गरेको पूजाको आशीर्वाद पाउने आशाका रूपमा मनाउने गर्छन् । कसैले भने वर्षभरिको काम र थकान छाडेर रमाइलो गर्ने पर्वका रूपमा मनाउने गर्छन् । दसैँको अक्षतालाई कहिल्यै नटुक्रिने, रातो रङलाई पराक्रमका रूपमा लिई निधारमा लगाउँदा सांसारिक सत्रुबाट मुक्ति पाइने धारणा पनि छ । यतिमात्र नभएर दसैँको दिन पिङ खेल्ने र मीठा खानेकुरा खाने गरिए तापनि कसैलाई भने दसैँ बोझका रूपमा देखापर्ने पनि गरेको छ ।
नेपाली समाजले विगतमा आफ्नो स्तरअनुसार खर्च गरी सामाजिक सद्भाव नखल्बलाइ धूमधामका साथ मनाउने दसैँ अहिले भने तड्क/भड्कका साथ मनाउने प्रचलन बढ्दो छ । एकले अर्काको देखासिखी गर्दै आफनो क्षमताभन्दा माथि रहेर ऋणमा डुबेर भए पनि भड्किलो तरिकाले दसैंँ मनाउनेको संख्या पनि बर्सेनि बढ्दो छ । विजयादशमीको निहुँ पारी विभिन्न पेशामा आबद्ध भई घर÷परिवारबाट  वषौैँदेखि टाढा रहेका आफन्त जम्मा भई मीठोमसिनो खाने, एकापसमा भएका मनमुटाव थाती राखी एकै ठाउँमा जम्मा भई सुखदुःख बाँड्ने काम पनि यसै अवसरमा हुने गर्छ ।
तर पछिल्लो समयमा आएर भने दसैँका नाममा नेपाली समाजले विकृति÷विसंगति रुचाउन थालेको देखिएको छ । जुवा, तास, मदिरा, एकापसमा झैझगडा, काटमार जस्ता विकृति बढ्दै गएका छन् भने महँगा कपडा किन्ने र सामाजिक सद्भाव विथोलिने जस्ता कार्यले दसैँलाई बदनाम गर्न सघाइरहेको छ । यसरी दसैँ समयअनुसार पछिल्ला वर्षहरूमा अपभ्रंश हुँदं संस्कारलाई चुनौती अवस्थामा पुग्नु चिन्ताको विषय हो ।
यतिमात्र नभएर लेखकहरूले समेत ‘दशैँ’ कि ‘दसैँ’ लेख्ने भन्नेमा ठूलै विवाद निकालेर शाब्दिकरूपमा समेत विवाद खडा गरेका छन् । विगतका दसैँ जसरी गए पनि यो दसैँलाई सबै नेपालीले करले होइन, रहरले मनाउने गर्नुपर्छ । दसैँमा भित्रिएका विकृति÷विसंगति हटाई भव्य र सभ्यतवरले मनाउन सबै सहमत हुनुपर्छ । आफ्नो क्षमताको परिधिभित्र रहेर, जुवा तास, मदमदिरा सेवन नगरेर धनाढ्य वर्गले गरेको तड्क÷भड्कमा नलागेर साधारण तरिकाले मनाउन सकिएमात्र हाम्रो महान् चाड दसैँ लामो समय टिक्छ । नत्र यसै भन्न सकिन्न । किनकि परम्परा, संस्कार आदि व्यावहारिक भयो भनेमात्र त्यसले लामो आयु धारण गर्न सक्छ । अन्यथा समाजलाई पाच्य नहुने संस्कारहरूको असामयिक निधनलाई कसैले चाहेर पनि रोक्न सक्दैन ।

प्रकाशित: ११ आश्विन २०७४ ०२:३१ बुधबार

अपभ्रंश हुँदै दसैँ