५ वैशाख २०८१ बुधबार
ब्लग

जोगाउन सकिन्छ मुटु

हरेक बर्ष सेप्टेम्बर २९ लाइ बिश्व मुटु दिवसको रुपमा मनाइन्छ। यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो। संसारभर मुटुरोगीको संख्या बढिरहेको अहिलेको अवस्थामा आफ्नो स्वास्थ्य र जीवनशैली सम्बन्धी ज्ञानले मुटुरोगबाट बच्न या सावधान हुन सकिन्छ।

सन् ७० र ८० को दसकमा धेरै मान्छेहरु अस्पताल नै नगई अकालमा हृदयाघातबाट मरेपछि पश्चिमीका देशका सरकार र गैर सरकारी संस्थाहरुले 'छाती दुखेको बेवास्ता नगरौ' भनि धेरै नै बिज्ञापन गरि मानिसहरुलाई अस्पतालमा जान उक्साहित गरेका थिए। धेरै मानिसहरुलाई मुटुरोगबारे न्यूनतम ज्ञान नभएर जोखिममा रहेको अवस्था थियो। यस्ता सन्देशमूलक बिज्ञापनको अभ्यासले हालैका दिनमा आएर मानिसमा चेतनाको अभिवृद्धि धेरै भएको छ तरपनि अझै कयौ मानिसहरु अज्ञानताको कारणले मुटुरोगबाट ज्यानै गुमाउने या पीडित हुने क्रम जारी नै छ।

कार्डियोभास्कुलर डिजिजको माने मुटु र सञ्चारसम्बन्धी सबै रोगहरू जस्तै कोरोनरी मुटुरोग (एन्जाइना र हृदयघात) र स्ट्रोक पर्दछन्। यो बेलायतको सबैभन्दा बढी मान्छे मर्ने रोग हो। वेलायतमा मृत्यु हुने तीन जनामध्ये एक जना यही रोगका कारण ज्यान गुमाइरहेछन्। साधारण रोगबारे लक्षण थाह नहुनु या बेवास्ता गर्नु अनि अस्पताल जान संकोच मान्नु यी दुवै कारणले अझै पनि धेरै मानिसहरु जोखिममा बाचिरहेका हुन सक्छन्। त्यसैले यससम्बन्धी जानाकरी राखी मुटुरोगबाट पीडित हुने या अकालमा ज्यान गुमाउनु पर्ने क्षणबाट टाढा रहौं ।

छाती किन दुक्ख्छ?

मुटुले हाम्रो शरीर भरि रक्तसञ्चार गर्दछ। यद्यपि मुटुआफैलाई पनि रगतको आपूर्ति गर्दछ। यो बिशेष प्रकारको रक्त संचार प्रणालीलाई कोरोनरि आर्टरी भनिन्छ। कोरोनरी आर्टरीहरूको काम मुटुको मांसपेशीलाई रगत र अक्सिजन आपूर्ति गर्नु हो। यहाँ दुईवटा शाखाहरू हुन्छन् जुन मुटुको सतहमा रहन्छ र ३–४ मिलिमिटर  फराकिलो हुन्छ।

छाती दुख्ने, कुनबेला दुख्ने, कस्तो दुखाइबारे आफ्नो डाक्टरलाई भन्नु पर्छ। मुटुको मांसपेशीमा अचानक रगत र अक्सिजनको कमीले भेरीयन्ट एन्जाइना आउन सक्छ। यसबाट ह्र्दयाघात हुने सम्भावना न्युन रहन्छ। यसलाई प्रिन्जमेटल्स एन्जाइना वा कोरोनरि आर्टरी स्पाजम पनि भनिन्छ।

कोरोनरी मुटु रोग तब हुन्छ जब कोरोनरी आर्टरीहरूका भित्ताहरूमा विस्तारै बोसो जम्मा भइ रगत आपूर्ति गर्न साँघुरो हुन्छ। यो अवस्थालाई आर्थोलोसेर्लेसिस भनिन्छ र बोसो जम्मा भएकोलाइ आर्थोरोमा  भनिन्छ।  मुटु हाम्रो छातीको बीच भागमा हुन्छ। मुटुको पुछार पट्टिको अन्तिम भाग अलिकति देब्रेतिर फैलिएको हुन्छ। बिस्तारै बोसो जमेर आर्टरी यति साँघुरो बन्छ कि यसले चाहिएको बेलामा मुटुको मांसपेसीमा अक्सिजनयुक्त रगत (जस्तो व्यायाम गर्दामा) पठाउन सक्दैन। यस्तो अवस्थामा मुटुमा पीडा हुन्छ। यसको दुखाइले छातीको बीच भागमा पर्छ। यस्तो दुखाइ वा असजिलो हुनुको कारणलाई एन्जाइना भनिन्छ। यस्तो इन्जाइना स्थिर र अस्थिर दुई प्रकारको हुन्छ। धेरै मान्छेहरूलाई स्थिर एन्जाइना हुन्छ। यो खास गरी व्यायाम गर्दा आउने हुन्छ। यसलाई औषधिले नियन्त्रण गर्न सक्छ।

अस्थिर एन्जाइना चाहिँ पहिलो चोटी विकास भएको वा पहिले स्थिर भएको तर हालैमा खराब भएको लक्षण परिवर्तन हुने हो। उदाहरणको लागि एन्जाइनाको दुखाइ पहिले भन्दा धेरै कम व्यायाम गर्दा वा पहिला भन्दा कम चिन्तामा अथवा त्यसै बसिरहेको बेलामा आउने दुखाइ हो। एन्जाइनाको दुखाइ पहिले भन्दा बढ्दै गएमा अरु  टेष्ट र उपचारको आवश्यकता पर्न सक्छ तुरुन्त डाक्टर कहा जानुपर्दछ।

एन्जाइना हुँदा छातीमा दु:खाइ वा असुविधा हुन्छ। छातीको बीच भागमा गह्रौं वा समातिएको जस्तो अनुभव हुन्छ। यो साधारणतया बंगारा, घाँटी पछाडि,पाखुरा,  र भुँडिमा पनि सर्न सक्छ। कसैलाई पाखुरा घाँटी, पेटमा मात्रै पनि असर गर्ने हुनसक्छ। कसैलाई एन्जाइना हुँदा विस्तारै तर निरन्तर दुखिरहने हुन सक्छ। कसैलाई धेरै दु:खाइ हुन्छ त कसैलाई साधारण असुविधा मात्रै हुन्छ। लक्षणहरू प्राय: १०–१५ मिनेटमा हराउँछन्।

हृदयाघात र एन्जाइनाको दु:खाइमा फरक

जब साँघुरिएको कोरोनरी आर्टरी रगत जमेरद्वारा बन्द हुन्छ तब हृदयाघात हुन्छ। हृदयाघातको दुखाइ कहिलेकाहिँ एन्जाइना भन्दा बढी हुन्छ र धेरै समयसम्म भइरहने अनि आराम गर्दा पनि कम नहुने हुन सक्छ। हृदयाघात हुँदा पसिना आउने या विरामी अनुभव पनि गर्ने, बान्ता आउने हुन सक्छ। नाइट्रेट औषधी या जिटिएन स्प्रेले एन्जाइनालाई कम गर्न सक्छ तर हृदयाघातको दुखाइलाई कम नगर्न सक्छ। असाधारण अपचका लक्षणहरू देखिएपछि जुन औषधि खाए पनि केही समयमा ठिक नभएमा हृदयाघात भएको हुन सक्छ। यस्तो अवस्थामा तुरुन्त अस्पताल जानु पर्दछ। याद गरौ समय महत्वपुर्ण हुन्छ।

जब कसैलाई छाती लगातार दुखिरहन्छ या छातीमा असुविधा हुन्छ जुन मुटुबाट आएको ठानिन्छ। तब डाक्टर र नर्सहरूलाई हृदयाघात भएको या अस्थिर एन्जाइना भएको भनेर छुट्याउन गाह्रो पर्दछ। अनि डाक्टरले उक्त बिरामीलाई एक्युट कोरोनरी सिन्ड्रोम भएको भन्न सक्दछन्। एक्युटको माने चर्को अनि सिन्ड्रोम भनेको लक्षणहरू एक साथ हुने र कोरोनरी भनेको कोरोनरी आर्टरीमा हुने भन्ने हो।         

छाती दुख्ने प्राय: कारण कोरोनरी आर्टरीहरू साँधुरिएर हो। तर सबै छाती दुखाइ वा असुविधा मुटुसँग सम्बन्धित हुँदैन। छोटो चर्को छाती दुखाइ प्राय मांशपेशीय दुखाइ हुनसक्छ। कोही मान्छेहरूलाई चिन्ताले भावविव्हल हुँदा देव्रे स्तनमुनि विस्तारै लगातार दुखिरहने पनि हुन सक्छ। अपच वा ग्यास्ट्रिकले पनि छातीको बीच भागमा दुख्ने कारण बन्न सक्छ तर साधारणतया यो व्यायाम भन्दा खानासँग सम्बन्धित हुन्छ । हिमोग्लोबिन धेरै कम भएर (एनिमिया) पनि छाती दुख्ने हुन सक्छ  ।

कोरोनरी मुटुरोग बाहेक अरु कारणहरुले पनि एन्जाइना हुनसक्छ। भेरीयन्ट एन्जाइना र कार्डिक सिन्ड्रोम एक्स भन्ने दुई किसिमको एन्जाइना हुन्छन्। यिनीहरुको लक्षण कोरोनोरि मुटुरोगका एन्जाइनाहरु जस्तै हुन्छन्। त्यसैले छाती दुख्ने, कुनबेला दुख्ने, कस्तो दुखाइबारे आफ्नो डाक्टरलाई भन्नु पर्छ। मुटुको मांसपेशीमा अचानक रगत र अक्सिजनको कमीले भेरीयन्ट एन्जाइना आउन सक्छ। यसबाट ह्र्दयाघात हुने सम्भावना न्युन रहन्छ। यसलाई प्रिन्जमेटल्स एन्जाइना वा कोरोनरि आर्टरी स्पाजम पनि भनिन्छ।

कार्डिक सिन्ड्रोम एक्स चाहि महिलाहरुमा ओयस्ट्रोजिन  भन्ने हर्मोनको  लेभल कम भएर हुन सक्छ।  केही महिलाहरुमा महिनावारी हुँदामा कार्डिक सिन्ड्रोम एक्सको अनुभव हुन सक्छ। ओयस्ट्रोजिनले रक्त कोषिकालाई सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्दछ।  छाती दुख्नुकोको अरु कारणहरुमा ब्याक्टेरियाको संक्रमण, स्तनमा दुख्नु र सुन्निनु, पेटको अल्सर, मुटुबाट फोक्सोमा रगत लैजाने नली बन्द हुनु (जसलाई पुल्मोनरी एम्बोलिज्म भनिन्छ) आदिले हुन सक्छ ।

न्यूनतम जानाकरी राखौं

यदि तपाईलाई छाती दुखेको छ भने डाक्टरसँग सल्लाह लिनु महत्त्वपूर्ण हुन्छ। कोरोनरी मुटुरोगका जोखिमका तत्वहरु जस्तै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, आफ्नो रगतको नातामा जस्तै बाबु, आमा, मामा, फुपु आदिलाई मुटुरोग, धुमपान गर्ने, बढी वजन, मधुमेह, शारीरिक निस्कृयता भएका  व्यक्तिहरुले खासमा छाति दुखेको बेवास्ता गर्नु हुदैन। हृदयाघात भइरहेको व्यक्ति सही समयमा अस्पताल पुग्न सके जीबन बच्ने अधिक सम्भावना हुन्छ।

मधुमेय भएको मान्छेलाई हृदयाघात भएको भनेर पत्ता लगाउन अलि गाह्रो पर्दछ । उदारणको लागि नदुख्नु तर साधारण अनुभवमा विरामी जस्तो ठान्नु या पसिना आउनु हृदयाघातका लक्षणहरू हुन् तर मधुमेह भएका मान्छेहरूलाई यी लक्षणहरू हाइपो सँग झुक्किने  हुन सक्दछन् । हाइपो तव हुन्छ जब रगतमा ग्लुकोजको मात्रा धेरै कममा झर्दछ। यस्तो भएमा यसको उपचारको निम्ति ग्लुकोज ट्याबलेट   या गुलियो पेय पदार्थ अनि कार्वोहाइड्रेड जस्तै एक वटुका सिरियल ,डाइजेस्टिभ बिस्कुट जस्ता खानुपर्दछ। हाइपो भएको नहुन सक्छ र हृदयाघात भइरहेको हुनसक्छ । यस्तो भएमा तुरुन्त एम्बुलेन्स बोलाउनु पर्दछ।

ध्यान दिनुपर्ने कुराहरु

कोरोनरी मुटुरोगका मुख्य जोखिम माथि ध्यान दिऔ।  एउटा सानो जीबनशैली परिबर्तनले भविष्यमा मुटुरोगबाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ। आफ्नो परिवारमा पुरुषलाई ५५ वर्ष भन्दा पहिला र महिलामा ६५ वर्ष भन्दा पहिले हृदयाघात या एन्जाइना भएमा तपाइलाई पनि  रक्त नलीमा चिल्लो जामा हुने क्रमको (आर्थोलोसेर्लेसिस) विकास हुने सम्भावना हुन सक्दछ । यसबारेमा समयमा ध्यान पुर्‍याउनुपर्दछ।

कोरोनरी मुटुरोगकालाई रोकथाम या साबधान गर्नलाई तलका विभिन्न कुराहरू मनन गर्न सक्नुहुन्छ :

  • धूमपान गर्नुहुन्छ भने छाडौं । मदिरा सेवन कम गरौ ।
  • फलफूल र सब्जी बढी खाऔं । नियमित तेलयुक्त माछा खाऔ ।
  • दिनमा ६ ग्राम भन्दा कम नून साथै जनाबारबाट पाइने चिल्लो कम खाऔ ।
  • आफ्नो वजन नियन्त्रण गरौं । शारीरिक रूपमा क्रियाशिल होऔं र चिन्तालाई समयमा कम गरौँ ।
  • आफ्नो कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको लेभल थाह पाऔँ र त्यहि अनुसार जीबनशैली बदलौ र जरुरी परे डाक्टरलाई भेटौ ।

(आचार्य 'कोरोनरी मुटुरोग' पुस्तकका लेखक तथा ब्रिटिस मेडिकल जर्नालिष्ट एशोसिएसनका सदस्य हुन्)

प्रकाशित: १३ आश्विन २०७४ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App