५ वैशाख २०८१ बुधबार
राजनीति

पूर्वी पहाडमा उम्मेदवार छनोट तीव्र

इलाम- मेची पहाडका राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । इलाम, पाँचथर र ताप्लेजुङका ठूला ३ दल (एमाले, कांग्रेस र  माओवादी केन्द्र) ले उम्मेदवार छनोटमा व्यस्त छन् ।

    यहाँका दलले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद तथा गत असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनका पराजित उम्मेदवारसमेतलाई निर्वाचनमा उतार्दैछन् । दुई ठूला दल एमाले र कांग्रेसका नेताकार्यकर्ताबीच आउँदो चुनावमा टिकट लिन आन्तरिक रूपमै प्रतिस्पर्धा भएको छ ।

दलले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद तथा गत असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनका पराजित उम्मेदवारसमेतलाई आउँदो निर्वाचनमा प्रतिस्पर्धामा उतार्दैछन् ।

तेस्रो स्थानमा रहेको माओवादीलगायतका दलले भने पार्टीबाट उम्मेदवारको नाम टुंगो लगाएर नै सिफारिस गरेका छन् ।
इलाममा निर्वाचन क्षेत्रको संख्या २ छ भने पाँचथर र ताप्लेजुङमा १–१ क्षेत्र छन् । प्रतिनिधिसभाका लागि एमालेले इलाम क्षेत्र १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र क्षेत्र २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको नाम सर्वसम्मत सिफारिस गरेको छ ।  
पूर्वप्रधानमन्त्री खनाल अहिले इलाम क्षेत्र १ कै सांसद् हुन् भने नेम्बाङ क्षेत्र २ का । खनालले अहिलेसम्म यो क्षेत्रबाट ४ पटक चुनाव जितेका छन् । उनी एकपटक पराजित भएका थिए । खनालले २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा त्यही क्षेत्रबाट कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यलाई र २०६४ मा कांग्रेसकै बेनुपराज प्रसाईंलाई पराजित गरे । खनाल ०५६ को निर्वाचनमा चाहिँ प्रसाईंसँगै पराजित भएका थिए । २०५१ र ०४८ सालका दुवै निर्वाचनमा खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरेका थिए ।
पूर्वसभामुख नेम्बाङले इलाम क्षेत्र २ बाट लगातार ३ पटक चुनाव जितेका छन् । उनले २०७० सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका भेषराज आचार्यलाई पराजित गरे । २०६४ सालमा नेम्बाङले कांग्रेसका केशव थापा र ०५६ मा कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गरेका थिए ।

यसपटक साविकका ३ निर्वाचन क्षेत्र घटेर २ वटामा सीमित भएपछि भने भौगोलिक क्षेत्र हेरफेर भएको छ । एमालेले प्रदेशसभाका लागि प्रत्यक्ष तथा समानुपातिक र प्रतिनिधिसभाको समानुपातिकतर्फका उम्मेदवार छनोट प्रक्रिया टुंग्याउन बाँकी रहेको जनाएको छ । एमाले जिल्ला अध्यक्ष राम रानाले शुक्रबार भने, ‘आज–भोलितिरै उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गर्ने तयारीसाथ बैठक चलिरहेको छ ।’
कांग्रेसले भने उम्मेदवार सिफारिस टुंग्याएको छ । कांग्रेस जिल्ला सचिव निरोज खड्गीका अनुसार प्रतिनिधिसभाका लागि इलाम क्षेत्र १ बाट बेनुपराज प्रसाईं, केशव थापा र भेषराज आचार्यको नाम क्षेत्रीय समितिमा सिफारिस गरिएको छ । क्षेत्र २ मा पनि उनीहरू नै तीनजनाको नाम सिफारिस गरिएको खड्गीले बताए । थापा इलाम क्षेत्र ३ का सांसद हुन् । उनले २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका टेकबहादुर राईलाई पराजित गरेका थिए । थापाले २०५६ को निर्वाचनमा एमालेका अगमप्रसाद बान्तवालाई पराजित गरेका थिए भने उनी २०६४ सालको निर्वाचनमा एमालेका सुवास नेम्बाङसँग क्षेत्र २ मा पराजित भएका थिए ।
पूर्वसांसद प्रसाईंले २०५६ सालमा एमालेका झलनाथ खनाललाई इलाम क्षेत्र १ बाट पराजित गरेका थिए । ०६४ को निर्वाचनमा प्रसाईं एमालेका खनालसँगै त्यही क्षेत्रमा पराजित भएका थिए । आचार्य ०७० सालको निर्वाचनमा एमालेका नेम्बाङसँग क्षेत्र २ मा पराजित भएका थिए । कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र १ को १ बाट हुकुमलाल थेबे, मिलन क्षेत्री र विक्रम पाण्डे, १ को २ बाट दुर्गा बराल, हेमकुमार कार्कीलगायतको नाम सिफारिस गरेको छ । कार्की स्थानीय तह निर्वाचनमा माई नगरपालिकाको मेयरमा एमालेका दीपक थेबेसँग पराजित भएका थिए । कांग्रेसको इलाम क्षेत्र १ को क्षेत्रीय सभापति बरालले स्थानीय तह निर्वाचनमा सूर्याेदय नगरपालिकाको मेयरमा अन्तिम समयमा टिकट नपाएपछि १५ सदस्यसहित पदबाट राजीनामा गरेका थिए ।
कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र २ को १ बाट डम्बर खड्का, केदार थापा, गोविन्द गिरी, राजेन्द्र शर्मा र पूर्णप्रसाद गौतम तथा क्षेत्र २ को २ बाट खगेन्द्र देवान र नगेन्द्र कुमालको नाम सिफारिस गरेको छ । कुमाल २०६४ को निर्वाचनपछि समानुपातिकतर्फको सभासद् थिए । गौतम नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष हुन् । शर्मा र देवान पार्टीका जिल्ला सचिव हुन् भने गिरी क्षेत्र २ को क्षेत्रीय सभापति । खड्का पार्टीको पछिल्लो जिल्ला अधिवेशनमा सभापतिमा पराजित थिए ।
    जिल्लामा माओवादी केन्द्रले पनि उम्मेदवारको नाम टुंग्याइसकेको छ । केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवारमा पार्टीका जिल्ला इन्चार्ज धीरेन शर्मा (रमण) र क्षेत्र २ मा सहइन्चार्ज कान्छा लावतीको नाम तय गरेको छ । प्रदेशसभामा क्षेत्र १ को १ मा तेजबहादुर राई (विजय) र १ को २ मा श्रीमान् राईको नाम छानेको छ । क्षेत्र २ को १ मा लक्ष्मण राई (जनम) र २ को २ मा अनिल बराइलीलाई उम्मेदवार छानेको माओवादी जिल्ला इन्चार्ज  शर्माले बताए ।
माओवादीले प्रतिनिधिसभाको समानुपातिकतर्फ टीका घिमिरे र सोममाया राई (सिन्धु) तथा प्रदेशको समानुपातिकमा राम राई, उर्मिला तामाङ, किरण सुनुवार, ओमबहादुर गुरुङ, शान्ता बस्नेत, प्रेम नाछिरिङ र पवन शंकरलाई उम्मेदवार छानेको जिल्ला इन्चार्ज शर्माले बताए ।
जिल्ला इन्चार्ज रमण ०७० को निर्वाचनमा क्षेत्र ३ बाट तेस्रो स्थानमा पराजित थिए । क्षेत्र २ बाट उम्मेदवार बन्ने कान्छा लावती पनि ०६४ सालमा त्यही क्षेत्रबाट तेस्रो मत ल्याएर पराजित थिए । केन्द्रले समानुपातिकतर्फको उम्मेदवार बनाउने निधो गरेकी सोममाया राई २०६४ सालको निर्वाचनमा क्षेत्र ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा तेस्रो मत ल्याएर पराजित भइन् ।
    उनी गत असार १४ को स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्षमा पनि पराजित भएकी थिइन् । आउँदो निर्वाचनमा उम्मेदवार बन्न लागेका उम्मेदवार गत स्थानीय तह निर्वाचनमा पराजित भएका थिए । केन्द्रका राम राई देउमाई नगरपालिकाको प्रमुख पदमा र प्रेम नाछिरिङ सन्दकपुर गाउँपालिका अध्यक्षमा पराजित भएका उम्मेदवार हुन् ।  
    पाँचथरमा एमालेले उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । यहाँबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वसन्तकुमार नेम्बाङ, समानुपातिकमा डम्बरसिंह साम्बाहाम्फे सिफारिस भएको एमाले जिल्ला सचिव तिवेन्द्र चापागाईंले जनाए । साम्बाहाम्फे पूर्वमन्त्री हुन् । प्रदेशसभाको क्षेत्र १ मा प्रत्यक्षतर्फ तिवेन्द्र चापागाईं, गणेश काम्बाङ, भवानी लिङ्देन, महेन्द्र थाम्सुहाङ र ठुमनाथ चापागाईंको नाम सिफारिस गरिएको छ । प्रदेशको २ मा मेघराज घिमिरे, छवि लावती, नरेन्द्र बस्नेत, कृष्ण आङ्देम्बे र गंगा चेम्जोङ सिफारिस भएको चापागाईंले बताए ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ उपेन्द्र दंगाल, रमा खवास, आशा जबेगू, वीरदल राई, तारावीर खपांगी, नरबहादुर खड्का, करुणा राई, सन्त राईलगायत सिफारिसमा परेका छन् । करुणा गत स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित थिइन् ।
कांग्रेसले प्रतिनिधिसभाका लागि जिल्लाबाट प्रत्यक्षतर्फ भीष्मराज आङ्देम्बे, मित्रप्रसाद काफ्ले र डिकबहादुर चेम्जोङको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पूर्णकुमार शेर्मा, दीपकप्रकाश बाँस्कोटा र चन्द्रकला केरुङको नाम सिफारिस गरेको कांग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङले जानकारी दिए । उनका अनुसार प्रदेशसभाका लागि क्षेत्र १ मा नरेन्द्र केरुङ, बालकृष्ण ओझा, लवदेव ढुंगाना र रूपनारायण जबेगू सिफारिसमा परेका छन् । केरुङ ०७० सालको निर्वाचनमा जिल्लाको क्षेत्र १ बाट पराजित भएका थिए । ढुंगाना नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष हुन् ।
प्रदेशसभाको क्षेत्र २ बाट सुरेन्द्रकुमार दाहाल, देवेन्द्रकुमार खड्का, धर्मेन्द्रविक्रम नेम्बाङ र सूर्यकुमारी चेम्जोङ सिफारिसमा परेको उनले जनाए । प्रदेशमा समानुपातिकतर्फ अम्बिकाप्रसाद नेउपाने, जयप्रसाद रिजाल, पूर्णबहादुर नेपाली र मधु जबेगूको नाम सिफारिस भएको छ । माओवादीले पाँचथरबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा श्री जबेगू, प्रदेशसभाको १ मा हर्क नेम्बाङ र २ मा इन्द्र आङ्बोहाङको नाम सिफारिस गरेको छ । माओवादी पाँचथरका राधाकृष्ण नेउपानेले प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरे पनि समानुपातिकतर्फका उम्मेदवार नछानेको बताए ।    
ताप्लेजुङमा कांग्रेसले उम्मेदवार छानेको छ । यहाँबाट प्रतिनिधिसभाको प्रत्यक्षमा केशव दाहाल, छविलाल गुरुङ, यामकुमारी सुब्बा, मीना गुरुङ र गोपाल गुरुङको नाम सिफारिस गरिएको छ । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकमा सूर्यमान गुरुङ, भारती गुरुङ, गीता सेन्दाङ र तिलप्रसाद सुब्बाको नाम सिफारिस गरेको कांग्रेस ताप्लेजुङकी सभापति लीलादेवी बोखिमले बताइन् । सूर्यमान पूर्वमन्त्री हुन् भने दाहाल गत स्थानीय तह निर्वाचनमा फुङलिङ नगरपालिकाको मेयरमा एमालेका छत्रपति प्याकुेरलसँग पराजित उम्मेदवार हुन् ।     बोखिमका अनुसार प्रदेशसभाको प्रत्यक्षतर्फ १ मा सभापति लीलादेवी बोखिम, युवराज गुरुङ र गजेन्द्र तुम्याहाङ तथा २ मा दीपेन्द्र सेन्दाङको नाम सिफारिसमा परेको छ । प्रदेशतर्फको समानुपातिकमा प्रतापप्रकाश हाङगाम, मंगल मेन्याङ्बो, रामबहादुर कङलिवा र मातृकादेवी प्रसाईंको नाम सिफारिसमा परेको छ । दीपेन्द्र जिल्ला विकास समितिका पूर्वसभापति हुन् भने हाङगाम पूर्वउपसभापति ।
प्रदेशसभातर्फ १ को प्रत्यक्षमा पार्टी अध्यक्ष बलबहादुर सम्सोहाङ र सन्तोष खतिवडाको नाम चर्चामा छ ।  प्रतिनिधिसभाका लागि एमाले केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई र तिलकुमार मेयाङ्बोमध्ये १ जनाले पटक पाउने अनुमान छ । अध्यक्ष सम्सोहाङले शुक्रबार भने, ‘हामी छलफलकै क्रममा छौं, भरे–भोलिसम्ममा रिजल्ट आउनेछ ।’ माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि पासाङ शेर्पा र वीरु हाङबाङलाई सिफारिस गरेको छ भने प्रदेशसभामा १ बाट खेलप्रसाद बुढाक्षेत्री र २ बाट विजय किरातीको नाम सिफारिस गरेको छ ।

प्रकाशित: २१ आश्विन २०७४ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App