काठमाडौं- नेपालका रुजेश शाहीले मंगोलियाको उलन्बटारमा भइरहेको नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । रुजेशले पुरुष ६० केजीमा कांस्य जितेको शुक्रबार नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव राजन श्रेष्ठले बताए ।
प्रतियोगिताअन्तगर्तत ६० केजीमा विभिन्न देशका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त समूहमा रुजेशले तेस्रो स्थान हासिल गर्दा म्यानमारका खेलाडी पहिलो र मलेसियाका खेलाडी दोस्रो भए ।
रुजेश बर्सेनि हुने विश्व च्याम्पियनसिपअन्तर्गत २०१५ मा थाइल्यान्डको बैंककमा भएको सातौं संस्करणका रजत विजेता हुन् । त्यति बेला उनले ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए ।
दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका अर्का नेपाली खेलाडी कमल भण्डारी भने पदकविहीन बने । ८ खेलाडी सहभागी पुरुष ५५ केजीमा कमल प्रि जजिङ राउन्डबाटै बाहिरिए । गत अगस्टमा दक्षिण कोरियाको सिओलमा भएको ५१औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा भने कमलले कांस्य जितेका थिए । त्यो उनको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।
प्रतियोगिताअन्तर्गत आइतबार एथलेटिक फिजिक्सतर्फ महिला १६० सेन्टिमिटर उचाइसम्ममा ननिता महर्जनले खेल्नेछिन् ।
ननिताको स्पर्धामा पनि ८ प्रतिस्पर्धी छन् । सोही स्पर्धामा ननिताले थाइल्यान्डको पटायामा २०१६ मा भएको आठौं संस्करणमा कांस्य जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो पदक जित्ने महिला खेलाडी बनेकी थिइन् ।
प्रकाशित: २१ आश्विन २०७४ ०३:२२ शनिबार