८ वैशाख २०८१ शनिबार
खेल

मेसीको विश्वकप खेल्ने सपना धुमिल

मोन्टेभिडियो- दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत विहीबार पेरूसँग अंक बाँडेपछि लियोनल मेसी र अर्जेन्टिनाको विश्वकप २०१८ खेल्ने सपना अझ धुमिल बनेको छ ।

ब्युनर्स आयर्समा पेरूसँग गोलरहित बराबरीमा रोकिएपछि दुई पटकको विश्वविजेता अर्जेन्टिनाले शीर्ष चारमा रहँदै स्वतः विश्वकपमा छनोट हुने लक्ष्यमा गम्भीर धक्का लागेको छ ।

घरेलु मैदानमा बल पोजेसन राम्रो बनाए पनि पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले फेरि एक पटक निराशाजनक नतिजामा चित्त बुझाउनुप¥यो । बार्सिलोनाका स्टार मेसीले दोस्रो हाफमा विपक्षी पोस्टमा थुप्रै प्रहार गरे पनि पेरूका गोलकिपरले बचाउ गरेपछि निराश बन्नुपरेको थियो ।

बराबरीपछि १७ खेलको समाप्तिमा २५ अंक जोडेको अर्जेन्टिना छैटौं स्थानमा झरेको छ । समान २५ अंक नै जोडेको पेरू पाँचांै स्थानमा छ । दक्षिण अमेरिकाबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पाँचौं स्थानमा रहनेले नोभेम्बरमा न्युजिल्यान्डविरुद्ध प्लेअफ खेल्न पाउनेछ । तर, तेस्रो स्थानमा रहेको चिली र सातौं स्थानमा रहेको पाराग्वेबीच २ अंकको मात्र भिन्नता भएकाले मंगलबार हुने अन्तिम खेलले समीकरणमा व्यापक फेरबदल ल्याउन सक्छ ।

३८ अंकका साथ शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै रूसको टिकट पक्का गरिसकेको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले २८ अंक जोडेको छ । समान २६÷२६ अंक जोडेका चिली र कोलम्बिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

अर्जेन्टिनाले छनोट चरणमा बराबरी खेलेको यो लगातार तेस्रो खेल हो । यसअघि अर्जेन्टिनाले उरुग्वेसँग गोलरहित र भेनेजुएलासँग १–१ को बराबरी खेलेको थियो । छनोट प्रतियोगिताको अन्तिम खेलका लागि अर्जेन्टिना मंगलबार छोटो हवाई दूरीमा रहेको इक्वेडरको राजधानी क्विटो भ्रमणमा निस्कनेछ, जहाँ अर्जेन्टिनाको विगत सुखद छैन । पछिल्लो तीन विश्वकप छनोट खेलमध्ये दुईमा अर्जेन्टिना पराजित भएको थियो भने बाँकी बराबरी खेलेको थियो । क्विटोमा अर्जेन्टिनाले पछिल्लो पटक २००१ मा विश्वकप छनोट खेल जितेको थियो । 

तथापि अर्जेन्टिनाले मंगलबार इक्बेडरलाई पराजित गरे कम्तीमा पाँचांै स्थान पक्का गर्न सक्छ । तर, त्यसका लागि पेरू र कोलम्बियाले एकअर्कासँग अंक बाँड्नुपर्छ ।

विश्वकप पक्का गरिसकेको ब्राजिलले बिहीबार बोलिभियासँग गोलरहित बराबरी खेल्यो । दोस्रो स्थानमा रहेको उरुग्वेले पनि भेनेजुएलासँग गोलरहित बराबरी खेलेपछि रसियाको टिकट पक्का गर्ने मौका गुमायो । पेरिस सेन्ट जर्मनका फरवार्ड इडिसन काभानीले ८३औं मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फाल्दा उरुग्वे विश्वकप यात्रा सुनिश्चित गर्नबाट चुक्यो । अन्तिम खेलमा कमजोर मानिएको बोलिभियाविरुद्ध खेल्ने उरुग्वेको विश्वकप यात्रा सहज मानिएको छ । उरुग्वेलाई रसिया भ्रमण पक्का गर्न बराबरी पर्याप्त हुनेछ ।

दक्षिण अमेरिकी च्याम्पियन चिलीले सान्टियागोमा इक्वेडरमाथि २–१ को विजय हासिल गर्दै विश्वकप २०१८ को सम्भावना कायम राखेको छ । २०१५ र २०१६ को कोपा अमेरिका विजेता चिलीले फरवार्ड इडुवार्डो भार्गेसले २२औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो । ८२औं मिनेटमा एलेक्स इबाराले बराबरी गोल फर्काएपछि चिली संकटमा परेको थियो । तर, त्यसको तीन मिनेट नबित्दै आर्सनलका स्टार एलेक्सिस सान्चेजले गरेको गोल चिलीलाई ३ अंक बटुल्न पर्याप्त भयो । आर्टुरो भिडालले हानेको पेनाल्टी प्रहार विपक्षी गोलकिपरले बचाएपछि रिबाउन्डमा प्राप्त बललाई सान्चेजले पोस्टको दिशा दिएका थिए । जितपछि छैटौं स्थानमा रहेको चिली तेस्रो स्थानमा उक्लिएको हो । छनोट प्रतियोगिताको अन्तिम खेलमा चिलीले ब्राजिललाई पराजित गरे विश्वकपमा स्वतः छनोट हुनेछ ।

कोलम्बियाले शुक्रबार पाराग्वेलाई २–१ को नतिजा सुम्पिएपछि विश्वकप छनोटको सम्भावना बलियो बनाउने मौका गुमायो । राडामेल फल्काओको गोलबाट ७९औं मिनेटमा अग्रता लिएको कोलम्बियाले अन्तिम दुई मिनेट सम्हालिन नसक्दा अंक गुमायो । अस्कर कार्डोजोले ८९औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको एक मिनेट नबित्दै एन्टोनियो सानब्रियाले अर्को गोल थपेपछि पाराग्वेले नाटकीय रूपमा तीन अंक पक्का ग¥यो ।

प्रकाशित: २१ आश्विन २०७४ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App