७ वैशाख २०८१ शुक्रबार
अन्य

पुत्रजया फन्को मार्दा

राजुबाबु श्रेष्ठ

 

सेन्ट्रल होटलमा थियो बास । निर्धारित घुमफिर कार्यक्रम १ बजे पछि मात्र भएकाले त्यसअघिको समयलाई पनि उपयोग गर्ने सोच पलायो । धेरै कुरा मिलाएर सपरिवार विदेश भ्रमणमा निस्किएकाले सकेसम्म डुलौँ भन्ने नै रह्यो, सबैको मत । प्याकेजमा पुत्रजया घुम्ने कार्यक्रम नभएकाले त्यतै जाने निधो भयो ।

‘कति नेपाली त हामीलाई देखेर पनि बोल्दैनन् । आफू भने आफ्नो देशका दाजुभाइ भनेर केही सहयोग गरौँ कि भनी बोल्न खोज्यो, उनीहरू नचिनेझैँ गर्छन् । कस्तो चित्त दुखेर आउँछ ।

बिहानै कोठाबाट तल झरेँ र होटलको काउन्टरमा सम्पर्क गरेँ । उनले फोनबाटै ट्याक्सी बोलाइदिए । होटलभरि रहेछन्, नेपाली कामदार । गार्ड, वेटर, क्लिनर सबै नेपाली । उनीहरूलाई देखेपछि देशप्रेम उर्लिएर आयो । सबैसँग परिचय गरेँ । जनकपुरका झादेखि म्याग्दीका पुनसम्म रहेछन्, त्यहा काम गर्ने । होटलको अगाडि बसेर फोटो खिचियो । नेपाली हुनुको नाता र माया प्रस्ट झल्कियो । मेरो देश पनि धनी भएको भए यो मुलुकमा आएर नेपालीले यस्तो काम गर्नुपर्ने थिएन भनी मनको एउटा कुनामा च्वास्स घोँच्यो । उनीहरूले गरेको दुःखप्रति गर्व र माया दुवै लाग्यो । सबैको आ–आफ्नै कहानी रहेछन् । केहीबेर भलाकुसारी पनि भयो । मैले आफ्नो परिचय दिएपछि निकै खुसी भए ।
सिस्टम नभएको देशमा सम्पर्क चाहिन्छ । सायद त्यसैले हुनुपर्छ मेरो प्रहरी अधिकृतको परिचयले उनीहरू झन् हौसिए ।
‘हामी नेपाल आउँदा फोन गर्छौं, नबिर्सनुहोला है ?’ पुन बोले ।
‘कति नेपाली त हामीलाई देखेर पनि बोल्दैनन् । आफू भने आफ्नो देशका दाजुभाइ भनेर केही सहयोग गरौँ कि भनेर बोल्न खोज्यो उनीहरू नचिनेझैँ गर्छन् । कस्तो चित्त दुखेर आउँछ,’ लम्जुङे गुरुङ भाइ बोले ।
‘हाम्रो देशमा काम गरी खान पाए आफ्नो परिवार छाडेर यो ठाउँमा आएर किन दुःख बेसाउनुपथ्र्यो र ?’ रामेछापका शिवाकोटी बोले ।
सबैका गुनासा जायज थिए । गुनासाभित्र आ–आफ्ना पीडा लुकेको थियो । उनीहरूसँगै म पनि दुःखी भएँ । मैले सबैलाई आफ्नो भिजिटिङ कार्ड दिएँ र नेपालमा केही कामपरे आफूले सकेको सहयोग गर्ने वचन दिएँ ।
ढोकैमा आएर रोकियो, एउटा सेतो ट्याक्सी । मेरै लागि आएको रहेछ । रिसेप्सनको स्टाफले नै भाडाको तय गरिदिए । आफ्ना ग्राहकको राम्रै ख्याल गर्दारहेछन् होटलवालाहरू ।
ममाथि कोठामा गई सपरिवार झरेँ पुत्रजया जानका लागि । अगाडि म बसेँ । पछाडि छोराछोरी र श्रीमती ।
क्वालालम्पुर सहरको सेन्टरबाट हामी लाग्यौँ, पुत्रजयातर्फ । ड्राइभर थिए, राजा नायडु । म नबोली बस्नै नसक्ने । जाँदाजाँदै ड्राइभरसँग मज्जैले कुरा भयो । राम्रो अंग्र्रेजी बोल्दा रहेछन् ती ड्राइभर । कुरा गर्दै जाँदा थाहा भयो, उनको जिजुबाजे भारतबाट आएका रहेछन् । तर अहिले ऊ पूरापूर मलेसियन भइसकेको थियो ।
‘तिम्रो र मेरो त नाम पनि मिल्दो रहेछ,’ मैले जिस्काएँ ।
‘मलाई बहुत खुसी लाग्यो,’ ऊ हाँस्दै बोल्यो ।
म सपरिवार सिंगापुर, मलेसिया र थाइल्यान्ड घुम्न गएको टुरिस्ट । ऊ एउटा ट्याक्सी ड्राइभर । मैले आफूलाई उनीभन्दा पक्कै माथि र ठूलो ठान्ने नै भएँ क्यार । सायद मेरो बोलीमा कतै न कतै टुरिस्ट दम्भ लुकेकै हुनुपर्छ जस्तो लाग्छ मलाई ।
उनी निकै पाका कुरा गर्थे । मलाई महाथिर मोहम्मदको कुरो कोट्याउन मन लाग्यो । मलाई मलेसियाको बारेमा सुनेको कुरा बुझ्नु र अनुभव गर्नु पनि थियो ।
‘तिमीलाई महाथिर मोहम्मद कस्तो लाग्छ ?’
हुन त, यो राजनीतिक प्रश्न थियो, तैपनि म राजनीतिक व्यक्तिलाई ग्राउन्ड लेभलमा कसरी हेर्दा रहेछन् भनेर बुझ्न चाहन्थेँ ।
मेरो प्रश्न भुइँमा झर्न नपाउँदै ऊ बोल्यो, ‘उनी हाम्रा भगवान् हुन् । उनका बारेमा अधिकांश मलेसियाली राम्रै कुरा गर्छन् ।’
म एकैछिन स्तब्ध बनेँ । मैले सुनेको समाचारअनुसार महाथिरविरुद्व पूरै मलेसिया उठेको थियो र उनको शासनको अन्तिमतिर उनलाई भ्रष्टाचारको मुद्दा लगाइएको थियो ।
‘तिमी त महाथिरको पार्टीको हौ कि क्या हो ? मैले त सुनेको थिएँ कि मलेसियामा भ्रष्टाचारलाई संस्थागत गरेकाले उनलाई मुद्दा लागेको थियो र राष्ट्रपतिबाट हटेको थियो ।’
ऊ एकैछिन गम्भीर बन्यो, केही बोलेन । मैले पनि उसको आस्थामा चोट पुग्यो कि भनेर केही बोलिनँ । केहीबेरको मौनतापछि ऊ निकै गम्भीर भएर बोल्यो ।
 ‘म अहिले ५५ वर्षको भएँ । म २० वर्षको हुँदा कहिले सिंगापुर र कहिले फिलिपिन्स गएर मजदुरी गरी पेट पाल्थेँ । आज मसँग गाउँमा र क्वालालम्पुरमा गरी दुइटा घर छ । तीनवटा गाडी छ । मजस्तो ट्याक्सी ड्राइभरसँग त करोडौँको सम्पत्ति छ भने राष्ट्रपति भएको व्यक्तिसँग अर्बौंको सम्पत्ति हुनु के ठूलो कुरो भयो र ? जसले जे भने पनि मलेसियाको भाग्य विधाता हुन् उनी ?’
वाह ! क्या सम्मान । एकपटक महाथिरलाई सलाम ठोकेँ मैले । मलेसियाको कायापलट गराउने उनै रहेछन् । त्यो ट्याक्सी ड्राइभरमा कुनै आग्रह, पूर्वाग्रह थिएन । ऊ महाथिरको पार्टीको पनि थिएन । उसलाई महाथिरको गुणगान गाएर केही हुनेवाला पनि थिएन, तर ऊ महाथिरका लागि आधा सम्पत्ति सक्न तयार थियो ।
‘किन फेरि मलेसियामा महाथिरको विरोध हुन्छ त ?’ मैले अझै कोट्याएँ ।
‘यो राजनीति हामी बुझ्दैनौँ । राजनीति गर्ने सबै चोर र दलाल हुन् जस्तो लाग्छ मलाई । २० वर्षअगाडि हामीहरू विदेशमा मजदुरी गरेर पेट पाल्थ्यौँ । आज विदेशी काम गर्न आउँछन् मलेसियामा । के यो विकास होइन र ? तपाईंकै देशको पाँच–सात लाख कामदार छन् हाम्रो देशमा ।’
 बोल्दाबोल्दै खुत्रुक्कै पा¥यो उसले । अब म चुप लाग्ने वेला आयो । एउटा ट्याक्सी ड्राइभरमा कति बृहत् राष्ट्रिय चेतना ! म असमञ्जसमा परेँ । ऊ आफ्नो देशको सम्पन्नताबारे बताइरहेछ कि मेरो देशको विपन्नताबारे ? एकैछिन अन्योलमा परेँ म ।
उसको कुराले मेरो दिलको भित्री कुनामा हिर्काइरह्यो बारम्बार । म प्रतिरक्षात्मक अवस्थामा रहेर पनि ऊसँग निहुँ खोज्न छाडिनँ ।
‘तिमी त महाथिरको मान्छे रहेछौ,’ मैले सीधै आरोप लगाइदिएँ ।
ऊ हाँस्यो ।
‘आफ्नो देशका जनतालाई सक्षम र धनी बनाएर राष्ट्रको विकास गर्छ भने त्यसलाई कसरी भ्रष्टाचारी भन्ने । यो त यहाँका राजनीतिक माफियाको चाल हो । जसले गरिब र केही नभएको देशलाई सबल र सम्पन्न बनायो, त्यसैको विरोध गर्छन् यी राजनीतिका ठेकेदारहरू ।’
वाह, क्या चेतना । देशप्रति उसको यति विघ्न माया र जानकारी देखेर मनैमनले सलाम गरेँ मैले ।
उसको कुराले मलाई मेरो देशको नेताको झलझली याद दिलायो । मेरो देशको गरिब र निमुखा जनताको अनुहार झलझली आँखैअगाडि आएर ठोकियो । मेरो देशमा जनता भोकै छन्, नेता अघाएका छन् । जनता पैदलै खाली खुट्टा हिँड्छन्, नेता हेलिकोप्टरमा हिँड्छन् । तैपनि उनीहरूलाई कुनै लाज ग्लानि छैन । वास्तवमा महान् त मेरा देशका नेता पो हुन्, जसलाई गल्ली–गल्ली, चोक–चोक, गाउँगाउँ र ट्याक्सी–ट्याक्सीमा गाली गर्छन् तर चुनाव कहिल्यै हार्दैनन् । देशको विकास नभएकोबारे कहिल्यै लाज मान्दैनन् ।
वास्तवमा मलेसियाको नयाँ सहर रहेछ पुत्रजया । मलेसियाको अत्यन्त व्यस्त ट्राफिकका कारण सबै जनतालाई सहयोग पुगोस् भनेर सबै मन्त्रालय र सरकारी कार्यालय रहनेगरी बसालिएको सहर रहेछ पुत्रजया । निकै सफा र सुन्दर । नयाँ टाउन प्लानिङ गरी ठूला–ठूला भवन बनाइएका रहेछन् । समुद्रको किनारैमा अत्यन्त रमणीय र मनमोहक पुत्रजया देखेर मन निकै प्रफुल्ल भयो ।
अन्तर्राष्ट्रिय भवनदेखि ठुल्ठूला भवनअगाडि बसेर मनग्गे फोटो खिचियो । नेपाल गएपछि देखाउने कुरो एउटै मात्र फोटो त रहन्थ्यो । हामीलाई डुलेर मात्र कहाँ पुग्छ र डुलेको छु भनेर संसारलाई देखाउने रोग पनि त छ नि ।
दुई–तीन घन्टाको पुत्रजयाको घुमाइ निकै स्मरणीय रह्यो । सबैभन्दा सम्झनयोग्य व्यक्ति रहे ट्याक्सी ड्राइभर नायडु ।
पुत्रजया भ्रमण गर्दा मुस्लिमको मस्जिदमा पनि प्रवेश ग¥यौँ । जहाँ हामीले रातो कपडा लगाएर जानुपर्ने रहेछ । महिलालाई अझै कडा नियम रहेछ । चारैजना उनीहरूले दिएको पोसाक लगाई मस्जिदभित्र गयौँ । निकै झकिझकाउ रहेछ मस्जिद । केहीबेरको घुमाइपछि करिब आधा घन्टा फेरी चढेर पूरै पुत्रजयाको भ्रमण गरियो । पानीमाथि फेरी चढेर पुत्रजयाको एक छेउदेखि अर्को छेउसम्म पुग्नु पनि खुसीकै कुरा भो ।
पानीको भ्रमणपछि फेरीमाथि निस्कियौँ र ट्याक्सी चढी लाग्यौँ होटलतर्फ । बाटोभरि राजासँग धेरै कुरा भए । मैले नेपालको बारेमा केही बताएँ र नेपाल आएमा आफूले डुलाइदिने फूर्ति झारेँ ।
उसले चार वर्षअगाडि सपरिवार काठमाडौं घुमेको र माउन्टेन फ्लाइटबाट सगरमाथाको नजिक–नजिक पुगेको वर्णन ग¥यो । पोखराको बारेमा निकै प्रशंसा ग¥यो उसले । आफूले घुमेको धेरै देशका ठाउँमध्ये पोखरालाई कहिल्यै बिर्सन नसक्ने भनेर सम्झियो ।
‘साँच्चै, यो दुनियाँमा त्यति सुन्दर ठाउँ पनि छ भनेर पोखरा पुगेपछि थाहा भयो । तर, काठमाडौँ साह्रै फोहोर रहेछ । मैले जे सोचेर काठमाडौं पुगेँ, त्यो केही पाइनँ । सडकभरि फोहोरै फोहोर भएकाले निकै दुर्गन्धित थियो ।’
उसको कुराले म फेरि चुप लाग्न बाध्य भएँ । पोखराको कुराले गर्वले फुलेको छाती काठमाडौंको कुराले सुकेर सानो भयो । बाटोमा लगेर फोहोर फाल्ने काठमाडौंका जनता र हरेक कुरामा अर्धेलो गरी फोहोर नउठाई सहरलाई कुरूप बनाउन उद्यत् महानगरपालिकाका महान् कर्मचारीलाई मनमनै सरापेँ ।
उसको कुराले मेरो ड्राइभरप्रतिको सोच नै परिवर्तन भइरहेको थियो । प्रत्येक दुई वर्षमा एकपटक परिवारै विदेश भ्रमण गर्दा रहेछन् उनी । उसको कुराले म टुरिस्ट हुँ भन्ने सबै फूर्ति हराएको थियो । यहाँको एउटा ट्याक्सी ड्राइभरको जीवनस्तर, चेतनाको स्तर र मेरो देशको ट्याक्सी ड्राइभरको जीवनस्तर दाँजेँ मनमनै । सगरमाथा र चुरेजत्तिकै फरक देखेपछि मनमा दुःख लाग्यो । सोचेँ, मेरो देशका ट्याक्सी ड्राइभर पनि उसको जस्तै जीवन जिउन सक्ने कहिले होला ? कमाई नहुँदा मिटर बिगारेर साहुको अगाडि निन्याउरो मुख लगाएर उभिनुको सट्टा म नै हुँ यो ट्याक्सीको मालिक भनेर भन्ने दिन कहिले आउला ? धेरैबेर घोत्लिएँ एक्लै ।
एक्कासि घ्याच्च ट्याक्सी रोकियो । मेरो छोटो तन्द्रा भंग भयो । होटलका गार्ड नेपाली भाइ आएर ढोका खोले । कबोल मुताबिक मैले एक सय पचास रिंगिट राजाको हातमा थमाएँ । ऊ मुस्कुराउँदै बिदा भयो । म उसको ट्याक्सीलाई हेरिरहेँ केहीबेर । एकैछिनमा मेरो आँखाबाट ओझेलियो ट्याक्सी । ट्याक्सी हराए पनि मेरो मनभित्र राजाको तस्बिर गाढा बनेर बस्यो ।
राजा र महाथिरलाई सम्झँदै उक्लेँ होटलको कोठातर्फ । मलेसियाको सम्पन्नताको कथा मात्र सुनेको थिएँ आज आफ्नै आँखाले देखेपछि भन्नै मन लाग्यो– जय महाथिर । मलाई थाहा छैन, कहिले जन्मने हो एउटा महाथिर मेरो देशमा । म महाथिर जन्मने प्रतीक्षामा बसिरहनेछु ।

प्रकाशित: २१ आश्विन २०७४ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App