काठमाडौं- धादिङको विकट गाउँ तसर्फुमा हुर्के बढेका ३६ वर्षीय आयुष रिजालले संस्कृत शिक्षा लिँदै गर्दा नेपाली फिल्मको हिरो बनँुला भन्ने कहिल्यै सोचेनन् । बुवाले २०५२ सालमा दरबार हाइस्कुलमा संस्कृत भर्ना गरिदिएपछि उनको राजधानीको यात्रा सुरु भयो ।
संस्कृत पढ्दै आचार्य बन्ने उद्देश्य लिएर संस्कृतको स्नातक गरी शास्त्री उत्तीर्ण गरे । तर, आचार्य पढ्दा पढ्दै उनले बाटो फेरे । ‘मेरो संगत कलाकार साथीहरूसँग भयो,’ आयुषले नागरिकसँग भने, ‘बुवाको इच्छा आचार्य होस् भन्ने भए पनि मेरो रुचि कलाकारिता र शारीरिक सुगठनतिर गयो ।’
संस्कृत शिक्षाको उच्चतम् विन्दु आचार्य पढ्न छाडेर म्युजिक भिडियोको छायांकार हुँदै फिल्ममा ‘हिरो’ बनेका आयुष पछिल्लो समय ‘चित्रपट’ कार्यक्रममार्फत् भिजे बनेका छन् । बहुप्रतिभाशाली ‘हिरो’को परिचय बनाएका आयुष चाँडै फिल्म निर्माणमा सक्रिय हुने सोचमा छन् ।
त्यहीबेला उनले शारीरिक सुगठन कला सिके । स्कुलमा मार्सल आर्ट पनि सिकाए । त्यस बेलासम्म उनले फिल्म खिच्ने क्यामरा चलाउन सिकिसकेका थिए । सहायक हुँदै क्यामरा चलाउन सिक्दा उनी क्यामराकै लेन्सबाट त्यतिबेला चलेका कलाकारका अभिनय निहार्थे । ‘कतिले यति झुर गर्थे कि त्यो भन्दा मै राम्रो गर्दो हुँ भनझैं लाग्थ्यो,’ रिजाल सम्झन्छन । क्यामरा चलाउन्जेल पनि उनले अभिनय गरुँला भन्ने सोचेनन् । तर, सुगठित शरिरका कारण स्टन्टम्यानको काम भने पाए । ‘कलाकारिता बुझ्ने हो भने काम सानो ठूलो नहुने रहेछ,’ उनले भने, ‘पर्दामा अगाडि देखिनेको केही समय चहलपहल बढी हुन्छ तर पर्दा पछाडि काम गर्नेहरू सधैं टिकिरहन्छन् ।’
लायकको रुपरंग र सुगठित शरिर कला जगत्बाट धेरै समय लुक्ने कुरा पनि भएन । गायक हेमन्त रानाले ‘आउँदै गर मालती’ बोलको गीतका लागि आयुषलाई मोडल छानेर पहिलो पल्ट काँचको पर्दामा आयुष योग्य भएको संकेत दिए । भिडियोको निर्देशन आलोक नेम्बाङले गरेका थिए । पछि स्वरुपराज आचार्यको ‘म ढले ढले’ बोलका गीतको निर्देशन गर्ने अवसर पनि आयुषले पाए । मोडल छान्ने जिम्मा आफंैलाई आएपछि उनले आफैंलाई मोडेलका रूपमा प्रस्तुत गरे । विगतका अनुभवलाई अझ खरो बनाउँदै उनले दमदार अभिनय गरे । त्यसपछि उनले ‘तिमी फूल्यौ कतै, म फूले कतै’ बोलको गीतमा पनि उनले अभिनय गरे । तिनै म्युजिक भिडियोकै कारण फिल्मीक्षेत्रमा निर्माता र निर्देशकको जोडीका रूपमा चर्चामा रहेका रेखा थापा र छवि ओझाको नजर उनमा प¥यो । रेखा–छविको ‘हिफाजत’ फिल्मबाट उनले फिल्म क्षेत्रमा मुख्य नायकको अभिनयमा डेब्यु गरे । उनको शारिरीक स्वरुप र अनुभवझैं उनलाई फिल्ममा एउटा बडिगार्डको भूमिका दिइएको थियो । ‘सधैं क्यामराको लेन्सबाट अभिनय हेर्थें । आफैं अभिनय गर्दा भने सुरुसुरुमा अलिक नर्भस भइँदो रहेछ,’ उनले पहिलो फिल्मको अनुभव सुनाए ।
फिल्मको भूमिकालाई उनले न्याय गरे । फिल्म हिट भयो । सोही फिल्मबाट उनले नवनायकको अवार्ड पनि हात पारे । त्यसपछि उनले ‘सडक’, ‘खुसी’, ‘मेरो मनको साथी’, ‘मेरो देश’ लगायत चलचित्रमा लगातार अभिनय गरे । नेपालको तराईक्षेत्रमा बढी बोलिने भोजपुरी भाषाका फिल्ममा अभिनय गर्ने अवसर पनि उनले पाए । त्यसबाट नामसँगै उनले दाम पनि कमाए । ‘राम्रो र निरन्तर काम गर्नेलाई यहाँ प्रसस्त पैसा छ,’ उनी भन्छन्, ‘भर्खर आएर छिट्टै कमाउन खोज्नेका लागि भने बजारमा हल्ला चलेजस्तो छैन ।’
उता घरमा सुरुसुरुमा कलाकारितामा लागेको भनेर बुबाले थोरै असहमति जनाए पनि पछि उनको फिल्म हेर्न थालेपछि सबैले तारिफ गर्न थाले । अहिले उनका घरका सबै उनको कामबाट सन्तुष्ट छन् । तर, फिल्म क्षेत्रका सुख र दुःख भने अरू कलाकारले झैं उनले पनि संगालेका छन् । कहिले भोकै काम गर्नु अनि कहिले रमाइलो यात्रासँगै अभिनय गर्नु दुवै कलाकारिता क्षेत्रको अंग नै मान्छन् । नेपाली भोजपुरी गरेर झन्डै तीन दर्जन फिल्ममा अभिनय गरेका उनले पछिल्लो समय प्रदीप श्रेष्ठको निर्देशन रहेको ‘ब्ल्याक’ मा अभिनय गरेका छन् । जसमा विदेशी कलाकारले समेत अभिनय गरेका छन् । उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने चलचित्रसम्बन्धि कार्यक्रम चित्रपटको प्रस्तुतकर्ता पनि हुन् । फिल्ममा अभिनय गर्दा र त्यही कुरालाई दर्शकमाझ ल्याउँदाको अनुभव उनको फरक छन् । ‘आपूmले काम गरेको क्षेत्रका राम्रा नराम्रा सबै कुरा कार्यक्रममार्फत बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘त्यसमा अलिक जोखिम छ किनभने यो क्षेत्रसँग जोडिएर काम गरिरहेको छु ।’
फिल्म क्षेत्रमा आउनलाई उनी अभिनय दक्षतासँगै धैर्य बोकेर आउन सुझाव दिन्छन् । निरन्तर मेहनत गरे घुमिफिरी नाम र दामको आलोपालो चलिरहने उनी बताउँछन् । पहिलेभन्दा अहिले नेपाली फिल्मको बजार राम्रो रहेको भन्दै उनले उतिबेला बल्ल–बल्ल पाइने पारिश्रमिक अचेल २५ लाखसम्म सम्झौता हुन थालेकामा खुसी व्यक्त गर्छन् ।
फिल्म क्षेत्रमा हुने अनावश्यक खिचातानीप्रति भने उनी निराश छन् । ‘गुणस्तरीय फिल्म बनाउनु प¥यो अनि सबैले मिलेर सही समयमा सही रिलिज गर्नुप¥यो,’ उनी सुझाउँछन्, ‘यसले सबैले कमाउने र बजार पाउने अवसर जुटाउँछ अनि चलचित्रकर्मीबीच सकारात्मक सम्बन्ध पनि बनाउँछ ।’ भविष्यमा आफैं फिल्म निर्देशन र निर्माण गर्ने सोच बनाएका रिजाल उनको मिजासिलो स्वभावकै कारण चलचित्र क्षेत्रमा रुचाइएका छन् ।
प्रकाशित: २२ आश्विन २०७४ ०४:२९ आइतबार