८ वैशाख २०८१ शनिबार
अर्थ

गौतम बुद्ध विमानस्थलमा तीन समितिको चासो

काठमाडौं- आधा वर्षभन्दा बढी समय अवरुद्ध भएर केही दिनदेखि निर्माण कार्यमा  तीव्रता पाइरहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे व्यवस्थापिका संसद्का विभिन्न समितिहरूले चासो बढाएका छन् ।
उक्त विमानस्थल निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीका नेपाल प्रतिनिधि परिवर्तन भएसँगै विभिन्न समितिहरूले चासो बढाएका हुन् । दुई दिनअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विमानस्थल निर्माणबारे आयोजनाका पदाधिकारी र ठेकेदार कम्पनीलाई बोलाएर छलफल गरेलगत्तै बुधबार सार्वजनिक लेखा समितिले सोही टोलीलाई बोलाएर छलफल ग¥यो । छलफल नसकिएपछि विमानस्थल निर्माणबारे थप छलफल गर्न भन्दै लेखा समितिले पुनः बिहीबार सोही टोलीलाई बोलाएको छ । बिहीबार नै विकास समितिले अर्को छलफलका लागि सम्बद्ध पक्षलाई बोलाएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए ।
आयोजना सम्बद्ध स्रोतका अनुसार यसअघि एउटै विषयमा छलफल गर्न यसरी संसदीय समितिहरूले तारन्तार बोलाएका थिएनन् । एउटै विषयमा छलफल गर्न विभिन्न संसदीय समिति सक्रिय भएपछि साँच्चिकै कामलाई थप तीव्रता दिन हो या ठेकेदार कम्पनीका प्रतिनिधि फेरिएको आवेग हो भन्नेबारे अन्योल बढेको स्रोतले बढायो ।
दुई महिनाअघि काममा ढिलाइ गरेको भन्दै चीनको नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्सट्रक्सन ग्र्रुप रहेको मुख्य ठेकेदारले आफ्ना प्रतिनिधि चो जोङलाई हटाउँदा उनले त्यसको दोष आयोजनाका पदाधिकारीलाई दिँदै त्यसको बदला लिने धम्की दिएको स्रोतले बतायो ।
स्थानीय तहमा सहायक ठेकेदारलाई काम दिएका कारण बढेको विवादले विमानस्थल निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय र आयोजनाले लगातार आवाज उठाएपछि मुख्य ठेकेदार कम्पनीले जोङलाई हटाएर प्रोजेक्ट मेनेजरको रूपमा सु वाङलाई नियुक्त गरेको थियो । आयोजना प्रमुख शर्माले मुख्य ठेकेदार कम्पनीले प्रतिनिधि फेरबदल गरेपछि विमानस्थल निर्माणको कामले गति लिएको बताए ।
चिनियाँ टोली फेरिएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तोकिएको अवधिसम्म ८० प्रतिशत सम्पन्न हुने आयोजनाको नेतृत्व गरेका अधिकारी र ठेकेदार कम्पनीले दाबी गरे । मुख्य ठेकेदार कम्पनी र उसले नियुक्त गरेको सहायक कम्पनीको आपसी विवाद र कामदारको भुक्तानी विषयले करिब ६ महिना काममा अवरोध सिर्जना गरेको थियो । आयोजनाले सरकारी निकायलाई कुनै जानकारी नदिएका कारण त्यसको दोष तत्कालीन ठेकेदार कम्पनीका चिनियाँ प्रतिनिधिलाई दिँदै आएका थिए ।
आयोजना प्रमुख शर्माले ठेकेदार कम्पनीले नियुक्त गरेको नयाँ टिमले स्थानीयसँगको विवाद सुल्झाउँदै लिएकाले निर्माण कार्यले गति लिने संकेत देखिएको बताए । उनले केही दिनयताको निर्माण कार्यले लिइरहेको गति कायम रहने हो भने तोकिएको अवधिसम्म विमानस्थलको ८० प्रतिशत काम सकिने बताए ।
सन् २०१५ जनवरीदेखि निर्माण कार्य थालिएको उक्त विमानस्थलको सन् २०१८ को जुन १८ सम्म काम सक्ने सम्झौता गरिएको छ । तर, सम्झौताको लामो समय बितिसक्दा चिनियाँ कम्पनीले २६ प्रतिशत मात्र काम गर्न सकेको छ । विमानस्थल निर्माणका लागि छुट्ट्याइएको छ अर्ब २२ करोड रुपैयाँमध्ये हालसम्म ६५ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । निर्माण कार्यबाहेक उक्त विमानस्थललाई आवश्यक परेको जमिन अधिग्रहण गर्दाको करिब २३ अर्ब रुपैयाँ पनि स्थानीयलाई वितरण गर्न बाँकी नै छ ।
शर्माले अहिलेसम्म काममा ढिलाइ हुनुको दोषी ठेकेदार कम्पनी नै भए पनि अब नयाँ टोली आएकाले सोही कम्पनीसँगको ठेक्का निरन्तरता दिनु देशका लागि उपयुक्त हुने बताए । ‘ठेकेदार कम्पनीले पछिल्लो समयमा देखाएको तदारुकताले ठेक्काको निर्धारित अवधिसम्म ८० प्रतिशत काम सकिन्छ,’ उनले भने, ‘त्यसपछि बचेको निर्माण कार्य सम्पन्न गर्न ठेक्काको अवधि बढाउनुपर्ने हुन्छ ।’ केही दिनयताको कामको तीव्रता कायम रहने हो भने आउँदो एक वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पूरा हुने उनको भनाइ छ ।
कुल सात सय ८७ बिघा (पछि थप गरिएको पाँच सयसहित) क्षेत्रफलमा फैलिएको उक्त विमानस्थलको निर्माण कार्य सकिएपछि काठमाडौं आउने अधिकांश ठूला जहाज भैरहवामै अवतरण गर्ने योजना छ । तीन हजार मिटर लामो रनवे हुने गरी विमानस्थलको निर्माण कार्य भइरहेको छ ।
आयोजना प्रमुख शर्माले विमानस्थल निर्माणका लागि आवश्यक माटो र नदीजन्य पदार्थको समेत व्यवस्थापन भइसकेको जानकारी दिए । विमानस्थल निर्माणका लागि करिब १० लाख घनमिटर माटो र चार लाख घनमिटर नदीजन्य पदार्थ आवश्यक पर्ने आँकलन गरिएको छ । ‘जिल्ला समन्वय समिति र स्थानीयसँगको छलफलपछि सहज रूपमा आवश्यक निर्माण सामग्री जुटाउने उपाय फेला परिसकेको छ,’ उनले भने ।
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भने दुई दिनअघि नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिलेकै ठेकेदार कम्पनीलाई निरन्तरता दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो ।
लेखा समितिमा भने सांसद रामहरि खतिवडाले विमानस्थलको निर्माण कार्य ढिलो हुनुमा आयोजना प्रमुख दोषी रहेको जिकिर गरेका थिए । खतिवडाको भनाइप्रति आपत्ति जनाउँदै आयोजना प्रमुख शर्माले ठेकेदार कम्पनीमा पुरानै प्रतिनिधि रहेको भए विमानस्थलको निर्माण कार्य अघि बढ्न नसक्ने भन्दै प्रतिवाद गरेका थिए ।

प्रकाशित: २६ आश्विन २०७४ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App