coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पानामालाई पहिलो पटक टिकट

कोभा- पानामाले पहिलो पटक विश्वकपको यात्रा पक्का गर्दा ट्रिनिडाड एन्ड टोबागोसँग अप्रत्याशित हार बेहोरेको अमेरिका छनोट चरणबाटै बाहिरिएको छ । कन्काकाफ छनोटको अन्तिम खेलमा कोस्टारिकामाथि २–१ को जित हात पार्दै पानामाले रूस विश्वकप २०१८ को यात्रा पक्का गरेको हो ।
३६औं मिनेटमा जोन भेगिनासले गरेको गोलमा कोस्टारिकाले अग्रता लिएको थियो ।
५२औं मिनेटमा ग्याब्रियल टोरेसले गोल गर्दै पानामालाई खेलमा फर्काएका थिए । खेल सकिन तीन मिनेट बाँकी छँदा रोमन टोरेसले गरेको गोलमा पानामाले विश्वकप सपना साकार पारेको थियो ।
यसअघि नै छनोट चरणबाट बाहिरिसकेको ट्रिनिडाड एन्ड टोबागोलाई २–१ को नतिजा सुम्पिएपछि अमेरिकाको विश्वकप यात्रामा पूर्ण विराम लागेको हो ।
१७औं मिनेटमा अमेरिकाका ओमर गोन्जाल्वेजले गरेको आत्मघाती गोलमा ट्रिनिडाड एन्ड टोबागोले अग्रता लिएको थियो । ३७औं मिनेटमा एल्भिन जोन्सले गोल गर्दै ट्रिनिडाड एन्ड टोबागोको अग्रता दोब्बर पारेका थिए ।
पानामाको जित र आफ्नो हारले दबाबमा आएको अमेरिका होन्डुरसले शीर्ष स्थानको मेक्सिकोलाई ३–२ ले पराजित गरेपछि छनोट चरणबाटै बाहिरिएको हो । अमेरिका सन् १९८६ पछि विश्वकपको छनोट चरणबाट बाहिरिएको यो पहिलो पटक हो ।
कन्काकाफ छनोटको शीर्ष तीन टोलीले स्वतः विश्वकपमा स्थान सुरक्षित गर्दा चौथो स्थानको टोलीले अन्तरमहादेशीय प्लेअफमार्फत एक पटक पुनः विश्वकपको ढोका ढकढक्याउने मौका पाउनेछ । मेक्सिको र कोस्टारिका यसअघि नै समूह विजेता र उपविजेतका रूपमा विश्वपमा प्रवेश गरिसकेका थिए । अन्तिम एक स्थानका लागि अमेरिका र पानामाबीच प्रतिस्पर्धा देखिएको थियो ।
१० खेलको समाप्तिमा २१ अंंक जोडेको मेक्सिको शीर्ष र १६ अंक जोडेको कोस्टारिका दोस्रो स्थानमा यथावत् रहे । समान १३ अंक जोडेको पानामा राम्रो गोलन्तरमा तेस्रो स्थानमा बस्दै विश्वकपमा छनोट भएको हो । समान खेलमा समान १३ अंक जोडेको होन्डुरसले चौथो स्थानमा बस्दै प्लेअफका लागि छनोट हुँदा १२ अंक जोडेको अमेरिकाले पाँचौं स्थानमा चित्त बुझाएको हो ।
होन्डुरसले अन्तरमहादेशीय प्लेअफमा एसियाली प्लेअफको विजेता अस्ट्रेलियाको सामना गर्नेछ ।

 

प्रकाशित: २६ आश्विन २०७४ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App