६ वैशाख २०८१ बिहीबार
राजनीति

एमाले उम्मेदवारलाई रेणु दाहालको भोट

चितवन- चितवनमा स्थानीय तह निर्वाचनमा एकअर्का विरुद्धको मोर्चामा उभिएका एमाले र माओवादी केन्द्र अन्ततः एउटै मोर्चामा सामेल भएर चुनावी गठबन्धनको सुरुवात गरेका छन् । बुधबार भएको चितवन जिल्ला समन्वय समिति निर्वाचनमा माओवादीले एमालेका उम्मेदवारलाई मत दिएर विजयी बनाएको छ ।

चितवनमा एकअर्काको कट्टर विरोधी मोर्चामा उभिएका एमाले र माओवादी केन्द्र सहयात्री भएर स्थानीय तह निर्वाचनको बिट मारेका छन्

    समितिका पदमा निर्वाचित हुन एमालेसँग स्पष्ट बहुमत थियो । माओवादीले पनि एमालेलाई नै मत दिएपछि एमालेका उम्मेदवार कृष्णकुमार डल्लाकोटी चितवन जिल्ला समन्वय समितिका संयोजकमा चुनिए । संयोजकसहित सबै नौ पदमा एमालेका उम्मेदवार विजयी भए ।
    स्थानीय तहका प्रमुख र उपप्रमुखले जिल्ला समितिको पदाधिकार चुन्न मत दिन पाउँछन् । सातवटा स्थानीय तह रहेको चितवनमा एमालेले चारवटा नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । माओवादीले भरतपुर महानगर र माडी नगरपालिकामा प्रमुखमात्रै जितेको थियो ।
    कांग्रेसले इच्छाकामना गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा भरतपुर महानगरपालिकामा उपप्रमुख जितेको थियो । स्थानीय तह निर्वाचनमा भरतपुरमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । एक्लै चुनाव लडे पनि प्रमुख र उपप्रमुख जित्ने हैसियत भएको कांग्रेसले भरतपुरमा माओवादीसँग चुनावी तालमेल गरेर मेयर पद नै माओवादीलाई छाडेको थियो ।
    चितवनमा जिससका लागि मतदान गर्ने १४ मध्ये एमाले एक्लैको नौ मत थियो । कांग्रेसको तीन र माओवादीको दुई मत थियो । ‘गठबन्धनको पुरानो सहयात्री कांग्रेससँग पनि जित्न सक्ने मत थिएन । एमालेसँग नयाँ गठबन्धन भइसकेको अवस्थामा चितवन जिससमा एमालेकै उम्मेदवारलाई मत दिने निर्णय भएको थियो,’ माओवादी केन्द्रका चितवन संयोजक यमबहादुर परियारले भने ।
    माओवादीको पनि मत पाएका कारण एमालेका उम्मेदवारहरू ११ मत ल्याएर जिससमा चयन भए । कांग्रेसले भरत अधिकारी संयोजक रहेको प्यानल मैदानमा उतारेको थियो । कांग्रेसका उम्मेदवारले आफ्नो दलको तीन मत मात्रै पाए । स्थानीय तह निर्वाचनमा भरतपुरमा मतपत्रसमेत च्यातिएको थियो ।
    माओवादीबाट भरतपुर महानगरपालिकामा मेयरमा निर्वाचित रेणु दाहाल र माडीमा मेयरमा निर्वाचित ठाकुर ढकालले जिससमा एमालेका लागि मत दिए । जिसस निर्वाचन नै स्थानीय तह निर्वाचनको अन्तिम विन्दु हो ।
    माओवादी गणना प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको वडा नं. १९ मा दोहो¥याएर चुनाव भएको थियो । मतपत्र नच्यातिएको भए भरतपुरको मेयरमा रेणु दाहाल नभएर एमालेका देवीप्रसाद ज्ञवाली निर्वाचित हुने सम्भावना प्रबल थियो । स्थानीय चुनावताका एमाले र माओवादीबीचको सम्बन्ध निकै तिक्ततापूर्ण थियो ।
    भरतपुरको चुनाव सम्पन्न हुँदा निकै उतारचढाव भएका थिए । मेयर र उपमेयर दुवैमा पराजित भएको एमालेले भरतपुरको कार्यपालिका चुनावबाट नगरपालिका बोर्डमा बहुमत कायम गरेको छ । कांग्रेसले मत दिएर एमालेका उम्मेदवार जिताएका कारण बोर्डमा एमालेको बहुमत पुगेको थियो । भरतपुर कार्यपालिका चुनावमा माओवादी–काँग्रेस गठबन्धन कायमै रहे पनि मत एमालेले पाएको थियो ।
    आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एमाले, माओवादी केन्द्र लगायतका दलहरूको वाम गठबन्धन तयार भएको छ । यो गठबन्धनका कारण  हिजो चितवनमा एकअर्काको कट्टर विरोधी मोर्चामा उभिएका एमाले र माओवादी केन्द्र सहयात्री भएर स्थानीय तह निर्वाचनको बिट मारेका छन् ।

प्रकाशित: २६ आश्विन २०७४ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App