८ वैशाख २०८१ शनिबार
राजनीति

समानुपातिकतर्फ उम्मेदवार छनोट सुरु

काठमाडौं- नेपाली कांग्रेसले १७ सदस्यीय संसदीय समिति गठन गरेको छ । १३ औं महाधिवेशन भएको डेढ वर्षपछि सभापति शेरबहादुर देउवाले बुधबार समिति गठन गरेका हुन् । पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतले १७ सदस्यीय संसदीय समिति गठन भएको जानकारी दिए ।
समितिमा पार्टी पदाधिकारीबाहेक आठ जना मात्र सदस्य राख्न पाउने विधानको व्यवस्था छ । विधानको धारा ३१ को उपधारा ४ ले ‘संसदीय समितिमा बढीमा आठ सदस्य कार्यसमितिले चयन गर्ने’ उल्लेख छ । तर, देउवाले पार्टी विधान विपरित संसदीय समिति गठन गर्दै  नेता रामचन्द्र पौडेल पक्षबाट चार, कृष्णप्रसाद सिटौला समूहबाट एक र बाँकी ९ जना आफू निकटलाई समावेश गरेका हुन् ।
समितिमा पौडेल पक्षबाट प्रकाशमान सिंह, रामशरण महत र महेश आचार्य सदस्यमा परेका छन् । त्यस्तै, सभापति देउवा पक्षबाट विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी र चित्रलेखा यादव सदस्य छन् । सिटौला पनि संसदीय समिति सदस्य छन्् ।
पार्टी कोषाध्यक्ष सीतादेवी यादव समितिको पदेन सदस्य हुने व्यवस्था छ । पार्टी सभापति र महामन्त्री समितिको पदेन सभापति र महामन्त्री हुने व्यवस्था विधानको धारा ३१ (२) मा छ । महामन्त्री शशाक कोइराला र कोषाध्यक्ष यादव पौडेल निकट हुन् ।
विधानको धारा ३१ (१) मा केन्द्रीय समितिबाट एक संसदीय समिति गठन गर्ने उल्लेख छ । समितिमा संसदीय दलको नेता पदेन सदस्य हुन्छन् । दलको नेता देउवा स्वयं छन् । यो समितिले नै पार्टीको तर्फबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने छ । मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा (केन्द्र) को निर्वाचनका लागि असोज २७ भित्र उम्मेदवारको टुंगो  लगाइसक्ने निर्णय कांग्रेसले गरेको छ ।  
महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टी पदाधिकारी र सबै निकायलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर, देउवाले अझै पदाधिकारी र पार्टीका अन्य निकायलाई पूर्णता दिनसकेका छैनन् ।   
संसदीय समिति गठनसँगै कांग्रेसले प्रदेश र केन्द्र (प्रतिनिधिसभा) सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार छनोट सुरु गरेको छ । संसदीय समिति गठनलगतै पार्टीसभापति एवं प्रधानमन्त्री देउवाको अध्यक्षतामा बालुबाटारमा बसेको समितिको बैठकले प्रदेश र केन्द्रका लागि समानुपातिकतर्फ उम्मेदवार छनोट गृहकार्य सुरु गरेको हो ।
प्रारम्भिक छलफल सुरु गरेको कांग्रेसले गुटगत आधारमै उम्मेदवार टुंगो लगाउने भएको छ । असोज २७ गतेभित्र प्रत्यक्षतर्फका उम्मेदवारसमेत टुंगो लगाउने निर्णय केन्द्रीय समितिले गरे पनि संसदीय समितिले २८ भित्र समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाइसक्ने नेता जानकारी प्रकाशशरण महतले दिए ।
‘समानुपातिकतर्फ असोज २९ गते बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले २८ गतेभित्र उम्मेदवार टुंगो लगाउनेछौं,’ महतले भने, ‘आज (बुधबार) प्रारम्भिक छलफल भएको छ । बिहीबारदेखि व्यक्तिकेन्द्रित छलफल हुन्छ ।’
विभिन्न गुटमा विभक्त कांग्रेसका नेताहरू समानुपातिकतर्फ आफ्नोतर्फबाट कसलाई अघि सार्ने भन्ने छलफलमा जुटेका छन् । सभापति देउवाले निकटसँग बालुवाटारमै छलफल गरेका छन् भने नेता रामचन्द्र पौडेल पक्ष महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा छलफलमा जुटेको छ ।
जिल्लाबाट भएका सिफारिसमै आधारित भएर उम्मेदवार तय गरिनेछ । संसदीय समिति सदस्य महतले निर्वाचन आयोग दिएको सूचीअनुसार सबै जातजाति, धर्म, सम्प्रदाय र भूगोललाई समेटर उम्मेदवार छनोट गर्ने जानकारी दिए । अधिकांश जिल्लाबाट प्रदेश र केन्द्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षीको सूची केन्द्रमा आइसकेको छ ।    
गुटबाट माथि उठ्न नेतृत्वलाई आग्रह
यसैबीच नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षले गुटगत राजनीतिबाट माथि उठेर प्रदेश र केन्द्रको उम्मेदवार छान्न नेतृत्वलाई आग्रह गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जिल्ला कोषाध्यक्षले १३औं महाधिवेशनपछि पार्टीमा गुट र भागबन्डाको राजनीति मौलाएको गुनासोसहित हाम्रोलाई भन्दा राम्रोलाई उम्मेदवार बनाउन सुझाएका हुन् ।
‘पार्टीका केन्द्रीय नेताहरु गुट तथा उपगुट बनाउन र भागबन्डाको राजनीतिमा रुमल्लिएको कारण सांगठनिक गतिविधि शून्य बन्न पुग्यो,’ काठमाडौं कोषाध्यक्ष गोविन्द पुडासैनीले भने, ‘संवेदनशील र राष्ट्रिय मुद्दामा कांग्रेसले अपेक्षाअनुरुप भूमिका खेल्न सकेको छैन ।’
मुलुकमा राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य तथा लोकतन्त्रको पुनस्र्थापनाका लागि डटेर लडेको कांग्रेस एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालको गठबन्धनबाट आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।
जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्य समिति अध्यक्षसमेत रहेका पुडासैनीले एउटै सिद्धान्त, मूल्य, मान्यता एवं आदर्शबाट प्रेरित कांग्रेसका कार्यकर्तामध्ये कसैलाई काखा र कसैलाई पाखा नगर्न उनले नेतृत्वलाई सुभाव दिए । स्थान विशेष, भौगोलिक अवस्था एवं जातीय समीकरणलाई अवमूल्यन गरी आफंैले निर्धारण गरेको टिकट वितरणको मापदण्डलाई लत्याई आआफ्ना गुटका व्यक्तिलाई टिकट दिँदा विगतका निर्वाचनमा पार्टीले हार बेहोरेको उनले बताए ।
‘अबको निर्वाचनमा नेतामुखी नभई जनतामुखी र लोकप्रिय व्यक्तिलाई टिकट दिन र दिलाउन हाम्रो जोडदार माग छ,’ उनले भने, ‘राणा शासन, पञ्चायतीशासन र राजतन्त्रविरुद्ध लडी मुलुकलाई शान्तिप्रक्रियामा ल्याई लोकतान्त्रिक संविधान दिलाउने दललाई रोज्ने कि विदेशीको पिछलग्गु साम्यवादी विचारलाई रोज्ने, यसको उत्तर नेपाली जनतामा नै छ ।’
कार्यक्रममा धादिङ जिल्ला कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले कांग्रेस आफ्नो लक्ष्य र उद्देश्यबाट विचलित नभई एक भएर निर्वाचनमा जुट्नुपर्ने बताए । ‘कांंग्रेस एकढिक्का भएर अघि बढ्यो भने हामी धेरै राम्रो जित हासिल गर्न सक्छौं,’ उनले भने ।

प्रकाशित: २६ आश्विन २०७४ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App