दलितभित्रैका समस्या

बिहिबार, २६ असोज २०७४, ११ : ४२ किरण बिक


नेपाली समाजको संरचना यसै पनि विभिन्न सामाजिक ‘लेयर÷तह’मा विभक्त छ । जातीय भेदभावले हाम्रो सभ्यतालाई सयौँ वर्ष पछाडि धकेलेको छ । यो ‘एनजिओ’को भ्वाइस होइन, आम नेपाली दलितले आजसम्म भोगेको यथार्थ हो । पछिल्लो केही दशकको अभ्यासलाई आधार मानेर भन्ने हो भने एकथरी बौद्धिक कथित उच्च जातलाई ‘छुवाछूत’ गरेको आरोप लगाएर पन्छिने गरेका छन् । तर, यति भनेको भरमा हामी दलितका समस्या सुल्झिन्छन् भन्नु छक्कदाग्दो कुरा हो ।

म कल्पना गर्छु, कुनै एउटा पार्टीले दलित प्रधानमन्त्री उठायो भने अन्य पार्टीका दलितहरूले के सहयोग गर्लान्, भोट हाल्लान् ?

पहिलो कुरा, कस्तो अचम्म दलितभित्र झन् अर्को दलित छ । हामी आफैँ तहगत जातीय विभाजनको सिकार भइयो भनिरहेका छौँ र आफैँ तहगत जातीय परम्परा धानिरहेका छौँ । दलितभित्रै ‘छुवाछूत’ छ । हामीले सिंगो उपल्लो जातीय संरचनासँग भिड्नुपरेको छ । अर्कातिर जुन बहस र मुद्दाविरुद्ध हामी तथाकथित उपल्ला जातीय संरचनाहरूसँग भिडिरहेका छौँ, फेरि त्यस्तै अभ्यास हामी दलितहरू नै गरिरहेका छौँ । एकप्रकारले भन्दा जातिगत तह र भेदभाव पहिले त दलितभित्रै अन्त्य हुनुपर्ने हो । अनि मात्र सम्पूर्ण दलित एक ढिक्का भई उपल्ला जातिसँग लड्न सकिन्थ्यो । दलितभित्रै पनि पानी चल्दैन । सार्कीलाई कामीले भान्सामा छिर्न दिँदैन । दमाई र चमारबीच बिहे चल्दैन । हो, दलितभित्र विभेद कतै छ, कतै छैन । तर धेरै ठाउँमा पूर्णरूपले एउटा कामीले अर्को दमाईलाई सजिलै स्वीकारेको देखिँदैन ।
दलित दलितबीचको भेदभाव कतै कडा नै छ, कतै हल्का छ । हुन त दलितबीचको यस हिसाबको जातीय तह दलितहरू आफैँले बनाएका भने हैनन् । दलित–दलितबीचको यो विभेद पनि दलितहरूमाझ उपल्लो जातद्वारा नै लादिएको हो, जसले तहगत जातीय संरचनाको सुरुवात ग¥यो । कामीभन्दा सार्की सानोे भन्ने कुरा कामी आफैँले बनाएको चाहिँ होइन, यो हिजो उसैले गरेको हो, जजसले जात बनाए । तर हामी निरन्तर किन त्यही परम्परा अविच्छिन्न रूपमा चलाइरहेका छौँ त ? दलित मुक्तिको अभियानलाई साँच्चिकै सफल बनाउने हो भने पहिले त दलितभित्रैको यो समस्या अन्त गर्नुपर्छ । हामीलाई नहेप भनेर बाहुन, क्षत्री, गुरुङ, मगरसँग चाहिँ भन्ने अनि हामी फेरि कामीले दमाईलाई, दमाईले सार्कीलाई हेपिरहने ? हामी न्याय माग्न जाँदा न्याय माग्न जानेहरू त पहिले बराबर हौँ न । दलितहरूबीच नै पहिले बिहे चलाऔँ, पानी चलाऔँ, भान्सा चलाऔँ । पहिले हामी नै समान बनौँ । दलित मुक्तिको आन्दोलन अलिकति बदलौँ । पक्कै पनि दलितभित्रको यस प्रकारको विभेद मेटाउन दलित र उपल्लो जातिसँगको विभेद मेटाउनभन्दा सजिलो होला । नत्र यस्तै हो भने एकदिन बाहुन र सार्कीबीचको छुवाछूत त हट्ला तर कामी र दमाईबीचको चाहिँ रहिरहला । अनि के त्यसबेला दलित मुक्तिको आन्दोलन जितिरहेका हुन्छौँ ?
दोस्रो कुरा, यहाँ दलितहरूबीच नै एकता छैन । भन्नाले दलित मुक्तिको आन्दोलनमा हिँडेका अभियन्ता र संघसंस्थाहरूबीच नै एकता छैन । एकताभन्दा पनि एकरूपता छैन भन्नु अझ ठीक होला । दलित एकता नभएका कारण कैयौँ उपलब्धि गुम्ने खतरामा छन्, कैयौँ मुद्दा अस्तव्यस्त भएका छन् ।
जहिले पनि दलित मुद्दाहरूको उठान ढिलो गरी हुने, भए पनि सबैको साथ र सहयोग नहुने अनि बीचैमा छाड्ने जस्तो भइरहेको छ । एउटा दलित संस्थाले अर्को दलित संस्थालाई नगन्ने खालको पनि समस्या छ । अहिले हरेक राजनीतिक दलमा दलित संगठन छ । पार्टी जुनसुकै होस् मूल मुद्दा त उही हो, लक्ष्य उही हो दलित मुक्ति, बाटो पो फरक हो, तर गन्तव्य धेरै टाढा छ । तर यही कुरा पनि हाम्रा दलित राजनीतिक नेताहरूले बुझिरहेका छैनन् । आफ्नोबाहेक अर्को पार्टीले दलित आन्दोलनमा केही गरेकै छैन भन्ने नगरौँ । घरी घरी म कल्पना गर्छु, कुनै एउटा पार्टीले दलित प्रधानमन्त्री उठायो भने अन्य पार्टीका दलितहरूले के गर्लान् ? अहिलेको स्थिति हेर्दा त भोट हाल्दैनन् जस्तो देखिन्छ ।
तेस्रो कुरा, नेपाली दलित समुदाय एनजिओकरण र क्रिस्चियनीकरणको जोखिममा छ । दलित मुक्तिको अभियानमा राजनीतिक आन्दोलन र राज्यको पहल जत्तिकै महत्वपूर्ण छ, एनजिओको भूमिका । एनजिओको विषयहरूमा दलित मुद्दा पनि एक सवाल बनेदेखि नै दलित आन्दोलनले गति लिन थाल्यो । कतिपयका शब्दमा दलित मुद्दा बढी एनजिओकारण भयो भन्ने पनि छ तर बढी हुँदा त राज्यको नजर थोरै छ । दलितका सवालहरू बाध्य भएर एनजिओकरण भएका हुन् । तर बाहिर हल्ला गरिएजस्तो दलित एनजिओलाई एकदमै धेरै पैसा आउने भन्ने चाहिँ होइन । दलित संस्थाहरूकै बिजोग छ । केही दलित अभियन्ताहरूले उच्च शिक्षाका लागि विदेशमा अवसर भने पाएका छन् । हालैका दिनहरूमा दलित आन्दोलनका लागि विदेशी सहयोग लिनुहुँदैन भन्ने खालका कुरा पनि आइरहेको छ तर दलित आन्दोलन अझै सुरुवातमै रहेको र राज्यले पनि खुलेर सहयोग नगरिरहेको स्थितिमा त्यसो गर्नु चाहिँ मूर्खता हुन्छ । दलितमा लाग्ने अर्को आरोप हो क्रिस्चियनीकरण भयो भन्ने । नखुलेर कतिपय एनजिओले दलितहरूको खराब स्थितिलाई ख्याल गर्दै प्रभावित पार्दै क्रिस्चियन बन्न प्रेरित गरेको तथ्य बेला बेलामा खुल्ने गरेको छ । हिन्दू व्यवस्थामा जात छ, विभेद छ, हाम्रोमा जात छैन, विभेद छैन भनेर क्रिस्चियनहरूले दलितहरूलाई आफूतिर तान्ने गरेका कुरा आइरहन्छ । दलित मुद्दामा यो जोडिनु भनेको दलित मुद्दा झन् कमजोर हुनु हो । दलितहरू पढ्न पाउँछन्, उनीहरूको स्थिति सुध्रिन्छ भने र क्रिस्चियन हँुदा सम्मानित भएको महसुस गर्छन् भने त्यो धर्म माने पनि हुन्छ । तर, क्रिस्चियन भइसकेपछि दलितले कस्तो अवस्था भोगेका छन् ? त्यसतर्फ पनि सोच्ने कि ?
दलित आन्दोलनभित्रै अरू पनि धेरै समस्या छन्, जसको प्रस्ट पहिचान र चिरफार हुन आवश्यक छ । दलित मुक्तिको बाटो लामो र अप्ठेरो भएकाले दलितहरू पहिले आफैँ मिल्नु अत्यन्त आवश्यक छ । हामीले अहिले प्रयोग गरिरहेको बाटो अथवा माध्यमले हामीलाई सही उपलब्धि दिइरहेको छ कि छैन, त्यसतर्फ पनि सोचौँ । अबको एक–दुई पुस्ताभित्र यो दलित भन्ने अवस्था नहुने गरी हामी लाग्नुपर्छ । त्यसका लागि कम्तीमा पनि अहिलेका सक्रिय दलित अभियन्ताहरू साझा अभियान लिएर हिँड्न जरुरी छ ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...