४ वैशाख २०८१ मंगलबार
अन्य

चाडबाडमा बढ्दै पठनीय संस्कृति

फूलपातीको अघिल्लो दिन घर हिँडेका लमजुङका नवीनचन्द्र घिमिरेको झोला भारी थियो । अन्य सामानले नभई हालै प्रकाशित पुस्तकले उनको झोला भरिएको थियो । दसैँका बेला घरमा पढ्नका लागि उनले झोलाभरि पुस्तक हालेका थिए । जुवातास नखेल्ने र अन्य रमाइलो खासै मननपर्ने भएकाले दसैँको समय किताब पढेर सदुपयोग गर्दै आएको उनले सुनाए । ‘यसपालि मदनकृष्ण श्रेष्ठको ‘महको म’ पढेँ । यसबाहेक अरु पनि पढियो,’ उनले भने । अन्य समय काममै व्यस्त हुने तर दसैँ–तिहारमा पढ्ने समय निस्कने भएकाले उनले पुस्तक किनेका हुन् । ‘काठमाडौंमा हुँदा खाली काममै व्यस्त हुन्छु,’ उनले भने, ‘वर्षभरि साँचेर राखेका उत्कृष्ट किताब दसैँ–तिहारका बेला पढ्ने गरेको छु ।’ यसपालि हालै प्रकाशित ६ पुस्तक पढेको उनले सुनाए । ‘चाडबाडमा घर जाँदा साथमा पुस्तक भए लामो दूरीको यात्रा र घर पुगेपछि पनि पढ्न पाइन्छ,’ उनी भन्छन्, ‘तिहारको बिदामा पढ्ने पनि केही पुस्तक छुट्याइसकेको छु ।’
उनीजस्तै दसैँका बेला पढ्ने अर्की पाठक हुन्, अञ्जु भट्टराई । उनले पनि पढ्नका लागि चाडपर्व नै कुर्ने गरेको सुनाइन् । भन्छिन्, ‘दसैँका बेला खासै काम हुन्न, धेरैले दसैँमा तास खेल्ने र मनोरञ्जन गर्ने गर्छन् तर मैले यो समयलाई नयाँ पुस्तक पढ्न छुट्याउने गरेकी छु । उनले यसपालि दसैँमा अंग्रेजी लेखक जोन सी म्याक्सेवलको पुस्तक ‘२१ इरिफुटेबल ल अफ लिडरसिप’, लिसा निकोल्सको ‘नो म्याटर ह्वाट’  पढिन् । ‘दसैँको बिदाको मौसम अलि राम्रो पनि हुन्छ,’ उनले सुनाइन्, ‘यो समय पुस्तक पढ्ने हो भने धेरै कुरा सिकिन्छ ।’ दसैँका बेला तास, पिङ खेलेरै मात्र बिताउनुभन्दा किताब पढ्दा ज्ञान पढ्ने उनको अनुभव छ । ‘किताब पढ्नुमा दोहोरो फाइदा छ,’ उनले सुनाइन्, ‘एकातर्फ ज्ञान लिइने, अर्कोतर्फ मनोरञ्जन पनि हुने ।’
भक्तपुर कमलविनायक बस्ने वर्षा पौडेललाई पनि किताब पढ्ने लत लागेको छ । चाडबाडका बेला मात्रै नभएर अन्य समय पनि नयाँ पुस्तक पढ्ने गरेको उनले सुनाइन् । ‘पुस्तक पढ्ने मेरो सानैदेखिको बानी हो,’ उनले सुनाइन्, ‘दसैँका बेला पनि एक–दुई किताब पढ्ने गरेकी छु ।’ उनले चाडपर्वका बेला धेरै दिन बिदा हुने भएकाले पुस्तक पढ्न र मनोरञ्जन गर्न समय पर्याप्त हुने सुनाइन् ।
चाडपर्वका बेला लेखक पनि पुस्तक ल्याउन लोभ गर्छन् । दसैँ–तिहारमा पाठकले धेरै किताब पढ्ने भएकाले पनि लेखकले चलाखी अपनाएका हुन् । चाडपर्वका बेला बजारमा ल्याएको किताब धेरै बिक्री हुने पनि लेखकको अनुभव छ ।  संस्कृति र इतिहासबारे कलम चलाउँदै आएका लेखक रविन्द्र तामाङ पनि दसैँमा बढी किताब पढिन्छ भन्नेमा सहमत छन् । आफूले पनि दसैँका बेला धेरै किताब अध्ययन गर्ने गरेको उनले सुनाए । ‘अरु समय कामकाजमा व्यस्त रहनेका लागि किताब पढ्ने उत्तम समय हो, दसैँ–तिहार,’ उनले भने, ‘मलाई पनि चाडपर्वका बेला अध्ययन गर्न रमाइलो लाग्छ ।’ उनले दसैँका बेला किताब पढ्ने संस्कृति बन्नु आफैँमा राम्रो भएको बताए । ‘महान् पर्वका बेला नयाँ–नयाँ ज्ञान लिनु राम्रो हो,’ तामाङले भने, ‘सहर र गाउँमा दसैँका बेला पुस्तक पढ्नेको जमात ठूलै हुन्छ ।’ लेखकले पनि दसैँका बेला पाठकको रुचिअनुसारका किताब ल्याउन थालेको उनको भनाइ छ ।
लेखक अभि सुवेदी भने यस विषयमा विमति जनाउँछन् । चाडबाडका बेला नयाँ पुस्ताले त्यति अध्ययन नगरेको उनको भनाइ छ । ‘पहिले–पहिले बरु दसैँ तिहारका बेला किताब बढेको देखिन्थ्यो, तर अहिले खासै देखिन्न,’ उनले भने, ‘नयाँ पुस्ता बढी मनोरञ्जनमै केन्द्रित छन् ।’ पुस्तक पढ्ने जमात नभए पनि लेखक र प्रकाशकले दसैँ–तिहारलाई लक्षित गरेर किताब ल्याउन लागेको उनको तर्क छ । ‘पछिल्लो समय हामी ‘एलिट’ पाठकका ‘एलिट’ लेखक भयौँजस्तो लाग्छ,’ सुवेदी भन्छन्, ‘दसैँका बेला ह्वारह्वार्ती बजारमा नयाँ पुस्तक आएका छन् तर यो बेला प्रकाशन भएका किताब सतप्रतिशत बिक्री हुन्छन् जस्तो मलाई लाग्दैन ।’ उनले पछिल्लो समय प्रकाशन हुने पुस्तक र देशको सन्दर्भ नमिलेकाले दसैँका बेला त्यति पुस्तक नपढिने तर्क राखे । ‘अहिले धेरैलाई देशको राजनीतितर्फ चासो छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा कसैले पनि एकाग्र भएर किताब पढ्छन् जस्तो मलाई लाग्दैन । पढे पनि समसामयिक विषयका किताब मात्रै पाठकले पढ्ने गरेका छन् ।’
तास नखेल्ने र अन्य रमाइलोमा भुल्न नसक्नेहरु भने दसैँ–तिहारका बेला किताबलाई नै नजिकको साथी बनाउँछन् । तर धेरैले चाडबाडमा पुस्तक पढ्दैनन्, भेटघाट र रमाइलोमै व्यस्त हुन्छन् ।
लेखक बेञ्जु शर्मा पनि दसैँका बेला किताब पढ्ने जमात ठूलो हुने बताउँछिन् । चाडबाडका बेला पुस्तक पढ्ने संस्कृतिको विकास हुँदै गएको उनको बुझाइ छ । ‘हाम्रो देशमा मात्रै होइन, चाडपर्वका बेला पुस्तक पढ्ने चलन अरु देशमा पनि छ,’ उनले भनिन्, ‘सीमित व्यक्ति रमाइलोमा भुले पनि केहीले दसैँ–तिहारका बेला पुस्तक पढ्ने गरेका छन् ।’
आफ्नो रुचिको कुरा पढ्न कुनै समय नचाहिने उनी बताउँछिन् । ‘पछिल्लो समय चाडबाडका बेला किताब पढ्ने पाठक बढ्नु खुसीको कुरा हो,’ उनी भन्छिन्, ‘सधैँ काममा व्यस्त हुने पाठकका लागि यो समय उत्तम हो ।’  लामो समय लेखन र अध्यापन क्षेत्रमा बिताएकी शर्माले पछिल्लो समय पुराना लेखक र नयाँ पाठकबीच गहिरो खाडल बनेको बताइन् । ‘पुराना लेखकले नयाँ पुस्ताको मनोभावना बुझ्न नसकेर हो या नयाँ पाठक अन्य कुरामै आकर्षित भएर हो, साहित्यिक कार्यक्रममा नयाँ पुस्ताको उपस्थिति त्यति देखिन्न ।’  शर्माले आफूले चाडबाडका बेला धेरै पुस्तक अध्ययन गर्दै आएको सुनाइन् । उनले यो वर्षको दसैँका बेला ‘सगरमाथाको गहिराइ पुस्तक पढेको सुनाइन् ।
त्यसो त पछिल्लो समय धेरैजसो पब्लिकेसनले पनि चाडबाडलाई नै लक्षित गरेर पुस्तक प्रकाशन गर्न थालेका छन् । दसैँका बेला आउने पुस्तक केही बढी बिक्री हुने फाइनप्रिन्ट प्रकाशनका अजित बराल बताउँछन् । उनले दसैँ बिदामा उपत्यकाबाहिर जाने धेरैजसोले हालै प्रकाशन भएका किताब किन्ने गरेको बताए । ‘दसैँमा किताब किन्न पैसा पनि हुन्छ,’ उनले भने, ‘सधैँ काममा व्यस्त रहने कर्मचारीले पनि यो समय बढी किताब किन्ने गरेका छन् ।’ उनले पछिल्ला वर्षमा चाडपर्वका बेला किताब किन्ने फेसन नै बनेको बताए । ‘यो वर्ष दसैँमा घर जानेले भुइयाँ, महको म, सगरमाथाको गहिराइजस्ता पुस्तक किनेका छन्,’ उनले भने ।  
बुकहिल प्रकाशनका भुपेन्द्र खड्काले अन्य समयभन्दा दसैँ–तिहारका बेला प्रकाशन हुने पुस्तक बढी बिक्री हुने गरेको बताए । ‘हिजोआज दसैँमा किताब पढ्ने जमात बढेको छ,’ उनले भने, ‘पुरानाभन्दा नयाँ किताब धेरै बिक्री हुने गरेका छन् ।’
चाडबाडका बेला किताब पढ्ने जमात पनि बढेको छ । दसैँ–तिहारका बेला सबैभन्दा बढी पुस्तक प्रकाशन र बिक्री–वितरण हुने गरेको सांग्रिला प्रकाशनका मणि शर्मा बताउँछन् । ‘धेरैजसो लेखकले चाडपर्वकै बेला किताब प्रकाशन गर्ने मनसाय राख्नुहुन्छ,’ उनले भने, ‘लेखकको मनसायका आधारमा हामीले पुस्तक प्रकाशन गर्दै आएका छौँ ।’ वर्षभरि बिक्री नभएका र प्रकाशनमा आउन नसकेका पुस्तक पनि चाडबाडकै बेला बजारमा आउने गरेको उनी बताउँछन् । ‘अन्य बेला प्रकाशित पुस्तकको तुलनामा दसैँ–तिहारमा प्रकाशित पुस्तक बढी बिक्री हुन्छ,’ शर्माले थपे, ‘दसैँका बेला पुस्तकमा रमाउने पाठकको जमात बढी छ ।’ उनका अनुसार चाडपर्वका बेला पुस्तक पढ्ने पाठक अन्य समयका भन्दा फरक छन् ।

प्रकाशित: २८ आश्विन २०७४ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App