८ वैशाख २०८१ शनिबार
समाज

उपकरण प्रयोग गरेर फिल्मी शैलीमा चिट चोरी

काठमाडौं- राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जब भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।

गिरोहलाई पैसा दिएर पास हुन परीक्षा केन्द्र पुगेका परीक्षार्थीले प्रश्नपत्र पाएलगत्तै फोटो खिचेर भाइबरमार्फत होटलमा बसेको समूहलाई फोटो पठाएका थिए।

शनिबार बिहान ८ देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कंदै गरेका उनले परिवारसँग खुसी बाँड्न भने पाएनन् । उनी तीनकुनेबाट सीधै टेकुमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पु¥याइए ।
बौद्धको अरुणिमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शिखा झा र राहुल झाको अवस्था पनि सिंहकै झैं भयो । परीक्षा दिएर उनीहरू घर हैन, प्रहरी कार्यालय पुगे । उनीहरूसँगै अर्का परिक्षार्थी सक्षमराज भण्डारी पनि थपिए ।
केही बेरमै ज्ञानेन्द्र ठाकुर थपिए, जो अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा एमबिबिएस पढ्दै थिए । केही बेरमा सञ्जयकुमार यादव, मुकेश राय, हिरेन्द्र शर्मा, अजयकुमार यादव, आशुतोषकुमार झा र शैलेशकुमार झासमेत थपिए ।
यी सबै पक्राउ पर्नुको कारण बढो फिल्मी छ । १४ वर्षअगाडि भारतमा डाक्टर बन्न लालायीत एक गुन्डामा आधारित फिल्म बनेको थियो ‘मुन्नाभाई एमबिबिएस’ । निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हास्य फिल्म बाबुको डाक्टर बन्ने सपना पूरा गर्न आपराधिक गतिविधिमा लागेका एक व्यक्ति (मुन्नाभाइ) ले अपनाएको उपायमा आधारित छ । उक्त चलचित्रमा मुन्नाभाइको भूमिका सञ्जय दत्तले निर्वाह गरेका छन् । सहयोगी अरशद वारसीसँग मिलेर प्रवेश परीक्षालगायत सबै परीक्षा दिन एक चिकित्सक अपहरण गरी प्रविधि प्रयोग गरेर मोबाइलमार्फत चिट चोरेर परीक्षा दिई उनी चिकित्सक बन्छन् ।   
शनिबार पक्राउ परेको सबैले मुन्नाभाई फिल्मको यही शैलीमा चिट चोर्ने–चोराउने गरेका थिए  । फिल्ममा अयोग्य भए पनि चिकित्सक बन्न लालायीत एकजना थिए, यहाँ चारजना निस्किए ।
पक्राउ परेकामध्ये राजीव, शिखा, राहुल र सक्षम चिट चोरेर प्रवेश परीक्षा पास गरेर चिकित्सक बन्ने ध्याउन्नमा थिए । ज्ञानेन्द्र उनीहरूलाई चिट चोराउन सक्रिय एबिबिएसका विद्यार्थी । पक्राउ परेका अन्यमध्ये कसैले उपकरण उपलब्ध गराएका थिए, कसैले चिट चोर्ने चाँजोपाँजो मिलाएका थिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार प्रवेश परीक्षाको कोचिङ कक्षा चलाउने आशुतोष र शैलेशले परीक्षार्थीलाई परीक्षामा उत्तीर्ण गराउने भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म लिएका थिए ।
यसअगाडि एमबिबिएस प्रवेश परीक्षामा अक्षम परीक्षार्थीलाई उत्तीर्ण गराउन नक्कली विद्यार्थीको प्रयोग हुने गरेको थियो । २०७२ मा अर्काको परीक्षा दिन आएका चिकित्सक सुनिल मण्डल र निरज शर्मा पक्राउ परेपछि परीक्षार्थीमाथिको निगरानी बढेको थियो । यसैलाई आधार बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्चमाध्यमिक शिक्षा परिषद्ले संयुक्त अनुसन्धान अगाडि बढाउँदा नक्कली शैक्षिक योग्यताको भरमा चिकित्सक बनेका एक हजारभन्दाको पहिचान भएको थियो । तीमध्ये ५६ जना पक्राउ परेका थिए ।
संयुक्त अनुसन्धान जारी रहेपछि प्रवेश परीक्षा केही कसिलो बनेको थियो । एक वर्षयता प्रहरीले अनुसन्धान सुस्त बनाएपछि सो गिरोह पुनः सक्रिय भयो र उनीहरूले नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने पुरानो उपायसँगै प्रविधि प्रयोग गर्ने नयाँ शैली अपनाए ।
उनीहरूले मोबाइलको सिम राखेर कुरा गर्न मिल्ने नयाँ शैलीको उपकरण खोजी गरे । यो उपकरण वायरलेस एअरफोनमार्फत परीक्षार्थीले सहजै शरीरमा लुकाउन सक्थे ।
 

होटलमा बसेर उत्तर टिपाउँथ्यो गिरोह
चिकित्सा शास्त्र अध्ययन संस्थानले शनिबार १७ वटा परीक्षा केन्द्र तोकेको थियो । अधिकांश केन्द्रमा सेटिङमा पास गराउने गिरोह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
अनुसन्धानको नेतृत्व गरेका अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार परीक्षार्थीलाई चिट चोराएर पास गराउन गिरोह चार समूहमा खटिएको थियो । पहिलो समूह चिकित्सक बन्न चाहने र शैक्षिक योग्यता कमजोर भएका परिक्षार्थी खोज्न खटिएको थियो । आशुतोष र शैलेशले इन्स्टिच्युटमा तयारी कक्षा लिन आएका यस्तै परीक्षार्थीको खोजी गरेका थिए । दोस्रो समूह परीक्षा केन्द्रमा उपकरण बोकेर गएका परिक्षार्थीलाई सहज प्रवेश गराउन खटिएको थियो । सोही समूहले उपकरणको बन्दोबस्त गरेको थियो । पक्राउ परेका सञ्जय उपकरण खोजी र केन्द्रमा सहज प्रवेश गराउन खटिएका थिए ।
तेस्रो समूह परीक्षार्थीलाई प्रश्नको उत्तर मोबाइलबाट टिपाउन होटलमा खटिएको थियो । यो कामका लागि सञ्जीवलगायतका तीन जना लाजिम्पाटको होटलमा कोठा लिएर बसेका थिए ।
चौथो समूह परीक्षा केन्द्रमा गएर अर्काको नाममा परीक्षा दिन खटिएको थियो । सो समूहका सदस्यमध्ये एकजनामात्र पक्राउ परेका छन् । पक्राउ परेका ज्ञानेन्द्र पप्पु यादव बनेर उनको प्रवेश परीक्षा दिन केन्द्र पुगेका थिए ।
 

परीक्षा चल्दाचल्दै प्रश्नपत्र आउट
एमबिबिएसको प्रवेश परीक्षामा सेटिङका आधारमा उत्तीर्ण गराउने गिरोह पुनः सक्रिय भएको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महाशाखाको टोली अनुसन्धानमा खटिएको थियो ।
अनुसन्धानमा गिरोहले नयाँ प्रविधि प्रयोग गरेर चिट चोराउने गरेको पुष्टि भएपछि दुवै टोली प्रवेश परीक्षा सुरु हुने दिनको प्रतीक्षामा थियो । शनिबार बिहान ८ बजे परीक्षा सुरु हुने जानकारी पाएपछि दुवै टोली खटिए पनि गिरोहका सदस्य पक्राउ गर्न महाशाखा टोली पहिलो भयो ।
महाशाखाको टोलीले विभिन्न परीक्षा केन्द्र पुगेर मिलेमतोका आधारमा प्रवेश परीक्षा दिन आएका परीक्षार्थीसँगै गिरोहका ११ जनालाई पक्राउ ग¥यो । सेटिङ मिलाउन सबैभन्दा सक्रिय रहेका अजयकुमार यादव प्रहरीले खोजी गरिरहेको चाल पाएर उम्किन त्रिभुवन विमानस्थल पुगिसकेका थिए तर प्रहरीको सक्रियताले उनी उम्किन सकेनन् । यस्तै सेटिङ मिलाउन खटिएका भारतीय डाक्टरद्वय शौरभकुमार देव र सुभास देव तथा नेपाली नवराज निरौला पनि पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई प्रहरी कार्यालयमा राखेर सोधपुछ गर्दा प्रहरीले परीक्षा चल्दाचल्दै प्रश्नपत्र बाहिरिएको पत्तो पायो । अनुसन्धान अधिकारीले होटलबाट पक्राउ परेकाको मोबाइलको भाइबरमा प्रश्नपत्र फेला पारे । एसएसपी लोहनीका अनुसार गिरोहलाई पैसा दिएर पास हुन परीक्षा केन्द्र पुगेका परीक्षार्थीले प्रश्नपत्र पाएलगत्तै फोटो खिचेर भाइबरमार्फत होटलमा बसेको समूहलाई फोटो पठाएका थिए ।
फोटो पठाएलगत्तै परीक्षार्थीले वायरलेस एअरफोन अन गरे । सिम राखेर मोबाइलझैं चलाउन सकिने उपकरण कम्मरमा राखेका परीक्षार्थीले कानमा सानो एअरफोन राखेका थिए । त्यसैको सहायताले उनीहरूले उत्तर टिपाउने समूहको निर्देशन सहजै सुनेका थिए । होटलमा बसेको समूहले प्रश्नको जेजे उत्तर भन्थ्यो, परीक्षार्थीले त्यसैमा टिक लगाइरहेका थिए ।
‘प्रारम्भिक अनुसन्धानमा चिकित्सा शिक्षामा अयोग्य परीक्षार्थीलाई प्रवेश गराउन ठूलै समूह संलग्न रहेको देखिएको छ,’ अनुसन्धानको नेतृत्व गरिरहेका एसएसपी लोहनीले भने, ‘केही पक्राउ परिसकेका छन्, केहीको खोजी जारी छ ।’

प्रकाशित: २९ आश्विन २०७४ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App