६ वैशाख २०८१ बिहीबार
अर्थ

सिंहपुर पर्यटकीय गाउँ बन्दै

कञ्चनपुर –थारु संस्कृतिले समृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ पर्यटकीय गाउँका रुपमा विकसित हुन थालेको छ ।लोप हुँदै गएका परम्परागत मनमोहक नृत्य, गीत, पहिरन र आभूषण जगेर्नामा यस गाउँका बासिन्दा लागिपरेका छन् ।

'गाउँमा थारु संस्कृति, पहिरन र परिकारको स्वाद लिनका लागि आउने आन्तरिक र बाह्य पर्यटकसँग गरिने व्यवहारबारे युवालाई जानकारी दिने गरेका छैं,' गाउँका बुद्धिराम चौधरीले भने,' थारु नाच, संस्कृति, रीतिरिवाज, बोलीभाषा र परिकार पर्यटक तान्ने साधनका रुपमा परिचित हुँदैछन् । गाउँलाई होमस्टेका रुपमा विकास गर्न पूर्व तयारीका लागि नगरपालिकाले  दुई लाख सहयोग गरेको छ ।'

बजारका होटल तथा रेस्टुरेन्टमा नपाइने थारु परिकार सिंहपुरको थारु होमस्टेमा पाइन्छ । स्थानीयवासी बाबुराम चौधरी होमस्टेमा एक पटक एक सय जना पर्यटकलाई राख्न सकिने बताए । थारु नाचलाई नयाँ ढंगले प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिनका लागि एक महिनामै पाँचभन्दा बढी नाच टोली गठन गरिएको छ । परम्परागत सीपको प्रयोग गरी पौवा, पिर्का, चक्या, कोल्ह, गैंजा, सुप्पा, खटया, व्याना, गोन्ड्री, बेर्रा, भौंका, भोक्टी वा गागरी, चटवा, डब्ला, छत्तरी, खोङ्ध्या, डेह्री, ढेंकी, ढकिया र डेलवालगायत निर्माण गरी प्रदर्शन र पर्यटकलाई थोरै शुल्कमा उपलब्ध गराउन होमस्टे संञ्चालन गरिएको उनले जानकारी दिए ।

थारु महिलाले लगाउने परम्परागत पहिरन फरिया, दैनाहा, झुल्वा, चोल्या, गोटबन्हा तथा गहनामा गुरिया, गटैया, ककनी, कारा, भिच्छा, मुन्द्री, मगौरी, झुम्का, झिमल्या, टर्की, वीर, टौका, सुट्या, झुम्का माला, हातमा लगाउने बिजाइत, बाजु, बाँका, टँर्या आदिको जोर जम्मा गर्न थालिएको छ । थारु समुदायका मुख्य चाडपर्व अष्टिम्की, अट्वारी, डस्या, डेवारी, माघी, होरीलगायतका बारेमा जानकारी दिने र यस अवसरमा पस्कने मीठा परिकार पर्यटकलाई दिने व्यवस्थाका लागि योजना निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया बजारबाट झण्डै दुई किलोमिटिर दक्षिणतर्फ सिंहपुर गाउँ रहेको छ । गाउँमा ५२ परिवार थारु समुदायको बसोबास छ ।

 

प्रकाशित: २ कार्तिक २०७४ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App