६ वैशाख २०८१ बिहीबार
कला

सर्वनाममा ‘१० मिनेट नाटक मेला’

काठमाडौं – एउटा नाटक हेर्नकै लागि दर्शकले झण्डै एक घण्टा बढीको समय छुट्याउनु पर्ने बाध्यता छ । छोटो समयमा राम्रो नाटक हेर्ने दर्शकको चाहना पूरा नभइरहेको अवस्थामा सर्वनाम थिएटरमा १० मिनेटको नाटक मञ्चन हुने भएको छ।

सर्वनाम थिएटरले आयोजना गर्न लागेको ‘तेस्रो देशव्यापी १० मिनेट नाटक मेला’मा दर्शकहरुले भिन्न कथाका छोटा नाटकको स्वाद लिन पाउने भएका हुन् । थिएटरका अनुसार पछिल्लो समय युवापुस्ताको नाटक र रंगकर्म प्रतिको रुचि तथा सहभागिता बढिरहेको अवस्थालाई ख्याल गर्दै नाटक मेला हुन लागेको हो। 

सर्वनामका निर्देशक अशेष मल्लले तेस्रो संस्करणका लागि नाटक दर्ताको आह्वान  गरिएको बताए । ‘नाटकको अवधि दश मिनेट वा सो भन्दा कमको हुनुपर्ने र नाटकमा नाट्य सामाग्रीको प्रयोग एकदमै न्युन गरिनुपर्नेछ,’उनले भने, ‘विशेषत भर्खरै रंगकर्म सिकेर रंगमञ्चमा केही गर्न चाहने युवा रंगकर्मीलाई लक्षित गरेर आयोजना गरिएको मेलामा युवा कलाकारको सहभागिता बढ्नेमा ढुक्क छौं ।’ उनका अनुसार पहिलो र दोस्रो संस्करणमा  झण्डै ६ दर्जन नाटकले सहभागिता जनाएका थिए । मंसिरको तेश्रो साता आयोजना हुने नाटकको लागि देशव्यापी रुपमा नाटकको आह्वान गरिएको मल्लले बताए।

मेलाका संयोजक राज शाहले आफूहरुले नयाँ सोचबाट शुरु गरेको मेलामा लेखक तथा निर्देशकहरूले देखाएको उत्साहले पनि मेला गर्न उर्जा मिलेको बताए। 

आयोजकका अनुसार व्यक्तिगत वा संस्थागत रुपमा थिएटरमा १० रुपैंयाँ तिरेर नाटक दर्ता गर्न सकिने छ । नाट्य समूहले मंसिर १५ गतेसम्म थिएटरको कार्यालय कालिकास्थानमा दर्ता गराएपछि नाटकलाई मंसिरको अन्तिम साता नाटक मेलामा सहभागी गराइनेछ।

प्रकाशित: १० कार्तिक २०७४ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App