६ वैशाख २०८१ बिहीबार
अन्य

नारी नायक

सन् २००८ मा रिलिज भएको अमेरिकन–पर्सियन भाषाको चलचित्र ‘द स्टोनिङ अफ सोराया एम’ ले निकै दर्शक मात्र नभई चलचित्रको संसारमै छुट्टै चर्चा बटुल्यो । यस चलचित्रमा  मोहजान मार्नोले सोराया एमको भूमिका निर्वाह गरेकी छन् । त्यस्तै, सोहरेन अग्डास्लोले सोरायाकी सानीमा जाराको भूमिका निभाएकी छन् । यी दुवैलाई चलचित्रको प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ । फ्रेन्च इरानी पत्रकार फ्रेइडोन साहेब्जामले सन् १९९४ मा लेखिएको पुस्तकमा आधारित भई यो चलचित्र निर्माण भएको थियो। 

इरानमा प्रतिबन्ध लगाइएको यो पुस्तकले एउटा ग्रामीण इरानी गाउँकी महिलाले सामना गर्नुपरेको विभिन्न चुनौतीलाई चित्रण गरिएको छ । सोराया एम एक महत्त्वाकांक्षी पुरुषकी श्रीमती थिइन्, जसले सोरायालाई परपुरुष गमनको आरोप लगाएर सोरायासँग आफ्नो वैवाहिक जीवन समाप्त गर्न चाहन्थे र त्यसमै आफ्नो स्वतन्त्रता देख्थे । यो चलचित्र जारा र सोरायालाई सशक्त हुँदाहुँदै पनि ‘आवाजविहीन’ पात्रका रूपमा देखाइएको छ, जसको कुरा सुन्ने कोही हुँदैन र सोरायालाई निर्दोष हुँदाहुँदै पनि आफ्नो ज्यानको बलिदान दिनुपर्ने अवस्था आउँछ। 

शीर्ष भूमिकामा महिला रहेका चलचित्र दर्शकका प्रिय हुँदै जाँदा विधागत हिसाबमा भने अझै पनि असमानता देखिन्छ । महिलाको प्रमुख भूमिका अझै पनि कमेडी, नाटकीय, हरर र एनिमेसन चलचित्रमा बढी देखिन्छ भने एक्सन चलचित्रमा अलि कम नै । त्यसो त, महिला निर्देशकको संख्या पनि कम छ।

पछिल्लो समय चलचित्र र साहित्यमा पनि महिलालाई प्रमुख पात्र मात्र नभई सशक्त भूमिकामा चित्रित गर्न थालिएको छ । महिला लेखक वा निर्देशक मात्र होइन, पुरुष लेखक र निर्देशकले पनि महिलालाई प्रमुख पात्राका रूपमा आफ्ना सिर्जनामा समावेश गर्न थालेका छन्। 

पछिल्ला वर्षमा  महिलालाई केन्द्रबिन्दु बनाएर अन्तर्राष्ट्रिय स्तरमै धेरै चलचित्र बनेका छन् । यस्तै महिलालाई प्रमुख पात्र बनाएर धेरै पुस्तक पनि लेखिएका छन् । कुनै पनि कथाको केन्द्रमा रहेर प्रमुख निर्णय गर्ने र ती निर्णयको परिणाम भोग्ने पात्रका रूपमा महिला देखिएका छन् । चाहे कथा होस्, उपन्यास वा चलचित्र, प्लट उनीहरूकै वरपर घुमेको हुन्छ र ती महिला पात्र पाठक वा दर्शकको प्रिय पात्रका रूपमा रहिरहन्छन्। 

द सेन्टर फर द स्टडी अफ वुमन इन टेलिभिजन एन्ड फिल्मले गरेको एक अध्ययनले सन् २०१६ मा महिला पात्र प्रमुख रहेका चलचित्र निकै चलेको देखाएको छ । धेरै चलेका सय चलचित्रमध्ये २९ प्रतिशत चलचित्रमा प्रमुख पात्र महिला रहेका छन् । यो सन् २०१५ को तुलनामा सात प्रतिशतले बढी थियो। 

सन् २०१६ को डिसेम्बरमा रिलिज भएको रग वन : अ स्टार वार्स स्टोरी चलचित्रमा पनि प्रमुख भूमिका महिलाको थियो । बक्स अफिसमा एक अर्बभन्दा बढी अमेरिकी डलर व्यापार गरेको यस चलचित्रले पछिल्लो समय महिला पात्र कति प्रिय बन्दै गएका छन् भनेर देखाउँदै गएको छ। 

२० मिलियन अमेरिकी डलर लगानीमा बनाइएको महिला नै शीर्ष भूमिकामा रहेको अर्को चलचित्र हो, ब्याड मम्स । यसले बक्स अफिसमा एक सय ७९ मिलियन अमेरिकी डलरको व्यापार ग¥यो । यसको सिक्वेल समेत बन्दै छ । 
शीर्ष भूमिकामा महिला रहेका चलचित्र दर्शकका प्रिय हुँदै जाँदा विधागत हिसाबमा भने अझै पनि असमानता देखिन्छ । महिलाको प्रमुख भूमिका अझै पनि कमेडी, नाटकीय, हरर र एनिमेसन चलचित्रमा बढी देखिन्छ भने एक्सन चलचित्रमा अलि कम नै । त्यसो त, महिला निर्देशकको संख्या पनि कम छ।

इक्वल इम्प्लोयमेन्ट अपच्र्युनिटी कमिसनले स्टुडियोहरूले महिला निर्देशकलाई भेदभाव गरेको आरोप लगाएको छ। साथै, हलिउडले अझै पनि प्रमुख भूमिकामा सेतो छाला भएका महिलालाई प्राथमिकतामा राख्ने गरेको पनि जनाएको छ। एसियाली पात्रहरूको वृद्धि ६ प्रतिशत भएको छ भने कालो छाला भएका महिला पात्रको वृद्धि १४ प्रतिशतले भएको कमिसनले गरेको अध्ययनले देखाएको छ । हिस्पानिक महिलाको संख्या भने तीन प्रतिशतले घटेको देखाएको छ।

सन् २०१७ महिला प्रमुख पात्रको वर्ष 
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत सन् २०१७ लाई ‘वुमन प्रोटागोनिस्ट एयर’ भनेर लेखेका छन् । २०१७ हलिउडमा महिलाको वर्ष भएको छ । धेरै बलिया महिला प्रमुख पात्र भएका कति चलचित्र यो वर्ष रिजिल भइसकेका छन् । सुपरहिरो फेन्टासी भएका वोन्डर वुमनदेखि किलिङ मार्गरेटजस्ता ऐतिहासिक चलचित्रले महिलालाई बलियो र प्रमुख पात्रका रूपमा चित्रण गरेको छ। 

गत जुनमा रिलिज भएको वोन्डर वुमन चलचित्र धेरैका लागि बहुप्रतीक्षित थियो । नेपालका फिल्म हलमा पनि हप्तौँसम्म चलेको यो चलचित्रको कथा एक आइकनिक महिला सुपरहिरोको वरपर घुमेको छ । अहिले एकदमै मनपराइएकी इजरायली नायिका गल गेडटले एक राजकुमारीको भूमिका निर्वाह गरेकी छन्, जो संसारको अन्वेषण गर्न निस्कन्छिन् र ब्रह्माण्डकै सबैभन्दा ठूलो हिरो बन्छिन्। 

सन् २०१७ मा चर्चित बनेको अर्को चलचित्र ब्युटी एन्ड द बिस्ट हो । एनिमेटेड लाइभ एक्सनमा प्रमुख भूमिकामा छन्, इमा वाट्सन । यो चलचित्र पुरानो परी कथामा आधारित छ । यसमा एउटा सुन्दरी महिलालाई एक विचित्रको राजकुमारले बन्दी बनाउँछ । राजकुमारको डरलाग्दो रूप भए पनि उसलाई ती सुन्दरीले माया गर्न थाल्छिन् । चलचित्रमा ती सुन्दरीको बुद्धिमता, न्यानोपना, स्वतन्त्र इच्छा धेरै युवतीका लागि नमुना बनेको थियो । गत मार्चमा रिलिज भएको यो चलचित्रले नेपाली दर्शकलाई पनि लामो समय हलसम्म तानेको थियो। 

गत अगस्टमा रिलिज भएको किलिङ मार्गरेट चलचित्र असिरियन गुरिल्ला लडाकु मार्गरेट जर्जको जीवनकथामा आधारित छ । मार्गरेटले स्वतन्त्रताका लागि संघर्ष गरिन् र कुर्दिस पेसमर्गामा आबद्ध भई इराक सरकारविरुद्ध युद्धको नेतृत्व लिइन् । उनको चाँडै मृत्यु भयो, जुन अझै पनि एउटा रहस्य बनेर रहेको छ । यो ऐतिहासिक चलचित्रमा पनि प्रमुख पात्रका रूपमा महिला राखिएको छ र उनको भूमिका एकदमै बलियो छ। 

आगामी डिसेम्बरमा रिलिज हुन लागेको चलचित्र ‘पिच पर्फेक्ट थ्री’ले पनि एक महिला कलाकारलाई प्रमुख पात्र बनाएको छ । म्युजिक कमेडी फ्रेन्चाइजका रूपमा आउन लागेको पिच पर्फेक्टको दुई संस्करण यसअघि नै रिलिज भइसकेका छन् र निकै चर्चा पनि बटुलिसकेका छन्। 

क्रिस्टल केल्सको उपन्यासलाई चलचित्रका रूपमा विकास गरिएको ‘इन द गार्डेन’ चलचित्रमा एक पक्षघात भएकी महिलाको कथा छ । आगामी डिसेम्बरमै रिलिज हुन लागेको यो चलचित्रमा उनले विभिन्न बाधा अवरोध, क्षति र वियोगका बाबजुद पनि कसरी वीरतापूर्वक आफ्नो विश्वास राख्छिन् भन्ने देखाइएको छ। 

गत मार्चमा रिलिज भएको गोस्ट इन द सेल चलचित्र स्कारलेट जोनासनको अर्को हाई प्रोफाइल एक्सन चलचित्र हो । यसमा उनले एक महिला प्रहरीको भूमिका निर्वाह गरेकी छन्, जसले एकजना एकदमै अधम कम्प्युटर ह्याकरलाई कारबाही गर्ने दृढता देखाएकी हुन्छिन् । यो चलचित्र मासामुन साइरोको चर्चित म्याग्नामा आधारित छ । स्नो ह्वाइट एन्ड द हन्ट्सम्यानका निर्देशक रुपर्ट स्यान्डर्सले निर्देशन गरेको यो चलचित्रमा जोनासनलाई प्रमुख पात्र बनाइएको छ । उनलाई माइकल पिटले अभिनयमा साथ दिएका छन्। 

आगामी नोभेम्बरमा ओस्कार विजेता जेनिफर लरेन्सको अभिनय रहेको चलचित्र रेड स्पारो रिलिज हुँदै छ । लरेन्सले यसमा एउटा चुनौतीपूर्ण भूमिका निर्वाह गरेकी छन् । रसियाली गुप्तचर अधिकारीको भूमिकामा रहेकी उनले सिआइएको एजेन्टका रूपमा अभिनय गरेका जोल इड्गर्सनलाई बहकाउँछिन् । ती एजेन्टले संवेदनशील रसियन गुप्त सूचनाको प्रवाह सम्हाल्ने गर्छन् । यी दुई अधिकारी वरपर घुमेको यो चलचित्रको कथामा लरेन्स प्रमुख पात्रको रुपमा छन् । 
यीबाहेक पनि हलिउडमा महिलालाई प्रमुख र शक्तिशाली पात्रका रूपमा चित्रण गरिएका अन्य चलचित्र पनि बनिरहेका छन् । यसबाहेक टेलिभिजन सोहरूमा पनि महिलालाई नै शक्तिशाली रुपमा चित्रण गर्न थालिएको छ । 

बलिउडमा महिला पात्र
चलचित्रले पुरुषलाई नायक बनाएर परम्परागत रुपमा प्रस्तुत गर्ने गर्छन् । चाहे स्क्रिनमा होस् वा ज्यालाको कुरामा, महिला प्रायः तल्लो दर्जाको रूपमा प्रस्तुत हुने गर्छन् । अब बिस्तारै हिन्दी फिल्ममा महिलाका संघर्ष, उत्पीडन बाहिर आउँदै छन् । पुरुष हिरोको सहायक बनेर वर्षौं बिताएको महिला समाजले अहिले आफ्नै काँधमा फिल्म बोक्न थालेका छन् । पछिल्ला केही वर्ष थुप्रै यस्ता फिल्म आए, जसले समीक्षकको ताली त पाए नै, व्यापार पनि उम्दा गरे । विभिन्न अवार्ड हात पारे । फलस्वरूप महिला केन्द्रित फिल्मको संख्या बढ्दै गयो । ‘लिपस्टिक अन्डर माई बुर्का’ त्यसकै निरन्तरता हो । यो फिल्ममा एउटा पुरुषप्रधान समाजमा दबिएर बसेका केही महिलाको कथा बोकिएको छ । उनीहरूका इच्छा, कल्पना, कुण्ठालाई कलात्मक शैलीले देखाइएको छ । अप्रगतिशील समाजमा महिलाभित्र पलाउने इच्छा र विद्रोह नै यसको कथानक हो। 

हलिउडले २०१७ लाई सशक्त ‘वुमन प्रोटागोनिस्ट एयर’ भने पनि बलिउडमा केही वर्ष अघिदेखि नै महिलालाई प्रमुख पात्र बनाइएको चलचित्र निर्माण भइरहेका छन्। 
जसमा अनेक व्यवधानसँग लड्दै महिलाले स्वतन्त्रता र समान व्यवहारको माग गरेका छन्। 
महिलाकेन्द्रित चलचित्रको ट्रेन्ड भने केही वर्ष अघिदेखि मात्र आएको हो । पछिल्लो दशक बलिउडमा पनि सशक्त र प्रमुख महिला पात्र रहेका चलचित्र बन्न थालेका छन् । मदर इन्डियामा नार्गिस हुन् वा एनएच टेनकी अनुष्का शर्मा, सशक्त पात्रका रुपमा देखिएका छन्।

अनुष्का शर्माको पहिलो प्रोडक्सन भेन्चर एनएच टेनमा उनले आफूलाई सशक्त महिला पात्रको रूपमा प्रस्तुत गरेकी छन् । उनले एनएच टेनमा आफूलाई उनको सम्बन्धमा अधिकार खोज्छिन्, आफूलाई बचाउँछिन् र आफ्नो भविष्यका लागि लड्छिन् । त्यस्तै, हिन्दी चलचित्र मर्दानीमा रानी मुखर्जीले सशक्त र दृढ प्रहरी इन्सपेक्टरको भूमिका निभाएकी छन् । भारतीय समाजमा महिलाको स्थान पुरुषको भन्दा निकै तल छ । चलचित्र मर्दानीमा रानी मुखर्जीको भूमिकाले धेरै महिलालाई प्रेरणा दिएको छ।

त्यस्तै, इंग्लिस भिंग्लिसमा श्रीदेवीको भूमिका सशक्त छ । यो चलचित्रले श्रीदेवीलाई स्क्रिनमा पुनरागमन मात्र गराएन, परम्परागत शैलीमा बनेको बलिउड चलचित्रभन्दा फरक चरित्र स्थापित ग¥यो । एक गृहिणीको भूमिकामा रहेकी श्रीदेवीले अंग्रेजी सिक्नका लागि गरेको संघर्ष र आफूले चाहेको कुरा प्राप्त गर्न लागिपरेको अनुभवले चलचित्रमा एक दृढ महिला पात्रलाई उजागर गरेको छ। 

चलचित्र कहानीमा विद्या बालनले खेलेको भूमिका पनि प्रशंसनीय र अद्वितीय छ । यो चलचित्रमा बालनले एक गर्भवती महिलाको भूमिका निर्वाह गरेकी छन्, जो आफ्नो श्रीमान्को खोजी गर्दै भारत आउँछिन् । तर, चलचित्रको अन्तसम्म कथाले उनलाई एक बलियो महिला बनाउँछ। 

कंगना रनावतले प्रमुख भूमिका निर्वाह गरेको चलचित्र क्विन एक्लै यात्रा गर्न मनपराउने धेरैका लागि एउटा नमुना चलचित्र हो । विवाह गर्ने तयारी गरेकी कंगना एक निर्दोष युवती उनको ब्वायफ्रेन्डले छाडेपछि कसरी स्वच्छन्द बन्छिन् र आफैँ यात्रा गर्न थाल्छिन् । यो चलचित्रमा उनले देखाएको बोल्डनेस धेरै युवतीका लागि प्रेरणा पनि बनेको छ । त्यस्तै, गुलाब ग्याङमा माधुरी दीक्षितले खेलेको भूमिका पनि निकै सशक्त छ । यसमा उनले घरेलुहिंसा र दाइजो प्रथाविरुद्ध लड्ने गाउँले महिलाको भूमिका निभाएकी छन्। 

बलियो र सशक्त महिला भूमिका रहेको बलिउड चलचित्रको कुरा गर्दा मदर इन्डियामा नर्गिसको भूमिका उल्लेख नगर्दा अपुरो हुन्छ । सामाजिक र बलिउड नियमभन्दा फरक रहेर उनले आफ्नो सिद्धान्तसँग सम्झौता नगर्ने आमाको भूमिका निभाएकी छन् । चलचित्रमा उनले आफ्नो छोरा डाँकु भएपछि उसलाई नै मार्छिन्। 

यसबाहेक हाइवे चलचित्रमा आलिया भट्ट, लज्जामा मनिषा कोइराला र माधुरी दीक्षित, अस्तित्वमा तब्बुको भूमिका पनि प्रमुख महिला पात्रको रूपमा सशक्त र बलियो बनेको छ। 

साहित्यमा प्रमुख महिला पात्र
महिलालाई प्रमुख पात्र बनाएर पहिले कमै मात्र साहित्य सिर्जना हुन्थ्यो । इतिहासको लामो कालखण्डसम्म महिला पात्र मात्र होइन महिला लेखक समेत समाजमा स्थापित हुन सकेनन् । कालान्तरमा महिलालाई प्रमुख पात्रको रूपमा प्रस्तुत गर्ने क्रम पनि बढ्दै गयो र यसले साहित्यको क्षेत्रमा नयाँ र ताजा तरंग ल्यायो । महिलालाई नायक बनाइका कृतिमा उनीहरू वीर, नवीनतम, शक्तिशाली र उत्तम देखिएका छन्। 

मेलिसा स्क्रिन्भर लभले आफ्नो उपन्यास लोलामा लोला नामकी प्रमुख पात्रलाई सशक्त रूपमा प्रस्तुत गरेकी छन् । लोला दक्षिण केन्द्रीय लस एन्जेल्समा बस्छिन् । बिस्तारै उनी एउटा सानो तर शक्तिशाली ग्याङ क्रेनस सिक्समा सहभागी हुन्छिन् । बारम्बार उनको क्षमतालाई अवमूल्यन गरिन्छ ।  धेरै पुरुषभन्दा धेरै स्मार्ट, मेहनेती र निर्दयी भए पनि सुरुमा उनी निष्क्रिय हुन्छिन् । बिस्तारै उनको बोल्ड भूमिका देखिन थाल्छ । उनी पुरुषको संसारको नेतृत्व लिन थाल्छिन् । जब ग्याङले गहिरो समस्या भोग्छ, उनको सीप र नेतृत्व मात्र त्यो समस्या समाधानको एक मात्र आशा बन्छ। 

न्युयोर्क टाइम्सले बेस्टसेलरको उपाधि दिएको द गर्ल अन द ट्रेनका लेखक पौला हकिन्सको मनोवैज्ञानिक थ्रिलर उपन्यास इन्टु द वाटरमा पनि महिलालाई मुख्य पात्र बनाइएको छ । यसमा एउटी महिला नदीको किनारमा मृत भेटिन्छिन्, उनकी १५ वर्षीया छोरी उनकी सानिआमा जुलिजको हेरचाहमा लाग्छिन् । यसै क्रममा धेरै गोप्यता सार्वजनिक हुँदै जान्छन् । जव जुलिजको बहिनी नदीमा डुबेकी हैनिन् भन्ने पत्ता लाग्छ । यसमा पनि महिलालाई प्रमुख पात्रको रुपमा प्रस्तुत गरिएको छ।

त्यस्तै गेल हनीम्यानको उपन्यास ‘इलेनर ओलिफेन्ट इज कम्प्लिट्ली फाइन’मा इलेनर ओलिफेन्टलाई अरुसँगको सामाजिकीकरणमा कठिनाई महसुस गर्छिन् । उनले आफू एक्लै बस्दा नै सन्तुष्ट महसुस गर्छिन् । सप्ताहन्तमा उनले चिस्याइएको पिज्जा, भोड्का खाएर बस्न रुचाउँछिन् र आफ्नो आमासँग फोनमा कुरा गर्छिन् । जब उनले रेमन्डलाई भेट्छिन्, सबै कुरा परिवर्तन हुँदै जान्छ । रेमन्ड उनको कार्यालयमा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवक हुन्छ, जसलाई सरसफाइसँग सम्बन्धित प्रश्न राख्न थाल्छ । इलेनरले बिस्तारै आफूलाई कहिले थाहा नभएको कुरा थाहा पाउन थाल्छिन् । यो उपन्यासमा पनि इलेनर र उनको भोगाइको कहानी प्रस्तुत गरिएको छ। 

एन किड टेलरले लेखेको उपन्यास द सार्क क्लब पनि महिला पात्र वरपर घुमेको छ । एक समरको दिन फ्लोरिडाको सामुद्रिक किनारमा मेभी डोनलीको जीवनमा दुइटा अचम्मका घटना घट्छन् । पहिलो, क्रस डेनियलले उनलाई चुम्बन गर्छन् । दोस्रो, उनलाई एउटा कालो टाउको भएको सार्कले टोक्छ । त्यो घटनापछि भने मेभी समुद्रदेखि डराउँदिनन् । १८ वर्षपछि, उनी विश्व भ्रमण गर्ने निडर मेरिन बायोलोजिस्ट बन्छिन्, जसले सार्कबारे नबुझेका कुरा पत्ता लगाउन चाहन्छिन् । उनी त्यही लक्ष्यमा घुम्न थाल्छिन् । मेभी सधैँ निडर र आत्मविश्वासी पात्रको रूपमा चित्रित छन्।

प्रकाशित: ११ कार्तिक २०७४ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App