coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भन्सारको ‘सेटिङ’मै भित्रिन्छ सामान

भारतीय ट्रकमा भन्सार छलेर ल्याइएका ईलेक्ट्रिकल मेसिन । तस्बिर: नागरिक

नेपालगन्ज- करिब २० लाख मूल्य बराबरको ईलेक्ट्रिकल मेसिन बोकेको यूपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रक शनिबार बेलुका साढे ७ बजेतिर भन्सार पास नगराएरै नेपालगन्ज भित्रियो। प्रत्यक्षदर्शीका अनुसार शनिबार दिउँसो भन्सार नजिक रोकिएको उक्त ट्रक बेलुका भएपछि चेकपोष्ट पार गरेको थियो। लाखौं मूल्य पर्ने सामान भन्सार नगरेर भित्रिएको सुईको पाएपछि पुगेको प्रहरीले ट्रकलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पस नजिकबाट नियन्त्रणमा लियो। भन्सार कार्यालय सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिव आधा दर्जन सुरक्षा पोष्ट पार गरेर सहज रुपमा भित्रेको उक्त ट्रकलाई संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जले नियन्त्रणमा लिएको हो।

कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक महेशविक्रम शाहका अनुसार उक्त ट्रकमा रहेको मेसिन नेपालगन्जस्थित दुर्गेश्वरी इन्टरप्राईजेजको रहेको खुलेको छ । ‘संलग्न व्यवसायीको नाम पत्ता लागेको छैन, फोन नम्बर छ, तर मोबाईल अफ छ,’ एसएसपी शाहले भने । ट्रकले भारतीय कस्टममा ईन्ट्री गरेपनि सामान अनुसार बिलमा मूल्य नभएको उनले बताए। ‘भन्सारको बाटो हुँदै चौलिका चोकलाई क्रस गरेर ट्रक माथी आएको छ,’ एसएसपी शाहले भने ‘यसलाई भन्सार कार्यालयले रोक्नुपर्ने हो, रोकेको पाइएको छैन, यसमा लापरबाही भएको देखिन्छ ।’ सामान लोड गरेर आएको ट्रकलाई भन्सारले यसरी छाड्दा राज्यको राजश्व गुम्ने उनले बताए। नियन्त्रणमा रहेको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागी प्रहरीले राजश्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाएको छ। 

      उता भन्सार कार्यालय प्रमुख जनार्दन आचार्यले भन्सार नतिरेर प्रवेश गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको सुनेको बताएका छन्। ‘म कहाँ डिटेलमा आएको छैन,’ आईतबार नागरिकसँग भने ‘यसको छानविन गर्न एउटा टोली बनाएको छु ।’ ट्रकले कसरी चेकपोष्ट पार गर्‍यो भन्ने विषयमा अनुसन्धान गरिने भन्सार प्रमुख आचार्यले बताए। जाँचपास नगरेरै ट्रक भित्रिएकोमा आश्चर्यता प्रकट गरे। उनका अनुसार कार्यालयले मेसिन आयातमा ४ प्रतिशत भन्सार लिन्छ । ‘यो ठूलो रकम होईन, लगभग ७० हजार बराबरको भन्सार लाग्थ्यो,’ उनले भने । सर्वसाधारणलाई कडाई गर्ने कार्यायलले पटक–पटक ठूला व्यवसायीको सामान बिना भन्सार ‘सेटिङ मिलाएर’ भित्र्याएको भन्दै स्थानीयस्तरमा व्यापक आलोचना हुने गरेको छ । यस्तो घटना नेपालगन्ज भन्सारमा नौलो भने होईन्।

      गत असोज अन्तिम साता भन्सार कार्यालयले भारतबाट ल्याउँदै गरिएको ठूलो परिमाणको मासु ट्रक सहित बरामद गर्‍यो । एचआर ५५ एन ५२४० नम्बरको भारतीय ट्रकमा लोड गरिएको १५ मेट्रीक टन मासु झुठो कागजात पेश गरेर नेपालगन्ज प्रवेश गराउन लागेको भन्दै कार्यालयले बरामद गरी नष्ट गरेको थियो । केही समयपछि भने घटनाको तथ्य फरक आयो । स्रोतका अनुसार मासु आयात गर्ने व्यवसायी र भन्सार कर्मचारीबीच रकममा कुरा नमिलेपछि ट्रकलाई रोकेर मासु नष्ट गरिएको थियो ।

      करिव १० महिना अघिपनि ‘कनिका’को नाममा एक ट्रक चामल भित्रेको तथ्य बाहिर आएको थियो । भन्सार पार गरी आएको युपी २२ सी ९८०४ नम्बरको ट्रक पल्टिएपछि ट्रकमा कनिका नभएर चामल फेला परेको थियो । यसमा पनि भन्सार कर्मचारीकै सेटिङ रहेको स्रोत बताउँछ। चामल बोकेर आएको उक्त ट्रकले नेपालगन्ज भन्सार कार्यालयमा कनिकाको राजश्व तिरेको थियो । कनिका र चामल चार/चार सय बोरा रहेकोमा व्यवसायीले ८ सय बोरा कनिकाको भन्सार तिरेका थिए। नेपालगन्जस्थित अंशु ट्रेडिङले कनिकाको नाममा चामल भित्र्याएर ६० हजार ९ सय १० रूपैयाँ राजश्व तिरेको भन्सारको अभिलेख छ। पटक–पटक भन्सारमा हुने गरेका यस्ता गतिविधीबारे सम्बन्धित निकाय बोल्न चाहँदैनन्।

 

 

प्रकाशित: १२ कार्तिक २०७४ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App