coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

वाह ! नेपाल प्रेम ...

सोल (दक्षिण कोरिया)- राजधानी सोलस्थित चारतले घर। प्रवेशद्वारदेखि हरेक कोठामा नेपाली कला र संस्कृति झल्कने सजावट। र्‍याकमा नेपाली किताब, टेबुलमा हुलाक टिकट, भित्ताभरि पोस्टर अनि ग्यालरीमा नेपाली चित्र।

यो घर कोरिया बस्दै आएका कुनै नेपाली साहित्यकार वा कलाकारको भने होइन। यो घर हो– डा. री कुङ होको जो कोरियाली डाक्टर हुन् र नेपालसँग औधी माया साध्छन्।

'यी सबै नेपालको मायाका प्रतीक हुन्,' उनले भने, 'मैले जे गरिरहेको छु, त्यो नेपाल चिनाउनकै लागि हो।'

सन् १९८२ मा ४९ वर्षको उमेरमा नेपाल टेकेका उनी नेपालप्रति यति लोभिए कि त्यसपछिको सम्पूर्ण जीवन नेपालको शिक्षा, स्वास्थ्य र प्रचारप्रसारमै बिताइरहेका छन्।

'मैले नेपाल चिनाउन आफ्नो जीवनकालमा १० वटा पुस्तक प्रकाशित गर्ने अठोट गरेको छु,' उनले भने, 'आधा दर्जनभन्दा बढी लेखिसकेँ, अरू पनि लेख्दै छु।' ८० वर्ष नाघिसके पनि उनको सक्रियता उस्तै छ।

१९८२ मा हिमाल चढ्न गएका कोरियालीको समूहमा उनी डाक्टरको भूमिकामा थिए। उनलाई नेपालबारे धेरै जानकारी थिएन। 'नेपाल हिमाल मात्रै भएको देश होला भन्ने लागेको थियो,' पहिलोपटक नेपाल टेक्दाको अनुभव उनी सुनाउँछन्, 'नेपाल त प्राकृतिक स्रोत र साधनले धनी रहेछ, त्यहाँ पुगिसकेपछि कोरिया फर्कनै मन लागेन।' हिमाल चढेर उनका साथी घर फर्के। उनीचाहिँ  लामो समय नेपालै बसे। 

 नेपाल घुम्दै गर्दा सगरमाथा आरोही एडमन्ड हिलारीसँग उनको भेट भयो। हिलारी त्यति बेला अस्पताल बनाइरहेका थिए। त्यही देखेर होलाई पनि नेपालमै बसेर काम गर्ने हौसला मिल्यो। 'सन् १९८६ देखि नेपालका ग्रामीण क्षेत्रमा छारे रोगको उपचार सुरु गरेँ,' उनले भने।

चार वर्षसम्म डा. होले हजार बिरामीका लागि प्रत्येक वर्ष औषधि पठाए। औषधिले मात्रै नहुने देखिएपछि चेकजाँचका लागि अस्पताल पनि आवश्यक महसुस भयो। दोलखामा सन् १९८९ मा १० शऒ्ढयाको अस्पताल सुरु भयो। औषधि, जनशक्ति सबै कोरियाबाटै उपलब्ध हुन्थ्यो।

डा. होले बाग्लुङ, विराटनगर, जनकपुर, कपिलवस्तुलगायत ठाउँमा पनि स्वास्थ्यशिविर चलाए। नेपालमा जबसम्म सक्रियतापूर्वक स्वास्थ्यसेवामा लागे, त्यति बेलासम्म उनी कोरियामा सरकारी जागिरे थिए। 'वर्षमा दुईपटक अस्पतालका साथी र आफूले पढाइरहेका विद्यार्थी लगेर मेडिकल क्याम्प चलाउने गर्थें,' उनले भने, 'जागिर सकिएपछि यो क्रम पनि रोकियो।'

होले २००१ बाट नेपालको संस्कृति र कलाकारिता कोरियामा चिनाउन 'फेमिली एकेडेमी' सञ्चालनमा ल्याए। 'यसको उद्देश्य नेपाली चित्रकारका चित्र कोरियामा प्रदर्शनी, नेपालको कलासंस्कृति प्रचार–प्रसार गर्नु हो,' उनले भने, 'यसबाट भएको आम्दानीको केही अंश अहिले पनि नेपाल छारे रोग संघलाई उपलब्ध गराइरहेका छौं।'

 

१९९० मा डा. हो दोलखामा स्वास्थ्यशिविर सकेर काठमाडौंको एक होटलमा बसिरहेका बेला 'सेतो बाघ' का लेखक डायमनशमशेर राणा उनलाई भेट्न पुगे। 'हामीले उहाँको छोराको उपचार गरिदिएका थियौं, धन्यवाद भन्न आउनुभएको थियो,' उनले भने, 'त्यही बेला मलाई उपहारस्वरूप यो किताब दिनुभएको थियो।'

नेपाली भाषा नआउने भए पनि उपहारप्राप्त किताब उनले दोभासेमार्फत पटक–पटक पढे। नेपालको इतिहास तथा राजतन्त्रबारे जान्न उनले किताब कोरियाली भाषामा प्रकाशित पनि गरे।

  सन् २०१३ मा उनी  नेपाल पुग्दा डायमनशमशेर अस्पतालको शऒ्ढयामा थिए। उनले त्यहीँ पुगेर 'सेतो बाघ' अनुवादका लागि अनुमति मागे। 'अनुवादका लगभग सबै तयारी गरेको थिएँ, अनुमति पाएपछि कोरिया फर्केर २०१४ मा सेतो बाघलाई कोरियन भाषामा प्रकाशित गरेँ।' नेपालमै किताब विमोचन गर्ने सोच बनाए पनि राणाको निधन भइसकेकाले त्यो सम्भव नभएको उनले बताए।

सेतो बाघको विषय जटिल भए पनि पाठकले रुचाएको उनको अनुभव छ। उक्त किताबको दोस्रो संस्करण पनि प्रकाशन गर्ने तयारीमा छन् उनी।

 कोरियाली भाषामा उनले आधा दर्जन पुस्तक प्रकाशित गरेका छन्। सन् २००९ देखि नियमित रुपमा नेपालसम्बन्धी पुस्तक प्रकाशित गर्दै आएका छन्। उनले २००९ मा एकै वर्ष तीन पुस्तक प्रकाशित गरे। त्यस वर्ष उनले 'नेपाल स्ट्याम आइकन एन्ड सर्ट एस्सेज', 'दि स्पिरिट अफ हिमालयन' र 'वाह! सुन्दर नेपाल' प्रकाशित गरेका थिए।

डा. होले सन् २०१० मा 'दि एस्से अफ बुद्धज् फोर होली प्लेस' नामक किताब लेखेर बुद्ध भारतमा जन्मेको भन्ने भ्रम हटाउन कोसिस गरेको बताए। उक्त पुस्तकमा बुद्ध जन्मेको, ज्ञान प्राप्त गरेकोलगायतका चार ठाउँबारे व्याख्या गरिएको छ। डा. होले हालै नयाँ पुस्तक प्रकाशित गरेका छन्। दी हिमालयन्स अन नेपाली स्ट्याम्प नामक पुस्तकमा नेपाल सरकारले अहिलेसम्म निकालेका हिमालसम्बन्धी हुलाक टिकट संलग्न छन्।

पुस्तकको एउटा पानामा हुलाक टिकटबारे जानकारी दिइनुका साथै अर्को पानामा उनले लेखेका हिमाली कथा समावेश छन्। उनले यो पुस्तकमा एडमन्ड हिलारीलाई भेटेदेखि आफूले काम गर्दाका अनुभव पनि लेखेका छन्। यही किताबबाट दुई साताअघि फिलाटेलिक एसोसिएसन कोरियाले उनलाई पुरस्कृत गर्‍यो। सोल सिटी प्रदर्शनीमा प्रथम भयो।

उनी अहिले नयाँ किताबको तयारीमा छन्। नयाँ कृति नेपालको शाहवंशीय इतिहाससँग सम्बन्धित छ। पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास, उनीहरूले गरेका काम, दरबारभित्र हुने द्वन्द्व समेटेर किताब प्रकाशित गर्न लागिएको उनले जानकारी दिए।

प्रकाशित: १८ श्रावण २०७३ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App