८ वैशाख २०८१ शनिबार
राजनीति

धनुषा–३ मा राजेन्द्र महतोलाई रोक्न निधिको प्रयास

काठमाडौं— चुनाब तालमेलका लागि नेपाली काँग्रेस–राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको प्रयास असफल भएपछि राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रतिनिधिसभाका लागि धनुषा–३ वाट उम्मेदवारी दिने निश्चित भएको छ। गएराति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेससँग कुराकानी नमिलेपछि महतो धनुषा–३ बाट उठ्ने पक्का भएको हो।

उम्मेदवारी दर्ता गराउनका लागि महतो भोली जनकपुर जाँदैछन्।

‘राजेन्द्रजी धनुषा–३ बाट लड्ने  निश्चित भएको छ। अन्य उम्मेदवारबारे अन्तिम निर्णय लिन बैठक जारी छ’, राजपाका महामन्त्री जितेन्द्र सोनालले भने। उनका अनुसार राजपा अध्यक्ष मण्डलका सबै ६ जना अध्यक्ष प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुने तय भएको छ।

‘प्रदिपजीले विहानै फोन गरेर महतोजीलाई धनुषा–३ बाट नउठनुहोस, बरु धनुषा–४ बाट उठनुहोस, त्यहाँ कांग्रेसले उम्मेदवारी दिँदैन भन्नुभयो। महतोजीले धनुषा–३ बाट लड्ने निर्णयमा पुगिसकेको छु। तपाइँको प्रस्ताव ढिलो भयो भनेर जवाफ दिनुभयो।’

राष्ट्रिय सभामा थन्काउने प्रयास
मंगलवार राती बालुवाटार बैठकमा काँग्रेस नेता निधिले आफ्नो क्षेत्र धनुषा–३ बाट चुनाव लड्ने तयारीमा रहेका महतोलाई उक्त क्षेत्र छाडन आग्रह गरेका थिए। जवाफमा महतोले उक्त क्षेत्र निधिका लागि छाड्न आफू तयार रहेको तर त्यसको बदला सर्लाही–४ मा कांग्रेसले उम्मेदवारी दिन नहुने सर्त राखेका थिए। उक्त क्षेत्रबाट काँग्रेसका अमरेशसिंह उठ्ने निश्चित भइसकेको छ। महतोको सर्त मान्न निधि तयार भएनन्। ‘आफू पनि लड्ने र अमरेश पनि चुनावमा प्रत्यक्षतर्फ लडने भन्दै निधिजीले महत्तोजीलाई राष्ट्रिय सभा जान भन्नुभयो, त्यसपछि बालुवाटारमा चर्काचर्की भयो’, बैठकमा उपस्थित एक नेताले नागरिकन्युजसँग भने।

महतोले चाहेका दुवै क्षेत्रमा उठ्न नदिने रणनीतिमा काँग्रेस नेता देखिएपछि बैठक असहज बन्न पुगेको उनले बताए। राति करिब १० बजे बालुवाटारबाट निस्कनु अगाडि महतोले काँग्रेस नेताहरुलाई आफू धनुषा–३ बाटै चुनाब लड्ने जानकारी दिएका थिए।

काँग्रेससँग तालमेल भाँडिएको अवस्थामा बुधबार बिहानै राजपाको उम्मेदवार चयनको बैठक बसेको थियो। प्रदेश नम्बर २ का उम्मेदवार चयन गर्न बसेको बैठकमा अचानक काँग्रेस नेता प्रदिप गिरीले फोन गरी महतोलाई पुनः धनुषा–३ बाट उम्मेदवार नबन्न आग्रह गरेका थिए। राजपका एक नेताका अनुसार काँग्रेस नेता गिरीको अनुरोध महतोले अस्वीकृत गरिदिए।

‘प्रदिपजीले विहानै फोन गरेर महतोजीलाई धनुषा–३ बाट नउठनुहोस, बरु धनुषा–४ बाट उठ्नुहोस, त्यहाँ कांग्रेसले उम्मेदवारी दिँदैन भन्नुभयो। महतोजीले धनुषा–३ बाट लड्ने निर्णयमा पुगिसकेको छु। तपाइँको प्रस्ताव ढिलो भयो भनेर जवाफ दिनुभयो।’

धनुषा–३ काँग्रेस नेता निधिको गृह क्षेत्र हो। त्यहाँ उनी तुलनात्मक रुपमा बलियो नै मानिन्छन्। राजपा नेता महतो जानासाथ उनले निधिका भोट काट्ने सम्भावना प्रवल छ। त्यसमाथि बाम गठबन्धनले सो क्षेत्रबाट उम्मेदवारी घोषणा नगरी कसैलाई समर्थन गरेर जाने रणनीति बनाएको छ। बाम गठबन्धनको मत निधिलाई नजाने निश्चित छ। तालमेल गरे बाम गठबन्धनका भोट महतोले पाउने सम्भावना प्रवल छ।

गत स्थानिय चुनावमा एमालेका मतदातालाई लखेट्ने जस्तो असहिष्णु व्यवहार गरेको आरोप निधिमाथि छ। त्यही भएर पनि बामपन्थी गठबन्धनको मत निधिले पाउने स्थिति छैन। ‘एमाले समर्थक मतदाताले कुनै पनि हालतमा निधिलाई भोट हाल्दैनन, त्यो भोट कि महताेजीलाई जान्छ कि कांग्रेसवाट आउने स्वतन्त्र उम्मेदवारलाई जान्छ,’ एक एमाले नेताले भने।
 

प्रकाशित: १५ कार्तिक २०७४ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App