८ वैशाख २०८१ शनिबार
अन्य

बहुदलीय डनवाद

चिनियाँ कम्युनिस्ट पार्टीमा एकाएक ठूलो परिवर्तन आएछ । हालै सम्पन्न पार्टीको कंग्रेसले यस्तो परिवर्तन ल्याएको हो । चीनले अब संसारमा यस्तो समाजवाद ल्याउँदै छ, जो पूरै चिनियाँ विशेषता सहितको हुनेछ । चिनियाँ कम्युनिस्ट पार्टीले अत्यन्त गहन चिन्तन, मन्थनपछि उक्त समाजवादको नामाकरण गरेको छ– चिनियाँ विशेषता सहितको समाजवाद । 
चीनमा चिनियाँ विशेषता सहितको समाजवाद आएपछि नेपालमा चाहिँ कस्तो समाजवाद आउँदै छ त ? के हाम्रा समाजवादीले यसबारे कुनै चिन्तन गरेको छ ? म यसबारे सोच्दै नै थिएँ कि अचानक मेरो घरमै एक ठूला समाजवादी नेताको प्रवेश भयो ।

‘अभिवादन है मित्र, के छ हालखबर ?’ दुई हात जोड्दै उहाँ सरासर भित्रै प्रवेश गर्नुभयो। ‘ओहो ! आज के भएछ यस्तो ? तपाईं मेरो घरमा नेताजी ?’ मैले चकितभावमा सोधेँ। तर उहाँ चकित हुनुभएन । बरु भन्नुभयो, ‘अब यस्तो बेला तपाईंको घरमा नआए कुन बेला आउने त ?’

‘एमाले विशेषता सहितको समाजवाद भनेकै यही हो । यो समाजवादमा माओवादी पनि अटाउँछ, राजावादी पनि अटाउँछ, पुलिस पनि अटाउँछ, डन पनि अटाउँछ, चोर्ने पनि अटाउँछ, चोराउने पनि अटाउँछ । समाजमा जो–जो छन्, ती जम्मै अटाउँछन् । समाजमा भएजति सबै अटाउने भएकाले नै यसलाई समाजवाद भनिएको हो ।’

म पुनः चकित भएँ, ‘यस्तो बेला भनेको कस्तो बेला नेताजी ?’
उहाँले भन्नुभयो, ‘अब यस्तो बेला भनेको चुनावका बेला नि । यसपटक म पनि उठ्दै छु, तपाईंलाई त्यही भन्न आएको नि । चुनाव चिह्न त बिर्सनुभएको छैन होला ।’

(वास्तवमा बिर्सने त नेताहरूले मात्रै हो । चुनावमा गरेका वाचा–बन्धन, आश्वासन, प्रतिज्ञा, प्रतिबद्धता जम्मै कुरा जितेपछि बिर्सन्छन् । जनताले बिर्सेका हुँदैनन् ।) 
मैले भनेँ, ‘छैन छैन नेताजी, कहाँ बिर्सनु ?’
घरमा समाजवादी कम्युनिस्ट नेतै आएको मौकामा मैले पनि सोधिहालेँ, ‘नेताजी आउनुभएको पनि ठिक्क टाइममा परेछ । एउटा कुरो सोधिहालौँ है ?’

‘सोध्नुस् न सोध्नुस्, के सोध्ने हो ? यतिबेला नसोधे कुन बेला सोध्ने तपाईंहरूले,’ नेताजीले सहजभावमा भन्नुभयो ।
मैले प्रश्न राखेँ, ‘हालै चिनियाँ कम्युनिस्ट पार्टीले एउटा नयाँ खाले समाजवाद तर्जुमा गरेको त यहाँलाई थाहै होला । चिनियाँ विशेषता सहितको समाजवाद रे । के नेपालमा पनि अब यस्तै कुनै नयाँ समाजवाद आउला कि ?’
‘अहँ, त्यस्तो कुनै समाजवाद आउँदैन,’ नेताजीले तुरुन्तै जवाफ फर्काउनुभयो ।

‘किन ?’ मैले पनि तुरुन्तै प्रश्न राखेँ ।
उहाँले भन्नुभयो, ‘पार्टी एकीकरणपछि हामी नेपालकै सबैभन्दा ठूलो समाजवादी पार्टी भएका छौँ । त्यसैले अहिले हामीले ‘एमाले विशेषता सहितको समाजवाद’ प्रतिपादन गरेका छौँ ।’

‘कस्तो हुन्छ यो एमाले विशेषता सहितको समाजवाद ?’ मैले जिज्ञासा राखेँ । 
उहाँले आफ्नो समाजवादको व्याख्या गर्नुभयो, ‘एमालेजस्तो छ यो समाजवाद पनि त्यस्तै छ । नाम समाजवाद भएपछि त्यसको मुख्य आधार पनि समाज नै हुनुपर्छ भन्ने यो वादको सिद्धान्त हो । समाजमा आधारित वाद भएकाले नै यसलाई समाजवाद भनिएको हो । त्यसैले समाजमा जो–जो छन्, ती जम्मै यो समाजवादमा अट्न सकिन्छ ।’
‘जस्तो ?’

‘जस्तो कि सबै समाजमा नेता, कार्यकर्ता, डाक्टर, इन्जिनियर मात्र हुँदैन । डन हुन्छन्, गुन्डा हुन्छन्, दादा हुन्छन् । यिनीहरू पनि समाजकै एक अंग भएका कारण यो समाजवादमा यिनीहरू पनि स–सम्मान अटाउन सक्छन्,’ नेताजीले हाउभाउपूर्वक बताउनुभयो । 

म ट्वाँ परेर सुनिरहेँ । उहाँले बताउँदै जानुभयो, ‘एमाले विशेषता सहितको समाजवाद भनेकै यही हो । यो समाजवादमा माओवादी पनि अटाउँछ, राजावादी पनि अटाउँछ, पुलिस पनि अटाउँछ, डन पनि अटाउँछ, चोर्ने पनि अटाउँछ, चोराउने पनि अटाउँछ । समाजमा जो–जो छन्, ती जम्मै अटाउँछन् । समाजमा भएजति सबै अटाउने भएकाले नै यसलाई समाजवाद भनिएको हो ।’

‘पार्टीले डनलाई टिकट दिनु पनि समाजवाद हुन्छ र ? यो त डनवाद पो भयो,’ मैले हल्का प्रतिवाद गरेँ ।
‘होऽऽ तपाईंले ठीक भन्नुभयो,’ तर उहाँ उल्टो उत्साहित पो बन्नुभयो, ‘हाम्रो पार्टी अब जनवादबाट बिस्तारै डनवादमा रूपान्तरित हुँदै छ । यो अहिलेको युगको माग पनि हो । हाम्रो पार्टीको आजसम्मको निर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ थियो । अब त्यसलाई बदलेर ‘जनताको बहुदलीय डनवाद’ बनाउँदै छौँ ।’

‘हँ, जनताको बहुदलीय डनवाद ? यो कस्तो वाद हो नेताजी ?’ नेताजीको सिद्धान्त मेरा लागि अबोध्य हुँदै जान थाल्यो ।
उहाँ भने धमाधम प्रशिक्षक बन्दै जान थाल्नुभयो, ‘बहुदलीय व्यवस्थालाई डन प्रणालीबाट सञ्चालन गरिने वादलाई बहुदलीय डनवाद भनिन्छ । नेपालको राजनीतिमा डनवाद पहिल्यै भित्रिसकेको हो । हामीले त्यसैलाई राजनीतिक संश्लेषण गरी सिद्धान्तको रूप दिएका हाैँ । यस हिसाबले हाम्रो पार्टी नेपालकै सबैभन्दा पहिलो र सबैभन्दा ठूलो डनवादी पार्टी हो ।’

‘यस्तो डनवादी पार्टीको त मैले अहिलेसम्म नामै सुनेको छैन नेताजी,’ मैले आफ्नो अनभिज्ञता जाहेर गरेँ । 
‘अब चाहिँ सुन्नुस् न,’ उहाँले ढुक्कै भन्नुभयो, ‘डनवाद एमालेको मौलिक सिद्धान्त हो । जनवाद आयातीत सिद्धान्त हो । डनवाद नेपाली माटोमै सिर्जना भएको सिद्धान्त हो । हाम्रो पार्टी अध्यक्ष अचेल कुनै पनि आयातीत वस्तु प्रयोग गर्नुहुन्न । उहाँ एक विशुद्ध राष्ट्रवादी नेता हुनुहुन्छ । त्यसैले सिद्धान्त पनि जनवादलाई छाडेर डनवाद प्रतिपादन गर्नुभएको हो । पार्टीमा एकअर्कालाई सम्बोधन गर्दा हामी कण भनेर बोलाउने गर्छौं । जस्तो, केपी कण, जेएन कण, माधव कण आदि । अब त्यो सम्बोधनको शब्द पनि परिवर्तन गरी केपी कणको सट्टा केपी डन भनेर बोलाउने विचार गरिरहेका छौँ । कण भनेको साह्रै पुरानो शब्द भयो । अब त्यसलाई पनि एमाले विशेषतासहित परिमार्जित गरी डन बनाउने हाम्रो सोच छ । त्यसपछि पार्टीका सबै कण डनमा रूपान्तरित हुनेछन् । जस्तो डन माधव नेपाल, डन ईश्वर पोखरेल, डन केपी ओली ! कस्तो लाग्यो हाम्रो योजना ?’

नेताजीको कुरा सुन्दै गर्दा मेरा ओँठ–तालु सुकिसकेको रहेछ । बोली नै फुटेन । आखिर एउटा डनको सामु मेरो बोली फुटोस् पनि कसरी !  

प्रकाशित: १८ कार्तिक २०७४ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App