coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्वाट्सएप प्रतिबन्धको विरोध

काबुल– अफगानिस्तान सरकारले गरेको ह्वाट्सयाप र टेलिग्राम म्यासेजिङ सेवामा प्रतिबन्ध लगाउने निर्णयको व्यापक विरोध भएको छ। 

अफगानिस्तानमा लोकप्रिय सन्देशवाहक इन्टरनेट सेवा प्रयोगमा रोक लागेपछि पत्रकार, सञ्चार समूह र सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले नियन्त्रणको नीति लिएको आरोप लगाएका छन् ।

अफगानिस्तानका सरकारी अधिकारीहरुले भने सुरक्षाका कारण ह्वाट्सयाप र टेलिग्राममाथि अस्थायी प्रतिबन्धको आदेश दिइएको बताएका छन् । अफगानिस्तानमा सन्देशवाहक इन्टरनेट सेवा खासगरी ह्वाट्सयाप अहिले निकै लोकप्रिय रहेको छ । तर यो साता सरकारले टेलिग्रामसहित त्यसमा २० दिने प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रोशित भएको बिबिसीले उल्लेख गरेको छ। सरकारको पछिल्लो निर्णयबाट वरिष्ठ पत्रकारसहित मिडिया स्वतन्त्रता समूहहरु क्रुद्ध बनेका छन् । अफगानिस्तानको एक प्रमुख पत्रिकाका प्रधानसम्पादक पर्विज कावाले वर्षौं लामो नियन्त्रणपछि अफगानिस्तान खुला समाज भएको उल्लेख गर्दै सामाजिक सञ्जालमाथिको कुनै खालको प्रतिबन्ध सह्य नहुने बताए।

‘यदि तालिवान वा अरुले ती सेवाको प्रयोग गरिरहेका छन् भने कसले प्रयोग गरेको छ, त्यो पत्ता लगाउनु पर्छ, प्रतिबन्ध लगाउने होइन । अफगानिस्तानको विकासको विन्दुमा सामाजिक सञ्जालमातिथ प्रतिबन्ध लगाउनु निकै संवेदनशील कुरा हो,’ कावालाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । सरकारको पछिल्लो कदमलाई पश्चगामी कदमको संज्ञा दिँदै उनले त्यसको विरोध गरिने बताए।

सरकारले सुरक्षा संवेदनशीलता देखाउँदै ह्वाट्सयाप र टेलिग्राममा अस्थायी रोक लगाउने निर्णय गरेपनि त्यस निर्णय लागू भएको कुनै प्रमाण नदेखिएको बिबिसीले उल्लेख गरेको छ । तर दूरसञ्चार सेवा नियामक निकायका अधिकारीहरुले सेवाप्रदायकहरुलाई ती सेवामा अस्थायी रोक लगाउन लेखेको पुष्टि भने गरेका छन्।

अफगानिस्तानका कार्यवाहक सञ्चारमन्त्री सहजाद अर्योबीले पनि फेसबुकमा एउटा सन्देश लेख्दै असंख्य गुनासो प्राप्त भएपछि नियामक निकायलाई प्रविधिक समस्या सुल्झाउन सन्देशवाहक सेवामा क्रमिक रोक लगाउन आदेश दिइएको जनाएका छन् । ‘सरकार अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिवद्ध छ र यो हाम्रा जनताको आधारभूत नागरिक अधिकार हो भन्ने पनि जानेको छ,’ उनले लेखेका छन् । अफगाननिस्तानमा सक्रिय आतंकवादी समूह तालिवानले पनि आफूबीचको सामूहिक सन्देश आदानप्रदान गर्न ह्वाट्सयाप लगायतको सेवा प्रयोग गरिरहेको बताइन्छ। 

सन् २००१ मा अमेरिकी नेतृत्वमा सैन्य कारबाही सुरु भएयता अफगानिस्तानमा भएका सकारात्मक विकासमध्ये मोबाइल सेवाको विस्तारलाई पनि एक मानिन्छ । तर मोबाइलको ‘नेटवर्क’ र आवाजको स्पष्टताबारे प्रयोगकर्ताहरुले बारम्बार गुनासो गर्दै आएका छन्।

ह्वाट्सयाप, फेसबुक म्यासेन्जर र भाइबर अफगान नागरिक र राजनीतिज्ञहरुले व्यापक रुपमा प्रयोग गर्ने गरेका छन्।

प्रकाशित: १९ कार्तिक २०७४ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App