८ वैशाख २०८१ शनिबार
राजनीति

धनगढीमा ३ करोडको घर किन्दै आरजु

धनगढी- कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले पर्यटक उम्मेदवारको चर्को नारा लागेपछि धनगढीमा घर किन्ने भएकी छिन् । बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् । धनगढी–४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधासम्पन्न घर उनले किन्न लागेकी हुन् ।

पर्यटक उम्मेदवार भनेर विपक्षीले चर्को नारा लगाएपछि मतदातालाई भड्किन नदिन आरजु देउवाले धनगढीमा करिब तीन करोड रुपैयाँमा घर किन्ने निर्णय गरेकी हुन् ।

बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्यकर्तासँग कुरा गरिरहेकी थिइन् । कुरा मिलेमा घर किन्ने तयारीमा रहेको उनले बताइन् । ‘कुरो चलिरहेको छ, मिलेमा किन्छु,’ उनले भनिन् । पर्यटक उम्मेदवार भनेर विपक्षीले चर्को नारा लगाएपछि मतदातालाई भड्किन नदिन उनले धनगढीमा घर किन्ने निर्णय गरेकी हुन् । ‘म २५ वर्षदेखि यहाँ आइरहेकी छु, म कसरी पर्यटक भएँ ? नियमित यहाँ बस्नका लागि घर किन्ने तयारीमा छु,’ उनले भनिन् ।

हसनपुरलगायत केही ठाउँमा किन्नका लागि उनका सहयोगीले घर हेरेका थिए । शारदा हमालको सुविधासम्पन्न घर मन परेपछि किन्ने निधो गरेको उनका निकट एक कार्यकर्ताले बताए । ३ कठ्ठा ३ धुर जमिनमा ६ हजार ५ सय वर्गफिटमा यो घर रहेको छ । अट्याच बाथरुमसहित ४ कोठा, २ लिभिङ रुम, २ नन अट्याच रुम, १ स्टोर रुम, २ वटा अतिरिक्त शौचालय र बाथरुम र एक स्टाफ रुम घरमा छ । ३ करोडमा घर किन्ने कुरो भएको बुझिएको छ । बैना गरेको लगायतका कागजपत्र लगेर घर किन्नका लागि सेन्चुरी बैंकमा आरजुले कुरो चलाएको स्रोतले बताएको छ । यसअघि दोस्रो संविधानसभामा प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव लडेको धनगढी उपमहानगरपालिका रहेको कैलाली ५ मा कांग्रेसबाट आरजु चुनावी मैदानमा छन् । स्थानीय जनताको पहुँच नहुने पर्यटक उम्मेदवार भन्दै विपक्षीले चर्को चुनावी मुद्दा उठाएका छन् ।

यसअघि पत्रकार सम्मेलनमा तपाईंलाई पर्यटक उम्मेदवार भन्ने आरोप छ भनी सोधेको प्रश्नको जबाफमा उनले चुनाव जितेर यहीं बस्ने र त्यसका लागि घर किन्ने बताएकी थिइन् । वाम गठबन्धनका तर्फबाट एमालेका युवा नेता नारदमुनि राना छन् । गत स्थानीय तहको निर्वाचनको मतका आधारमा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धनको मत करिब साढे चार हजार बढी छ । नतिजा आफ्नो पोल्टामा पार्न दुवै पक्षका उम्मेदवार सक्रिय छन् ।

प्रकाशित: २३ कार्तिक २०७४ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App