coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोरङ : कांग्रेस गढमा कडा टक्कर

विराटनगर- राजनीति र औद्योगिक इतिहास बोकेको मोरङमा प्रतिनिधि र प्रदेश सभाको मतदान दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुँदैछ । देशभरमै सबभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
    दोस्रो संविधानसभा निर्वाचनमा ९ वटा क्षेत्र रहेको मोरङमा ५ वटा नेपाली कांग्रेस र ३ वटा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको थियो । मोरङको चुनावी मैदानमा कांग्रेस र वाम गठबन्धनका ‘दिग्गज’ उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसले मोरङ क्षेत्र नम्बर १ मा जिल्ला सभापति डिगबहादुर लिम्बू, क्षेत्र नम्बर २ मा डा.मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ मा सुनिल शर्मा, क्षेत्र नम्बर ४ मा महेश आचार्य, क्षेत्र नम्बर ५ मा अमृत अर्याल र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । यीमध्ये लिम्बु, आचार्य, अर्याल र कोइराला दोस्रो संविधानसभामा विजयी भएका थिए ।
    कांग्रेस नेता रिजाल मोरङबाट पहिलो पटक निर्वाचनमा भिड्दैछन् । नोबेल मेडिकल कलेजका सञ्चालक शर्मा दुई वर्षअघि मात्रै कांग्रेसमा प्रवेश गरेका हुन् ।
वाम गठबन्धनमा एमालेबाट क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, क्षेत्र नम्बर २ मा ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ३ मा भानुभक्त ढकाल, क्षेत्र नम्बर ४ मा माओवादी (केन्द्र) का अमन मोदी, क्षेत्र नम्बर ५ मा माओवादी(केन्द्र) का शिवकुमार मण्डल र क्षेत्र नम्बर ६ मा एमाले नेता लालबाबु पण्डित उम्मेदवार हुन् । दोस्रो संविधानसभामा एमालेका पोखरेल र माओवादीका मण्डल विजयी भएका थिए । पोखरेलले तत्कालीन मोरङको क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार आमोदप्रसाद उपाध्याय, मण्डलले तत्कालीन मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार गयानन्द मण्डललाई झिनो ८ मतले पराजित गरेका थिए ।
    वाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार खतिवडालाई दोस्रो संविधानसभामा कांग्रेसका लिम्बूले नै पराजित गरेका थिए । खतिवडा उम्मेदवार बनेको मोरङको तत्कालीन क्षेत्र नम्बर ९ मा माओवादीका वर्षमान पुनले तेस्रो मत ल्याएका थिए । तेह्रथुम घर भएका एमाले नेता ढकाल मोरङको सबैभन्दा ‘सुरक्षित’ क्षेत्र मानिएको ३ बाट उम्मेदवार बनेका हुन् । मतदाता हिसाबले मोरङमा क्षेत्र नम्बर ३ एमालेको सुरक्षित मानिन्छ । तर, नोबेल मेडिकल कलेजका सञ्चालक (हाल राजीनामा दिएका) शर्माले भने ढकाललाई कडा टक्कर दिइरहेका छन् । शर्माले स्वास्थ्य शिविरमार्फत त्यो क्षेत्रमा प्रचारप्रचार तीव्र पारेको छ ।
    मोरङ ४ का माओवादी (केन्द्र) का उम्मेदवार मोदी पहिलोपटक चुनाव लड्दैछन् । दोस्रो संविधानसभामा समानुपातिकबाट साभसद् भएका मोदी संसद् भवनमा तोडफोड हुँदा चर्चामा आएका थिए । थारु मतदाता बाहुल्य मोरङको क्षेत्र नम्बर ४ (पहिलाको क्षेत्र नं.६) मा पहिलो संविधासभामा मधेसी जनअधिकार फोरमका नेता भीमराज राजवंशीले कांग्रेस नेता आचार्यलाई पराजित गरेको थियो । दोेस्रो संविधानसभामा कांग्रेसका नेता आचार्यले फोरमका भक्ति माझीलाई पराजित गरेको थियो ।
थारू बाहुल्य क्षेत्र रहेकाले मोदीले आफ्नो जित सुनिश्चत रहेको दाबी गरिरहेका छन् ।
मोरङ क्षेत्र नम्बर ५ का माओवादी केन्द्रका उम्मेदवार मण्डल दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका गयानन्दलाई ८ मत फरकले जितेका थिए । त्यति बेला मण्डलको ४ नम्बर क्षेत्र पथ्र्यो । अहिले मोरङको क्षेत्र नम्बर ५ पहिलाको ४ र ५ क्षेत्रलाई गाभेर एउटा बनाइएको छ । पहिलो संविधानसभामा त्यो क्षेत्रबाट फोरमका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । उपनिर्वाचनमा फोरमकै जयराम यादवले जिते । दुवै चुनावमा पराजित कांग्रेसका उम्मेदवार अर्याल भने दोस्रो संविधानसभामा उपेन्द्रलाई हराएका थिए ।  मोरङ ५ नम्बर क्षेत्रमा माओवादी (केन्द्र) का मण्डल, कांग्रेसका अर्याल र संघीय समाजवादी फोरमका राजकुमार यादवबीच कडा प्रतिस्पर्धा छ ।
    मोरङ क्षेत्र नम्बर ६ मा एमालेका नेता पण्डितले कांग्रेसका नेता कोइरालासित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पण्डितले यसपालिको चुनावमा कांग्रेसको किल्ला तोडिने बताइरहेका छन् । मोरङको तत्कालीन क्षेत्र नम्बर ७ रहेको यस क्षेत्रबाट पहिलो संविधानसभामा फोरमका नेता विजयकुमार गच्छदार विजयी भएका थिए । उपनिर्वाचनमा कांग्रेसका कोइरालाले फोरमका चुमनारायण तबदारलाई पराजित गरे । संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका कोइरालाले फोरमका गच्छदारलाई हराएको थियो । यी तीनवटै निर्वाचनमा यस क्षेत्रमा एमालेको मत चौथो थियो ।

गच्छदार फ्याक्टर र गठबन्धन
    मोरङको राजनीतिमा प्रभाव राख्ने नेता विजयकुमार गच्छदार कांग्रेसमा प्रवेश गरेपछि थारु–मधेसी बाहुल्य क्षेत्रमा कांग्रेसको उम्मेदवारलाई ‘सहज’ भएको विश्लेषण भइरहेको छ । मोरङको ५ वटा क्षेत्रमा थारु–मधेसीको मत ‘निर्णायक’ छ । गच्छदारको कांग्रेस प्रवेशले मोरङमा कांग्रेसका उम्मेदवारलाई ‘सजिलो’ भएको तर्क गर्नेहरु पनि छन् ।
    टिकट बाँडफाँटमा गच्छदारले मोरङको क्षेत्र नम्बर ४ को (क) बाट आफ्ना पार्टीका तत्कालीन मोरङ अध्यक्ष भक्ति माझी र क्षेत्र नम्बर ६ को (क) बाट पुराना नेता चुमनारायण तबदारलाई प्रदेश सभामा कांग्रेसबाट उम्मेदवार बनाएका छन् । रोचक के छ भन्ने दोस्रो संविधासभा चुनावमा कांग्रेसबाट विजयी भएका महेश आचार्यले पराजित गरेका माझी उनकै क्षेत्रबाट (क) का उम्मेदवार छन् । उपनिर्वाचनमा कांग्रेसका शेखर कोइरालाले पराजित गरेका फोरमका तत्कालीन नेता तबदार पनि कोइरालाकै क्षेत्रको (क) का प्रदेशसभा उम्मेदवार बनेका छन् ।
    तर, स्थानीय निर्वाचनमा एमाले र माओवादी (केन्द्र) ले ल्याएको मत जोड्दा मोरङमा वाम गठबन्धनका उम्मेदवारको स्थिति पनि बलियो देखिन्छ । स्थानीय तहमा खसेको एमाले र माओवादीको मत एकै ठाउँमा जोड्दा मोरङको हरेक क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार कांग्रेसको कडा प्रतिस्पर्धी देखिन्छ ।
स्थानीय तहको निर्वाचनमा मोरङको १७ वटा तहमध्ये ९ वटा कांग्रेस, ५ वटा नेकपा एमाले, एक÷एकवटा माओवादी (केन्द्र), संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले जितेको थियो । गच्छदार कांग्रेसमा प्रवेश गरेपछि मोरङको स्थानीय तहमा कांग्रेसको १० वटा र एमाले–माओवादीको गठबन्धनपछि ६ वटा तह जितेको पुग्छ ।

प्रकाशित: २४ कार्तिक २०७४ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App