८ वैशाख २०८१ शनिबार
अन्य

म पनि उम्मेदवार !

प्रतिनिधि र प्रदेशसभा दुवैको निर्वाचन एकैचोटि हुँदै छ । जसले गर्दा उम्मेदवार चिन्न गाह्रो भइरहेको छ । एकैचोटि दुइटा सभाको चुनाव हुने भएकाले उम्मेदवारको संख्या पनि भारी भएको छ । बाटोमा जो भेटे पनि उम्मेदवार पर्छन् । ‘ल है, यसपालि उठेको छु, सहयोग गर्नुप¥यो !’ बिहान चियाका लागि ग्वारामरी किन्न जाँदा समेत यसो भन्ने दुईदेखि चार जनासम्म भेटिहाल्छन् ।
अतः मैले सोचेँ, एउटै टोलमा यति धेरै उम्मेदवार छन्, एकपटक जम्मै उम्मेदवारको परिचय कार्यक्रम गरौँ न । उम्मेदवारलाई पनि प्रचारको मौका, हामीलाई पनि आफ्ना भावी प्रतिनिधि चिन्ने अवसर ।

‘प्यारा–प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू ! म एउटा धारिलो धार भएको खुकुरी हुँ । मलाई देखेर कोही पनि डराउनुपर्दैन । म पनि यसपालिको चुनावमा उठिरहेको एउटा उम्मेदवार हुँ ।’

उम्मेदवार परिचय कार्यक्रम आयोजना गरियो । टोलमा एउटा सानो चौर थियो । दुइटा टेबुल र सयवटा जति कुर्सी राखेर कार्यक्रम सञ्चालन भयो । कार्यक्रममा लामो भूमिका नबाँधी सञ्चालकले अनुरोध गरिहाले, ‘आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू ! अब लामो कुराकानी नगरी सबै उम्मेदवारलाई पालैपालो आ–आफ्नो परिचय दिनुहुन अनुरोध गर्दछु ।’
उद्घोषकले यति के भने, दर्शकदीर्घाको भीडबाट फुत्त एउटा खुकुरी निस्कियो । त्यो पनि सानोतिनो होइन, ठूलो साइजको । देख्दै काट्लाजस्तो । भीडमा त्यस्तो खुकुरी उफ्रेको देखेर सबैजना आतंकित बने, अब के हुन लाग्या हो यो ? तर खुकुरीले कुनै आतंकभाव प्रकट नगरी शान्त शैलीमा भन्यो, ‘प्यारा–प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू ! म एउटा धारिलो धार भएको खुकुरी हुँ । मलाई देखेर कोही पनि डराउनुपर्दैन । म पनि यसपालिको चुनावमा उठिरहेको एउटा उम्मेदवार हुँ ।’
भीडमा एकैचोटि कोलाहल उत्पन्न भयो । ‘खुकुरी पनि उम्मेदवार ? कसरी ? चुनावमा खुकुरी पनि उठ्न पाइन्छ ? कसले उठाएको खुकुरीलाई ? खुकुरीलाई चुनावमा उठाएर के गर्न खोजिँदै छ ?’
आफ्नो  नाम लिनेबित्तिकै कार्यक्रममा हल्ला भएको देखेर खुकुरीलाई झोँक चलेछ । बीचको टेबुलमा झ्याम्म लाएर स्वयं प्रहार भयो खुकुरी । अनि बोल्यो, ‘किन हल्ला गर्नुहुन्छ हौ तपाईंहरू ? पार्टीले बकाइदा टिकट दिएको छ मलाई । त्यसै उठ्या होइन हेर्नुस् । यो चुनावमा जित्ने पनि मै हुँ फेरि । भोट भनेको जित्नेलाई दिने हो, चुनावमा जित्ने पनि मै हुँ । ल धन्यवाद !’
खुकुरी आफ्नो सिटमा थुचुक्क बस्यो । त्यसको लगत्तै पछाडिबाट एउटा लामो आकारको तरबार प्रकट भयो । चमचम टल्केको तरबारले दश डिग्री जति झुकेर सबैलाई अभिवादन गर्दै भन्यो, ‘सबैलाई नमस्कार है नमस्कार ! यो चुनावमा म पनि लड्दै छु । याद गर्नुहोला । अहिलेसम्म मेरो प्रतिस्पर्धामा कोही आएको देखिँदैन । त्यसैले मेरो जित निश्चित छ ।’
‘जित त जनताले भोट दिए पछि न निश्चित हुने हो, भोटै नदिए कसरी जित निश्चित हुन्छ ?’ बीचमा कोही प्वाक्क बोल्यो ।
‘को हो यो बोल्ने ?’ तरबारले टाउको उठाएर यताउति खोज्यो । तर बोल्ने भेटिएन । तरबार आफैँ बोल्यो, ‘हेर्नुस्, भोट दिए त जित निश्चितै छ, नदिए पनि निश्चित छ । बुझ्नु भो ?’
यति भन्दै तरबार बिस्तारै आफ्नो कुर्सीतिर बस्यो । त्यहीबेला आफ्नो कुर्सीबाट बुर्लुक्क उफ्रेर छुरा अगाडि आइपुग्यो, ‘लौ है सबैलाई लालसलाम, जय नेपाल ! यो चुनावको अर्को उम्मेदवार म पनि हुँ । मलाई पनि पार्टीले एकैमतले टिकट दिएको हो । मेरो पनि जित निश्चित छ । अब केही दिनभित्रै म तपाईंहरूको घरआँगनमै घरदैलो गर्न आउँदै छु । घरदैलोपछि मेरो जित अझै पक्का हुनेछ । घरदैलोचाहिँ म कुनै पनि बेला आउन सक्छु । दिनरात केही भन्दिनँ । नमस्कार ।’ छुरा पनि आफ्नो कुर्सीमा आसिन भयो ।
अब अर्को उम्मेदवारको पालो आयो । अबको पालोचाहिँ हजारै हजारको नोटको एक क्याँठ स्वाराक्क निस्क्यो । उफ्रँदै टेबुलमा थुचुक्क बस्दै भन्यो, ‘आदरणीय मतदाताहरू, मलाई त तपार्इंहरूले  पक्कै चिनेको हुनुपर्छ । यो चुनावमा म पनि उठ्दै छु । मलाई आफ्नो जित पक्कै भो भन्ने लाग्छ । किनभने यो देशमा मलाई नचिन्ने कोही छैन । जहाँ गए पनि मलाई छुन मानिसको भिडै लाग्छ । त्यसैले आजभोलि म दिनमा भन्दा पनि रातमा चुनाव प्रचारतिर लागिरहेको छु । तपाईंहरूको घरमा पनि कुनै रात ढोका ढकढकाउन आउन सक्छु । मैले ढोका ढकढकाएपछि खोलिहाल्नु नि फेरि । जसले खोल्दैन, उसैलाई घाटा लाग्छ । लौ त भोट दिन नबिर्सिनुस् है !’ अघि उफ्रेर आएजस्तै अहिले पनि उफ्रेर नै नोटको क्याँठ आफ्नो आसनतिर लाग्यो ।
अब कसको पालो होला भनी टोलवासीहरू यताउति टाउको घुमाउँदै थिए, अचानक भेलाको बीचमै एक राउन्ड गोली चलेको आवाज आयो– ढिच्याउँ ! टोलवासीहरू आत्तिएर भाग्नै लागेका थिए कि माइकको सामुन्ने एउटा बाह्र भोल्टको रिभल्भर आएर ठिङ्ग उभियो, ‘दाजुभाइ तथा दिदीबहिनीहरू ! नआत्तिनुस् । म आएको हुँ क्या म ! तपाईंकै क्षेत्रको सशक्त उम्मेदवार । यसपालिको चुनावमा म पनि उठिरहेको छु । पहिलेपहिले त हरेक चुनावमा विभिन्न पार्टीका उम्मेदवारहरूलाई जिताउन सहयोग गर्दै आइरहेकै थिएँ । यसपालि चाहिँ आफैँ उठेको छु । के गर्नु, देशमा आएको ‘गनतन्त्र’को रक्षा पनि गर्नुपरिहाल्यो । त्यसैको खातिर पार्टीले मलाई पनि उठाएको हो । एक भोट दिन नबिर्सनुहोला ।’ ढिच्याउँ ! भाषण सकिनेबित्तिकै समापन फायरिङ भयो ।
उम्मेदवारहरूको यति परिचयपछि अब अरु उम्मेदवारले आफ्नो परिचय दिन आवश्यक ठानेनन् क्या र । कोही पनि उठेन । परिचय पनि दिएनन् । अब अरु उम्मेदवारको परिचय आवश्यक छ जस्तो पनि लागेन । जो साँच्चै चुनाव जित्छु नै भनेर उठेका थिए, उनीहरूले आ–आफ्नो परिचय दिइहाले । अब अरु उम्मेदवार चाहियो पनि किन र ! हामीले परिचयात्मक कार्यक्रम त्यहीँ समापन गर्यौँ ।

प्रकाशित: २५ कार्तिक २०७४ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App