१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

प्रदूषणको प्रभाव

पछिल्ला वर्षहरूमा वातावरण प्रदूषण ‘साइलेन्ट किलर’ बन्न पुगेको छ । यसको विद्रुप रुप भारतको राजधानी नयाँदिल्लीमा देखिन थालेको छ । मानव स्वास्थ्यका लागि अत्यन्तै खतरनाक अवस्थामा पुगेको त्यहाँको हावाको गुणस्तरका कारण संकटकालीन स्थिति आएको छ । सञ्चारमाध्यमले दिल्लीको अवस्थालाई ‘ग्यास च्याम्बर’ का रुपमा चित्रण गरिरहेका छन् ।

नेपालमा प्रतिवर्ष वायु प्रदूषणले ९ हजार ९ सय ४३ को ज्यान लिने गरेको छ । वायु प्रदूषणबाट हुने मुत्यु सशस्त्र द्वन्द्वका क्रममा मारिनेभन्दा धेरै हुने गरेको छ । नेपालमा प्रदूषणका कारण प्रत्येक एक लाखमा ३६ जनाको मृत्यु हुनु आफैंमा डरलाग्दो संकेत हो ।

त्यहाँको सरकारले समस्या समाधानका लागि जोर र विजोर गरेर सवारीसाधन चलाउन थाले पनि यो व्यवस्था धेरै दिन टिक्न सकेन । गत वर्ष पनि त्यहाँको सरकारले यो व्यवस्था लागू गरेको थियो । दिल्लीको अरविन्द केजरीवाल सरकार जोरविजोर प्रणाली लागू गर्न तयार भए पनि महिला र मोटरसाइकललाई छुट दिने प्रावधानप्रति सहमत हुन सकेको थिएन । एक सातादेखि प्रदूषणको चपेटामा परेको दिल्लीले बर्सेनि यो अवस्थाबाट गुज्रिनुपरेको छ । यो अवस्थामा सुधारका लागि जोर र विजोर सवारीसाधनलाई समाधानका रुपमा अघि सारे पनि समस्या त्यतिमै सीमित छैन । दिल्लीनजिकैका पन्थाब र हरियाणाका किसानले कृषि कर्मका लागि पराल आदि जलाउने गर्दा यस किसिमको भयावह अवस्था निम्तिने गरेको छ । किसानलाई खेतीपाती गर्न यस्ता सामग्री जलाउनुपर्ने बाध्यता भए पनि त्यसले ल्याउने परिणाम भयावह हुन पुगेको छ । यसको विकल्पका रुपमा त्यहाँको सरकार र नीति निर्माताले अवश्यक काम गर्लान् ।
धन्य, दिल्लीको प्रदूषणले काठमाडौंलाई सीधा प्रभाव पारेको छैन । तर, काठमाडौं आफैंले भने यसबारेमा सोच्नुपर्ने बेला भइसकेको छ । प्रायः सरकारी निकायले काठमाडौंमा ठूलो समस्या नरहेको बताउने गरे पनि पानी नपर्ने हिउँदको बेला भने प्रदूषण मानव स्वास्थ्यका निम्ति जोखिमपूर्ण अवस्थामा पुग्ने गरेको छ । दिल्लीको हावामा सूक्ष्म पिएम २.५ कणको मात्रा ७ सय माइक्रोग्राम प्रतिघण्टा पुगेको छ । मानव स्वास्थ्यका लागि यो अत्यन्तै खतरनाक अवस्था हो । यस्तो अवस्थामा धुलोका करण फोक्सोमा पुगेर मानव स्वास्थ्यमा सीधै असर पार्छ । काठमाडौंमा पनि धुलोको यो मात्रा ८० देखि एक सय माइक्रोग्रामसम्म पुग्ने गरेको छ । झरी परेको बेलामा भने राजधानी काठमाडौंको अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको २५ माइक्रोग्रामभन्दा कम हुने गरेको छ । नेपालको राष्ट्रिय मापदण्डअनुसार यो ४० माइक्रोग्राम भन्दा बढी हुनुहुँदैन । तर, बिहान ६ देखि १० बजेसम्म प्रदूषणको यो तह काठमाडौंमा अहिल्यै नाघिसकेको छ । दिल्लीको अवस्थालाई हेरेर हामीले स्वस्थ हावामा सास फेरिरहेको महसुस गर्न सक्छौं । तर, पछिल्ला केही वर्षमा हाम्रा सडकको मर्मत नहुँदा, निर्माण कार्य अधुरो छोड्दा र २० वर्षभन्दा पुराना सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नेगरी प्रदूषण बढिरहेको छ ।
भारतको दिल्लीमा हावाको गुणस्तर बिग्रेर कणको मात्रा ९ सय ९९ माइक्रोग्रामसम्म पुगेको छ । यो तहको प्रदूषणमा सास फेर्नु भनेको प्रति दिन दुई बट्टा चुरोट खाएजत्तिकै हानिकारक हो । विषाक्त हावा रुखाखोकी तथा श्वासप्रश्वाससम्बन्धी रोगको कारण बन्ने गरेको छ । राजधानी काठमाडौंमा अचेल बिरामीको संख्या निरन्तर बढिरहेको छ । यसको मुख्य कारक प्रदूषित हावा हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को २०१६ को तथ्यांकअनुसार बाह्य वायु प्रदूषणबाट बर्सेनि ३० लाख मानिसको मृत्यु भएको छ । नेपालमा पनि प्रतिवर्ष वायु प्रदूषणले ९ हजार ९ सय ४३ को ज्यान लिने गरेको छ । वायु प्रदूषणबाट हुने मुत्यु सशस्त्र द्वन्द्वका क्रममा मारिनेभन्दा धेरै हुने गरेको छ । नेपालमा प्रदूषणका कारण प्रत्येक एक लाखमा ३६ जनाको मृत्यु हुनु आफैंमा डरलाग्दो संकेत हो । वातावरणीय सुधार सूचक (२०१६) अनुसार नेपाल हावाको गुणस्तर खराब भएका १ सय ८० मुलुकमध्ये १ सय ४९औं स्थानमा परेको छ । हाम्रा नीतिनिर्माताले सोच्नु र तदनुकूल नीति तथा कार्यक्रम लागू गरी वायु प्रदूषणबाट सर्वसाधारणको जीवन रक्षाका लागि सोच्न सक्नुपर्छ । वायु प्रदूषणका हिसाबले पनि दिल्ली काठमाडौंबाट ‘दूर’ छैन ।

प्रकाशित: २७ कार्तिक २०७४ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App