८ वैशाख २०८१ शनिबार
अर्थ

कोरिया रोजगारी : आवेदन छुटाएकाले पुनः फारम भर्न पाउने

काठमाडौं- कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाउनुभएको छ ? यदि काम विशेष या अन्य समस्यामा परेर उक्त फारम भर्न छुटाउनुभएको छ भने तपाईंलाई फेरि मौका दिइने भएको छ ।

रोजगारी आवेदन फारम भर्नका लागि कात्तिक १४ देखि २६ गतेसम्मको अवधि तोके पनि भाषा परीक्षा उत्तीर्ण साढे तीन सयभन्दा बढीले फारम नभरेकाले पुनः फारम भर्न पाइने व्यवस्था मिलाइएको हो

निकै मेहनतका साथ कोरिया भाषा परीक्षा उत्तीर्ण गरे पनि कतिपयले कारणवश रोजगारी आवेदन फारम भर्न छुटाएको आशंका गर्दै वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले त्यस्ता व्यक्तिका लागि पुनः फारम भर्न पाउने व्यवस्था मिलाएको छ ।
रोजगारी आवेदन फारम भर्नका लागि शाखाले कात्तिक १४ देखि २६ गतेसम्मको अवधि तोके पनि भाषा परीक्षा उत्तीर्ण गरेका साढे तीन सयभन्दा बढीले फारम नभरेको पाइएपछि शाखाले पुनः फारम भर्न पाइने व्यवस्था मिलाएको हो ।
कोरिया जानुअघि कामदारले अनिवार्य रूपमा रोजगारी आवेदन फारम भर्नुपर्छ । आवेदन फारम नभरेका कामदारलाई कोरियन रोजगारदाताले बोलाउँदैनन् । विगतका वर्ष तोकिएको अवधिसम्म मात्र रोजगारी आवेदन फारम भर्न पाउने सुविधा हुन्थ्यो ।
‘निकै मेहनतका साथ भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाएकालाई केही समयसम्म आवेदन फारम भर्न पाउने व्यवस्था मिलाएका छौं,’ इपिएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने, ‘भाषा परीक्षा उत्तीर्ण गरेका व्यक्ति कोरिया रोजगारीबाट वञ्चित नहून् भनेर यस्तो व्यवस्था गरेका हौं ।’
तोकिएको अवधिभित्र रोजगारी आवेदन फारम भर्न छुटाएकालाई शाखाले पुनः फारम भर्न दिने व्यवस्था मिलाए पनि कहिलेसम्म त्यस्तो सुविधा दिइने भन्नेबारे निर्णय नगरिएको उनले बताए । उनले भने, ‘तोकिएको अवधिभित्र फारम भर्न छुटाएकालाई जतिसक्दो चाँडो फारम भर्न आग्रह गरेका छौं । यस्तो सुविधा सम्भवतः ६ महिना जतिलाई दिन सकिएला ।’
भाषा परीक्षा उत्तीर्ण गरेका युवायुवतीले रोजगारी आवेदन फारम भरेपछि कोरियन रोजगारदाताले आफू अनुकूलका कामदारलाई बोलाउँछन् । शाखाले रोजगारी आवेदन फारम भरेका व्यक्तिको नाम कोरियाको मानव संशाधन विभागमा पठाएपछि बल्ल कामदारको नाम रोस्टर सूचीमा प्रकाशित हुन्छ  ।
भण्डारीले सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरी रोजगारी आवेदन फारम भरेकाको नाम कोरिया पठाउन दुई महिना जति लाग्ने बताए । ‘हरेक आवेदनकर्ताको तस्बिरसहित कामको सबै विवरण स्क्यान गरेर कोरिया पठाउनुपर्छ,’ उनले भने, ‘त्यसैले काममा केही ढिलाइ हुन्छ ।’
सन् २०१८ का लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नेको संख्या भाषा परीक्षा सुरु भएयताकै दोस्रोपटक सबभन्दा बढी हो । सबभन्दा बढी सन् २०११ मा  १५ हजार ६ सय ७८ ले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २०१० को तुलनामा तीन गुणाभन्दा बढीलाई भाषा परीक्षा उत्तीर्ण गराएका कारण कोरियाले सन् २०१२ मा भाषा परीक्षा सञ्चालन गरेन । सन् २०१० मा चार हजार एक सय ८० ले भाषा परीक्षा उत्तीर्ण गरेका थिए ।
सन् २०१८ का लागि सुरुमा १० हजार पाँच सय कोटा तोकिएको घोषणा गरेको कोरियाले भाषा परीक्षामा भने १२ हजार एक सय आठ जनालाई उत्तीर्ण गराएको छ । गत असार २७ र २८ गते भएको भाषा परीक्षामा ६८ हजार तीन सय ८३ ले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धीको संख्या अहिलेसम्मकै सबभन्दा बढी हो ।
शाखाका अनुसार सन् २०१८ मा रोजगारीका लागि कोरिया जान सबैभन्दा बढी कृषि क्षेत्रमा सात हजार दुई सय ४२ युवाको आवेदन परेको छ । औद्योगिक क्षेत्रमा काम गर्नका लागि साढे चार हजारले आवेदन भरेको शाखाले जनाएको छ ।
महिनामा न्यूनतम एक लाख ४२ हजार रुपैयाँ पारिश्रमिकका अतिरिक्त ओभरटाइम पनि पाइन्छ । सबै जोड्दा महिनामा दुई लाख रुपैयाँ पारिश्रमिक पाइन्छ । तैपनि लागत खर्च कम भएका कारण त्यहाँको रोजगारीमा युवायुवती निकै आकर्षित छन् । भाषा परीक्षा उत्तीर्ण गर्नेले कोरिया जान एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्न नपर्ने भण्डारी बताउँछन् । आकर्षणको अर्को कारण कामदार त्यहाँ बस्न पाउने अवधि पनि हो । खाडी मुलुकमा दुई तथा मलेसिया जाने कामदारलाई तीन वर्षको श्रम स्वीकृति दिइने गरेकोमा कोरिया जानेलाई चार वर्ष १० महिनाको दिइन्छ ।
सन् २००८ यता ४९ हजार ६ सय ८४ जना रोजगारीका लागि कोरिया गएका छन् । यसमा महिलाको संख्या तीन हजार ५९ छ । कोरिया गएकामध्ये केही श्रम स्वीकृतिको अवधि गुजारेर घर फर्के पनि अझै करिब ३० हजार उतै रहेको बताइन्छ ।

प्रकाशित: २८ कार्तिक २०७४ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App