७ वैशाख २०८१ शुक्रबार
राजनीति

दौडबाहिरका ‘हेभिवेट’

दाङ- पछिल्लो संविधानसभा निर्वाचन बहिष्कारका लागि ‘खरो’ रूपमा उत्रिएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको झोक अन्ततः मत्थर बन्दै गयो । यहाँसम्म कि क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भिडाएर भाग लियो । तथापि क्रान्तिकारी माओवादीले आफ्नै पार्टीबाट नभई चुनावी मोर्चा निर्माण गरेर मैदानमा उतार्यो ।

खुमबहादुर खड्का, युवराज ज्ञवाली, मोहन वैद्य, मोहनविक्रम सिंह, बलदेव शर्मा मजगैयाँ, गोकुल घर्ती, गणेशमान पुन, दलजित सेपाइली, योगेन्द्र चौधरीलगायतका नेताहरू चुनावी प्रतिस्पर्धाबाट बाहिर छन् ।

नेता सिपी गजुरेल संयोजक रहेको यो पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा हो । संयोजक गजुरेल भन्छन्, ‘पार्टीले विभिन्न आन्दोलनको नेतृत्व गर्नुपर्छ । यसर्थ सिंगो पार्टीलाई चुनावमा जोडेनांै । चुनावका लागि छुट्टै मोर्चा बनाएको हौं ।’ स्थानीय तहको निर्वाचनमा होमिएको यो दल आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि सहभागिता जनाउँदैछ । गजुरेलका अनुसार मोर्चामार्फत पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ २०१ जनाको बन्दसूची बुझाएको छ भने प्रत्यक्षतर्फ ९७ जना  मैदानमा छन् ।  
यो पार्टीको बन्दसूची या प्रत्यक्षतर्फको उम्मेदवार सूचीमा ‘हेभिवेट’ नेता भने छैनन् । यसर्थ पार्टीका महासचिव दाङका मोहन वैद्य आसन्न निर्वाचनको ‘रेस’ बाहिरै छन् । वैद्यले नागरिकसँग टेलिफोनमा भने, ‘हामी आफूअगाडि आउनुभन्दा युवा नेताहरुलाई अघि सार्नुपर्छ भन्ने सोचका साथ अघि बढेका छौं ।’ पार्टी संगठनको अहिलेको कमजोर अवस्थाबाट माथि उकास्ने दायित्व वहन गर्नका लागि पनि वैद्यले आफू उम्मेदवार नबनेको बताए । ‘पार्टी संगठनलाई माथि उकास्ने दायित्व हामीले लिनुपर्छ,’ उनले भने, ‘निर्वाचन लड्नका लागि त तमाम नेताहरु हुनुहुन्छ ।’ उम्मेदवार नबनेका गजुरेलले पनि आफूहरुको जिम्मेवारी संगठन सुधार भएको प्रतिक्रिया दिए । ‘हामी पार्टीका जिम्मेवार नेतााहरुले संगठन सुधारको जिम्मा लिँदै अन्य साथीहरुलाई निर्वाचनमा अघि सारेका हौं,’ उनले भने ।
दाङका हेभिवेट नेता वैद्य मात्रै हैनन्, राप्तीका यस्ता थुप्रै हेभिवेट नेता आसन्न निर्वाचनमा प्रतिस्पर्धामा छैनन् । यीमध्येका अर्का नेता हुन् मोहनविक्रम सिंह । प्युठानमा उनलाई संयुक्त वाम गठबन्धनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्न प्रस्ताव गर्दा पनि उनि उम्मेदवार बन्न चाहेनन् । बरु आफू पछि हटेर पत्नी दुर्गा पौडेललाई अघि सारिदिए । मसालका महामन्त्री सिंह अहिलेसम्म अर्धभूमिगत नेता भनेर चिनिन्छन् ।
‘भूमिगत अवस्थामा रहेका नेताहरु यति सजिलै जति बेला भन्यो उति बेला सार्वजनिक हुने कुरै हुँदैन,’ दुर्गाले भनिन्, ‘यसर्थ उहाँ उम्मेदवार बन्न नचाहनु भएको हो ।’ दुर्गा अहिले प्युठानमा वाम गठबन्धनका तर्फबाट समानुपातिक उम्मेदवार छिन् ।
कांग्रेस नेता खुमबहादुर खड्का आसन्न चुनावी रेसबाट अलग्गै बसे । उनको नाम दाङबाट सिफारिस भए पनि संवैधानिक अड्चनले उम्मेदवार बन्न पाएनन् । भ्रष्टाचार अभियोग लागेका खड्कालाई उम्मेदवार बन्न संवैधानिक अड्चन आइलागेको हो । आफू उम्मेदवार बन्न नपाए पनि टिकट वितरण प्रक्रियामा भने उनी प्रमुख भूमिकामा थिए ।
एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली पनि आसन्न निर्वाचनबाट पाखा लागेका छन् । दाङ २ बाट प्रतिनिधिसभा सदस्यका लागि पहिलो नम्बरमा सिफारिस ज्ञवाली अहिले निर्वाचन परिचालन कमिटीमा छन् । दाङ २ बाट निर्वाचन नलडे पनि उनी काठमाडौंबाट चुनाव लड्ने चर्चा चलाइएको थियो । तथापि उनी प्रत्यक्ष वा समानुपातिक कतै पनि उम्मेदवार बनेनन् । एमाले दाङका जिल्ला अध्यक्ष टीकाराम खड्काले ज्ञवाली आफंै निर्वाचन लड्न नचाहेको वताए । ‘उहाँ आफंैले चुनाव लड्दििनँ भन्नुभएको हो,’ उनले भने ।
दाङका पुराना कांग्रेस नेता तथा पूर्वमन्त्री बलदेव शर्मा मजगैयाँ आसन्न निर्वाचनको रेस बाहिर रहेका अर्का हेभिवेट नेता हुन् । कांग्रेसले जिल्लाबाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो । तर उनी आफंैले यसलाई अस्वीकार गरिदिएका थिए । सक्रिय राजनीतिबाट अलगजस्तै बनेका मजगैयाँबारे कांग्रेस क्षेत्र नम्बर ३ का सभापति भूपबहादुर डाँगीले भने, ‘उहाँलाई सोधेका थियौं, तर उहाँले मलाई उम्मेदवारको सूचीमा नपार्नुस् भन्ने जबाफ दिनुभयो ।’
एमाले सचेतक गोकुल घर्ती पनि रोल्पाबाट चुनाव लडेनन् । उनी चुनावी रेसबाट बाहिरिनुको मूल कारण वाम गठबन्धन हो । माओवादीका वर्षमान पुन रोल्पाका बामगठवन्धनका उम्मेदवार बनेपछि गोकुल यसपाला चुकेका हुन् । प्रतिनिधिसभाका लागि प्रत्यक्ष उम्मेदवार बन्ने दौडमा रहेका उनी समानुपातिक सूचीमा पर्न चाहेनन् । तर सिट बाँडफाँटमा माओवादी प्रभावशाली भएपछि गोकुलले प्रदेशसभा सदस्य उम्मेदवार बन्ने ठाउँसमेत पाएनन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि रोल्पामा सबै माओवादीका उम्मेदवार मात्रै छन् ।  
त्यस्तै पूर्वी रुकुमका माओवादी नेता तथा पूर्वआपूर्तिमन्त्री गणेशमान पुन पनि आगामी निर्वाचनको रेसबाट बाहिरै बस्न बाध्य भए । तर आफूू बाहिरै बसे पनि पत्नी कमला रोकाको उम्मेदवारीले उनी सन्तुष्ट छन् । रोकासँगै गणेशमान पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि रेसमा थिए । तर महिला समानुपातिक सहभागिताका कारण आफू नभई पत्नीको उम्मेदवारी टुंगो लागेको उनी बताउँछन् । ‘म पनि रेसमै थिएँ, तर महिलाको समानुपातिक सहभागिताको सर्तबमोजिम म पर्न सकिनँ,’ उनले भने ।
पूर्वी रुकुका दलजित सेपाइली आसन्न निर्वाचनबाट टाढा बनेका पूर्व खेलकुदमन्त्री हुन् । पार्टीमा गरेको त्याग र बलिदानीको अवमूल्यन भएको सेपाइलीको गुनासो छ । २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी रुकुमबाट निर्वाचन लड्न चाहेका थिए तर पाएनन् । ‘संविधानसभा निर्वाचन लड्न खोज्दा पनि पाइनँ,’ उनले भने, ‘त्यो बेला पनि मलाई समानुपातिकमा सीमित पारियो ।’
यस्तै योगेन्द्र चौधरी चुनावी मैदानबाट बाहिर रहेका अर्का हेभिवेट नेतामा पर्छन् । तत्कालीन फोरम लोकतान्त्रिक पार्टीका प्रमुख सचेतक उनी कांग्रेससँगको पार्टी एकीकरणपछि चुनावी रेसमा सहभागी हुन पाएनन् । फोरम लोकतान्त्रिकले उनलाई दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको थियो । उनले भने टिकट नपाउनुलाई महŒव नदिइएको बताए । ‘हिजोसम्म म फोरम लोकतान्त्रिकमा थिएँ । आज म कांग्रेसमा छु,’ उनले भने, ‘म व्यक्तिभन्दा पार्टी ठूलो कुरा हो ।’

प्रकाशित: २८ कार्तिक २०७४ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App