coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दक्षिण एसियाली पत्रकार महिलाका समान समस्या

काठमाडौं- दक्षिण एशियाली राष्ट्रका पत्रकार महिलाका समस्या समान रहेको सम्बद्ध महिला पत्रकारहरूले जनाएका छन् । ‘दक्षिण एशियाली महिला सञ्जाल’को ९ औं सम्मेलनमा सहभागी प्रतिनिधि पत्रकार महिलाहरूले सो कुरा बताएका हुन् ।
सम्मेलनमा सहभागी अफगानी पत्रकार नाजिबा नार्गिसले अफगानिस्तानमा जारी द्वन्दको कारण समग्र मिडिया क्षेत्र पछि परेको र त्यसमा पनि पत्रकार महिलाका लागि चुनौती बनेको उनले बताइन् । उनका अनुसार अफगानिस्तानमा जारी युद्धले पत्रकार महिलालाई यस क्षेत्रमा प्रवेशमा रोक लगाएको र यस क्षेत्रमा भएकालाई पनि पितृसत्तात्मक सोचका कारण अघि बढ्न सहज नभएको बताइन् । युद्ध तथा सामाजिक सोचका कारण देशका १० प्रान्तमा एक जना महिला पनि पत्रकारितामा संलग्न छैनन् । संख्यात्मक रूपमा कम सहभागिता छ नै मिडियाको नेतृत्व तहमा कम सहभागिता रहेको नाजिवा आयुवीले बताइन् । ‘३० प्रतिशत महिला विभिन्न सरकारी निकायमा क्रियाशील छन्, तर अत्यन्त कम मात्र नेतृत्व तहमा छन्,’ उनले भनिन् ।
इन्स्टिच्युट अफ कम्युनिकेशन स्टडी बंगलादेशकी कार्यकारी निर्देशक नाइमा नार्गिसले बंगालदेशमा पत्रकार महिलाको संख्यामा वृद्धि भए तापनि नेतृत्व तहमा कम सहभागिता रहेको बताइन् । उनका अनुसार बंगालादेशमा दुई÷तीन जना मात्र पत्रकार महिला नेतृत्व तहमा पुगेका छन् । महिलामैत्री सञ्चार गृह हुन नसकेकाले यस्तो भएको उनले बताइन् । ‘बंगालदेशमा पत्रकार महिलालाई उचित पारिश्रमिक, बिदा, यातायात सुविधा, प्रसूति बिदा जस्ता पक्षलाई समेट्ने नीति नै छैन,’ उनले भनिन् । जसले गर्दा पत्रकारितामा आबद्ध महिलाहरू पेशाबाट विस्थापित हुँदै जाने गरेको उनले बताइन् । ‘पत्रकार महिलाका लागि आकर्षक तलब र सुविधा भए समाजले यो पेशामा आउनबाट रोक्न सक्दैन,’ उनले भनिन् । महिला आन्दोलनले महिलामैत्री सञ्चार गृहको नीति बनाउन सरकारसँग पहल गरेमा मात्र यो पेसा आकर्षक बन्न सक्ने उनको रनय छ ।
आमसञ्चार विषयकी भारतीय प्राध्यपक  डा. अनान्या रोयका अनुसार पत्रकारितामा संख्यात्मक रूपमा महिलाको वृद्धि देखिए पनि नेतृत्व तहमा भने पुग्न नसकेको बताइन् । ‘मिडियामा महिला पत्रकार सहभागिताको नीति नहुनु नै यसको कारण हो,’ उनले भनिन्, ‘यसको पछिको कारण मिडियोभित्र पनि पितृसत्तात्मक सोच कायम छ ।’

माल्दिभ्सकी पत्रकार तथा अनुसन्धानकर्ता हिन्ना खालिदाले माल्दिभ्समा समान तलब र अतिरिक्त समय काम गरबवापत थप पारिश्रमिक दिने व्यवस्थाले यो पेसा महिलाका लागि आकर्षक बनेको बताइन् । ‘महिलाहरू बढी समय खट्छन्, पुरुष पत्रकारले भन्दा बढी कमाउँछन्,’ उनले भनिन् । पछिल्लो समय प्रविधिमा माल्दिभ्समा धेरै विकास भएकाले महिलाहरू भिडियोग्राफी क्षेत्रमा पनि सक्रिय रहेको उनले बताइन् । नेतृत्व तहमा भने पुरुष पत्रकार नै रहेको उनले बताइन् ।
छलफलमा सहभागी महिलाहरूले यी साझा समस्यालाई सम्बोधन गर्नका लागि साझा नीति बनाएर सम्बन्धित देशका सरकारी तहमा विशेष पहल गरी मिडियालाई महिलामैत्री बनाउन सकिने धारणा राखे । यी क्षेत्रका महिला पत्रकारका साझा समस्या भएकाले साझा नीति आवश्यक भएको उनीहरूले बताए ।

प्रकाशित: ८ मंसिर २०७४ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App