८ वैशाख २०८१ शनिबार
राजनीति

‘महिला मुद्दा उठाउनेलाई भोट’

सुष्मा बराली

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा भोट हाल्ने तयारीमा रहेका महिला मतदाता नारीहितमा काम गर्नेलाई भोट दिने मनस्थितिमा छन्।

उपत्यकाका महिला मतदाता उम्मेदवारका खोक्रा आश्वासन र अजेन्डाका भरमा मात्रै भोट नहाल्ने बताउँछन् । उम्मेदवारले पहिले वाचा गरेका प्रतिबद्धता पूरा गरे÷नगरेको सोध्ने बेला आइसकेको बताउँछिन्, भक्तपुर क्षेत्र– १ की मतदाता अनिला सिन्तकला।

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत उनी अब उम्मेदवारको खोक्रो आश्वासनले आफूलाई आकर्षित नगर्ने बताउँछिन् । ‘मुखले एउटा कुरा गर्ने र व्यवहारमा अर्को गर्ने प्रवृत्तिले दिक्क लागिसक्यो,’ उनले भनिन्। 

उपत्यकाका महिला मतदाता उम्मेदवारका खोक्रा आश्वासन र अजेन्डाका भरमा भोट नहाल्ने बताउँछन् । उम्मेदवारले पहिले वाचा गरेका प्रतिबद्धता पूरा गरे÷नगरेको सोध्ने बेला आइसकेको उनीहरूको तर्क छ। 

महिला हक र अधिकारका कुरा गरे पनि उनीहरूलाई सशक्तीकरण नगरिएको उनको गुनासो छ । ‘महिला पुरुषभन्दा कम छैनन् । हामी महिलाका लागि यो गर्छौं र त्यो गर्छौं भन्नुको तुक छैन,’ उनले भनिन्, ‘जबसम्म महिलाप्रतिको सोच र दृष्टिकोणमा परिवर्तन हुँदैन, तबसम्म महिला सशक्तीकरण हुँदैन ।’ महिलाप्रतिको हेराइ बदल्न सहयोग गर्ने र महिला स्वास्थ्यमा काम गर्नेलाई आफूले चयन गर्ने सोचमा उनी छन्। 

ललितपुर क्षेत्र– ३ की मतदाता सन्ध्या गौतम पनि विगतमा नेताले वाचा पूरा नगरेको सम्झेर दिक्क छन् । ‘चुनाव प्रचारका बेला घरघरमा आएर हात जोड्ने, हामीले भनेको समस्या आजै समाधान गर्छौं जस्तो गर्ने, तर चुनावपछि सुनेको नसुन्यै गर्ने चलनको अन्त्य हुनुपर्छ,’ उनी भन्छिन्। 

उनी महिलाको आयस्रोत बढाउने खालका कार्ययोजना ल्याउनेलाई भोट दिने बताउँछिन् । ‘एउटी महिलाले जसोतसो आफ्नो समय निकालेर तालिम लिन्छे,’ उनी भन्छिन्, ‘त्यसलाई व्यावसायिक बनाउन रकम पुग्दैन, त्यसका लागि सरकारबाट अनुदान प्राप्त हुनुपर्‍यो ।’ सीप विकासका कार्ययोजना, महिला स्वास्थ्यमा सहुलियतलगायत योजना ल्याउनेलाई भोट दिने उनको योजना छ। 

फुटपाथमा व्यापार गर्ने ६५ वर्षीया शान्ता मगर काठमाडौं क्षेत्र– १० की मतदाता हुन् । उनले पञ्चायत कालदेखि नै हरेक चुनावमा भोट हालेकी छन् । उनी भन्छिन्, ‘जति चुनाव भए, सबैमा भोट हालेँ, खोई आफ्नो दुःख आफैँसँग छ, हाडछाला नघोटे खान पुग्दैन।’ 

चुनावमा यो गर्छु र त्यो गर्छु भन्दै हिँड्ने र चुनाव जितेपछि नाकमुख नदेखाउने चलन रहेको उनको गुनासो छ । ‘जुन जोगी आए पनि कानै चिरेका, जनताको आँखामा धुलो हाल्ने कामबाहेक केही होइन,’ उनले भनिन् । आफ्नो टोलमा सडक र खानेपानी समस्या रहेकाले त्यसलाई समाधान गर्ने नेतृत्व चयन गर्ने उनको योजना छ। 

ललितपुर क्षेत्र– ३ की मतदाता सानुमाया सुवेदी एकल महिला हुन् । उनी महिलाका लागि विशेष योजना ल्याउनेलाई भोट हाल्ने सुरमा छन् । पहिलेका नेताले आश्वासन मात्र दिएकाले यसपालि भने नेता छानेर भोट हाल्ने उनको विचार छ । उनी एकल महिला भत्ता बढाउनेलाई भोट हाल्ने बताउँछिन्। 

प्रकाशित: ८ मंसिर २०७४ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App