७ वैशाख २०८१ शुक्रबार
समाज

खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडियो

निर्माण सुरु गरिएको ८ वर्षपछि सञ्चालनमा आएको दुधकोसी पुल। तस्बिर: दमन

खोटाङ–पूर्वी पहाडी जिल्ला खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। बाटोमा पार गर्नुपर्ने दुधकोसीमा निर्माण सुरु गरिएको मोटरेबल पुल सम्पन्न भएपछि खोटाङ स्थायीरुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसीमा निर्माण गरिएको पुल शुक्रबार बिहानदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ।

खोटाङको वर्तमान साँध सिमाना कायम भएको ४२ वर्षपछि जिल्लालाई जोड्ने डेढ सय मिटर लम्बाई भएको ससपेन्सन ब्रिज तयार भएको हो।

करिब ११ करोडको लागतमा निर्माण गरिएको आरसिसि ससपेन्सन मोटरेबल ब्रिज हर्कपुर सडक डिभिजन प्रमुख इश्वरबहादुर रिजालले डिभिजनको गाडी पार गराएर सर्वसाधारणका लागि खुला गरेका छन्। खोटाङको वर्तमान साँध सिमाना कायम भएको ४२ वर्षपछि जिल्लालाई जोड्ने डेढ सय मिटर लम्बाई भएको ससपेन्सन ब्रिज तयार भएको हो। पुल बनेपछि जिल्लाबासी हर्षित बनेका छन्। नवनिर्मित पुल खुला गरिएसँगै अहिले राजधानी जाने र जिल्ला भित्रिने सवारी साधन सिधै वारपार गर्न थालेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए। ससपेन्सन मोटरेबल ब्रिज नेपालमा नेपालीले बनाएको पहिलो पुल भएको दाबी गरिएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयराम र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको थाक्ले जोड्ने जयरामको पुल खोटाङको प्रमुख नाका हो। पुल बनेपछि जिल्लाको समृद्धिको बाटो खुलेको पुर्वसांसद पिके राईले बताए। पक्की पुल खुलेपछि दिक्तेलबाट करिब १६ घण्टामै राजधानी काठ्माडौं जान र आउन सकिने स्थायी बाटो खुलेको छ। पक्की पुल सञ्चालनमा ल्याइएपछि राजधानी काठमाण्डौं बाहेक पूर्वी तराई कटारी लगायतका शहर जाने र आउने सिधा स्थायी बाटो खुलेको छ। दुधकोसीमा वर्षा याममा अस्थायी बेलिब्रिज राख्ने गरिएको थियो।

कालिका कन्ट्रक्सन र हुलास कम्पनीले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो। जिल्लाको विकास र भविष्यसँग जोडिएको जयराममा पुल नबन्दाको प्रत्यक्ष अशर अन्य बिकास निर्माणमा समेत परेको थियो। चिनिया प्राविधिक र चिनिया उपकरण प्रयोग गर्नुपर्ने बाध्यताका कारण पुल निर्माणको काममा ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ। तीन पटक थप गरिएको म्याद गुज्रिएपछि पुल निर्माणको काम पूरा भएको हो।

जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका कारण तराईबाट जिल्ला भित्रिने उपभोग्य सामान दुधकोसीमा भरियामार्फत झार्नु, नदी तार्नु र पुःन गाडीमा चढाइरहनुपर्ने बाध्यता हटेको छ।

यात्रा गर्नेक्रममा जयरामघाटबाट सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता समेतको अन्त्या भएको छ। पारिश्रमिक दिएर भरियामार्फत नदी तार्नुपर्ने समस्य हटेकाले दैनिक उपभोग्य वस्तुको मुल्यामा केही कमी आउने खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष राजेन्द्र लयालुले बताए। जयरामको पुलका कारण छिमेकी जिल्ला भोजपुरबाट समेत मध्यपहाडीलोकमार्ग हुँदै सिधै काठ्माण्डौं जाने बाटो खुलेको छ।

प्रकाशित: ८ मंसिर २०७४ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App