७ वैशाख २०८१ शुक्रबार
अन्य

‘जेब्राक्रसिङ खुइलिसक्यो, सडक बनाउने गफ गर्छन्’

बालाजुको भाटभोटेनीनजिकै विमला भण्डारीको खाजा पसल छ ।  विभिन्न पार्टीका उम्मेदवार उनको पसलमा भोट माग्न आइसकेका छन् ।
भण्डारीसँग भोट माग्न आउने कोही सडक बनाउने कुरा गर्छन् त कोही कलकारखाना खोल्ने र विकासको बाढी बगाउने वाचा । उनलाई भने आफ्नी छोरीलाई स्कुल पु¥याउन पार गर्नुपर्ने मूल सडकमा पोतिएको जेब्राक्रसिङको  चिन्ता छ ।
‘नेताहरू ठूला–ठूला गफ गर्छन्,’ उनले भनिन्, ‘तर बाटोमा खुइलिएका जेब्रा क्रसिङतर्फ कसैको ध्यान जाँदैन ।’ उम्मेदवारले ठूला सपना बाँड्नुभन्दा सर्वसाधारणका स–साना समस्या सुल्झाउने वाचा गरे भोट पाउने उनको बुझाइ छ ।
प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र–७ का धेरै मतदाताको मत उनीसँग मिल्छ । यस क्षेत्रका ग्रामीण मतदातालाई सडक पक्की होस् भन्ने चाहना छ भने सहरी मतदातालाई सडकको धुलो हटोस् भन्ने छ ।
यस क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिकाका वडा–१६, १७, १८, २५, नागार्जुन नगरपालिकाका वडा– १, २, ३ र तारकेश्वर नगरपालिकाका वडा– ३, ४, ५ पर्छन् ।
‘गाउँका धुलाम्मे सडक पिच हुनुप¥यो,’ तारकेश्वर नगरपालिकाका अमृत महत भन्छन्, ‘त्यसपछि त्यही बाटोबाट विकास आउने आशा गरौँला ।’ बेरोजगार समस्याले युवालाई चिन्तित तुल्याउने बताउँदै उनले अब बन्ने सरकारले त्यो समस्या हल गर्छ भन्ने उनको आशा छ । ‘जुनसुकै पार्टीको सरकार बने पनि युवालाई रोजगारीको कार्यक्रम ल्याओस् भन्ने चाहना छ,’ उनी भन्छन्, ‘स्वदेशमै मेहनत गरेर बाँच्न सकिने वातावरण बनोस् ।’
काठमाडौं क्षेत्र– ७ मा वाम गठबन्धनका तर्फबाट रामवीर मानन्धर, लोकतान्त्रिक गठबन्धनका तर्फबाट विक्रमबहादुर थापा र विवेकशील साझा पार्टीबाट अनुपा श्रेष्ठ प्रतिस्पर्धामा छन् । कतिपय मतदातालाई भने कसैले पनि प्रभाव पार्न सकेका छैनन् । ‘जसलाई भोट दिए पनि खासै केही परिवर्तन भएन,’ तँलाछेका रमेशकाजी बज्राचार्यले भने, ‘अहिले भोट हाल्ने खासै उत्साह छैन ।’
स्थानीय निर्वाचनमा यस क्षेत्रमा परेका काठमाडौं महानगरपालिकाका वडामध्ये तीनवटामा कांग्रेस र एउटामा एमालेले जितेका थिए । नागार्जुन नगरपालिका तीनवटै वडामा एमालेले जितेको थियो । स्थानीय निर्वाचनमा यो क्षेत्रमा कुल ३४ हजार दुई सय ७४ मत खसेको थियो । जसमध्ये वाम गठबन्धनले १७ हजार नौ र लोकतान्त्रिक गठबन्धनले १५ हजार चार सय ६० मत पाएका थिए ।

क्षेत्र– ८
कालिमाटीका नरेश शाहीलाई भने खानेपानी समस्याले पिरोलेको छ । भूकम्पअघि नियमित रूपमा आउने खानेपानी त्यसपछि नआएको उनले बताए । ‘हाम्रो समस्या पिउने पानी हो,’ उनले भने, ‘पानीको समस्या सम्बोधन गर्नेलाई हामी भोट दिन्छौँ ।’
सहरमा फोहोरको समस्या रहेको उनले बताए । ‘फोहोर उठाउने गाडी पैसा उठाउन घरघर पुग्छ, फोहोर उठाउनचाहिँ पुग्दैन,’ उनले भने, ‘जसकारण सहरमा फोहोर थुप्रिने गरेको छ ।’  अब बन्ने सरकारले जनताको समस्या बुझेर अगाडि बढे मुलुकको भलो हुने उनले बताए ।  
क्षेत्र– ८ मा  काठमाडौं महानगरपालिकाका वडा– १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडा–४ र ५ पर्छन् । यस क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट जीवनराम श्रेष्ठ,  लोकतान्त्रिक गठबन्धनका तर्फबाट नवीन्द्रराज जोशी   र विवेकशील साझा पार्टीका तर्फबाट पुकार बम प्रतिस्पर्धामा छन् ।
कतिपय मतदाता भने नाम छुटेका कारण भोट हाल्न नपाए पनि प्रतिनिधिले  आफ्नो क्षेत्रको विकासमा ध्यान पु¥याऊन् भन्ने चाहन्छन् । ‘बाहिर भएकाले मतदाता नामावलीमा नाम छुटेको छ,’ भोटेबहालमा भेटिएका तुलसीरत्न स्थापितले भने, ‘तर जसले चुनाव जिते पनि नगरको सरसफाइ र खानेपानीमा ध्यान पु¥याऊन् भन्ने चाहन्छु ।’ नगरका तीनवटा वडाले छुने भोटेबहाल मार्गको जीर्ण अवस्थाबारे उनले चिन्ता पोखे । ‘२१, ११ र १२ वडाले  छुने यो मार्गलाई कसैले पनि वास्ता गर्ने गरेका छैनन्,’ उनले भने, ‘सबै प्रतिनिधि मिलेर विकासमा हात बढाउनु जरुरी छ ।’
स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाका ६ वडामध्ये चारवटामा एमाले र दुईवटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । स्थानीय निर्वाचनमा यस क्षेत्रमा कुल ३० हजार नौ सय ३० मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले १६ हजार चार सय नौ र लोकतान्त्रिक गठबन्धनले १३ हजार तीन सय ११ मत पाएका थिए ।

प्रकाशित: ११ मंसिर २०७४ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App