coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘नेताले नै सहरको विकास गर्न सकेनन्’

लक्ष्मी गिरी, अभिनेत्री

तपाईलाई मनपर्ने सहर कुन हो ?
अधिकांस मानिसलाई जहाँ आफू जन्मे–हुर्केको छ त्यही ठाउँ नै प्यारो लाग्छ । मेरो जन्म काठमाडौंमै भएको हो । सानैदेखि मैले उपत्यकालाई चिन्न पाएँ । यहाँको हावापानी र प्रकृतिसँग वाल्यकालदेखि नै रमाउन सिकें ।  काठमाडौंको ऐतिहासिक क्षेत्र पशुपति मलाई ज्यादै मनपर्छ । यहाँ नेपालकै नभएर सारा भुगोलका मानिसहरु आउँछन् । सहरभित्रको एक भिन्न धार्मिक क्षेत्र हो पशुपति ।
नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
मैले बाहिरी मुलुकका धेरै सहर घुमेकी छु । त्यसमध्ये अमेरिकाका हरेक सहर मनप¥यो । तीमध्येको राम्रो र व्यवस्थित सहर हो सिकागो । यो सहर ज्यादै सुन्दर सहर छ । जनसंख्या धेरै भएर पनि यो सहर शान्त र व्यवस्थित छ । मानिसले सहर सिँगार्न सक्छ भन्ने यी उदाहरण बाहिरी मुलुकका सहर घुमेपछि थाहा हुन्छ । बाहिरी मुलुकका सहर जति घुमे पनि नपुग्ने रमणीय छन् । त्यहाँ फोहोर कतै देखिन्न । हेर्दै मन लोभिन्छ । हाम्रोमा प्रकृतिले अपार सौन्दर्यता दिँदा पनि मानिसले व्यवस्थित पार्न सकेका छैनन् ।
उपत्यका बाहिर कत्तिको जानुहुन्छ ?
छायांकनको क्रममा उपत्यका बाहिर धेरै ठाउँ पुगेकी छु । उपत्यका मानिसको भिडभाड र सरकारको काम गर्ने शैली नमिलेका कारण बिग्रिएको हो । उपत्यका बाहिर मानिसको त्यति भिड देखिन्न । केही समय अघि म पश्चिम क्षेत्रमा पुेगेकी थिएँ । पाल्पादेखि रिडिसम्म जाने बाटो मलाई धेरै राम्रो लाग्यो । त्यहाँको बाटोघाटो र हरियाली हेर्दा बालापनको याद आयो । म सानी छँदा काठमाडौं यस्तै हरियाली थियो ।
नेपाल र बाहिरी मुलुकका सहरबीच कस्तो भिन्नता पाउनुभयो ?
मौलिकताको कसीमा नेपालका सहर धेरै अगाडि छन् । कुनै पनि मुलुक नेलाजस्तो हराभरा बन्न सक्दैनन् । आधुनिकतालाई हेर्दा हामी पछि छौँ । सरकारी निकायको बेवास्ताले हाम्रा सहर विकास हुन नसकेका हुन् । यहाँका सरकारी निकायमा काम गर्ने कर्मचारीहरु तालिम लिन र घुम्न भन्दै विदेश पुग्छन् तर त्यहाँको सिको गर्न खोज्दैनन् । उनीहरुकै काम गर्ने शैली नभएका कारण सहर बिग्रिएको हो । अब आम नागरिक एक भएर सरकारी निकायमा बस्नेलाई खबरदारी गर्न जरूरी छ ।
हाम्रा सहर विकास हुन नसक्नुको कारण के होला ?
सहर विकास किन हुन सकेन भन्ने कुरा तपाई हामी सबैलाई थाहा छ । यहाँ पैसा र निजी स्वार्थ पूर्ति गर्न राजनीति गर्ने व्यक्तिहरुले नै सहरलाई कुरुप बनाएका हुन् । भएका स्रोत–साधन र सम्भावनालाई राज्यले बुझ्न सकेन । सहर विकासका निम्ति ल्याएका योजना कागजमै सीमित रहे । यी कारणले सहरको विकास हुन नसकेको हो ।
तपाईंकोे सपनाको सहर कस्तो होला ?
सहरले सबैको अधिकार सुनिश्चित गर्न सक्नुपर्छ । सहरमा हामीले चाहेको सबैखाले सेवा–सुविधा भेटिनुपर्छ । मानिसले स्वच्छ हावा र खानेकुरा सहजै पाउँन सक्नुपर्छ । सहरवासीमा एकताको भावना हुनुपर्छ । ठाउँ ठाउँमा पार्कहरु बनाइएको हुनुपर्छ । सडक पनि फराकिलो हुनुपर्छ । धुँवा, धुलो, प्रदूषणजस्ता समस्या देखिनुहुँदैन । यति भयो भने सहरमा बसेकाहरुले सहरको अनुभूति गर्न सक्छन् जस्तो लाग्छ ।
उपत्यका कस्तो लाग्छ ?
उपत्यका हाम्रो देशको चिनारी हो । यसले नेपालको पहिचान बोकेको छ । यहाँ विभिन्न संस्कृति, जातजाति, भेषभषा पाइन्छ । साँस्कृतिक र धार्मिक हिसाबले पनि यो क्षेत्र उच्च विन्दुमा छ । तर, हामीले यसलाई चिन्न सकेनौं । यहाँको महत्व अरु देश समक्ष बुझाउन सकेनौं । सत्तामा बस्नेले सधैं देशलाई भागबण्डा लगाए । उनीहरुकै कारण हाम्रा यति सुन्दर सहर ओझेलमा परेका हुन् । पहिले काठमाडौं धेरै व्यवस्थित थियो । अहिले ७५ वटै जिल्लाका मानिस काठमाडौंमै छन् ।  यसले पनि काठमाडौंलाई बिगारेको हो भन्न सकिन्छ ।
आम नागरिक र सत्तामा बस्नेले के गरे भने सहरको विकास हुन्थ्यो होला ?
काठमाडौंमा बसेर काठमाडौंलाई नै सराप्नेहरु धेरै छन् । उनीहरु आफ्नो कोठाभित्रको फोहर समेत तह लाउन सक्दैनन् । जथाभावि फोहर फ्याक्छन् । भुस्याहा कुकुर जथाभाबी छाडिन्छ । कम्तिमा आफ्नो घरभित्रको फोहरलाई राम्रोसँग व्यवस्थापन गरिदिएको भए सहर यति गन्हाउने थिएन होला । भत्काइएका सडक समयमै मर्मत भएनन् । यसमा सरकार पनि गैरजिम्मेवार देखिन्छ । सत्तामा बस्ने भ्रष्टाचार गर्न मात्रै पल्किए । जनताको पीर–मर्कालाई सधैँ खेलवाड सम्झिए । काठमाडौंमा आएर सानैदेखि राजनीतिमा लागेका नेताहरुले नै काठमाडौंलाई सपार्न सकेनन्, यो दुःखको कुरा हो ।
तपाईंको नजरमा उपत्यकाका मुख्य समस्या के हुन् ?
खाल्डाखुल्डी सडक, खानेपानीको हाहाकार, ट्राफिक जाम, धुवाँधुलोलगायत यहाँका मुख्य समस्या हुन् । जथाभावी फोहोर नफ्याँक्ने, विकास निर्माणका कामलाई छिटो सक्ने, वृक्षारोपण गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित पार्ने, ठाउँठाउँमा आराम स्थल निर्माण गर्नेजस्ता काम गर्ने हो भने उपत्यका राम्रो हुन्थ्यो  । र, सहरमा बस्नेहरु पनि खुशी हुन्थे ।  
काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
बाल्यकालदेखि नै मैले काठमाडौं उपत्यकालाई चिन्न पाएँ । यहाँको मौसमसँगै हुर्कन पाएँ । म सानी छँदा उपत्यका सुनसान थियो । हरियाली थियो । सबैतिर गाउँ थिए । खेतीयोग् जमिन थिए । ठाउँठाउँमा मूल फुटेर पानी रसाएको हुन्थ्यो । ठाउँ–ठाउँमा पोखरी र ढुंगेधारा हुन्थे । तर, अहिले उपत्यका कंक्रिटमा परिणत भयो । पानी किनेर सौच गर्नुपर्ने अवस्था आयो । पूरानो उपत्यका अब सम्झनामै सिमति रह्यो । यसको मुल कारण, हामीले प्रकृतिले दिएको कुरालाई जतन गर्न नसक्नु हो ।
काठमाडौंको मनपर्ने पक्ष के हो ?
यहाँको मौसम र मठ–मन्दिर राम्रो लाग्छ । यहाँका साँस्कृति धामिर्क क्षेत्रहरु पनि मलाई मनपर्छ ।
यहाँको मननपर्ने पक्ष ?
मानिसको कोचाकोच, धुँवाधुलो, ट्राफिक जाम सम्झँदा काठमाडौं दिक्कलाग्दोे छ । कतै–कतै विकास निर्माणका काम भइरहेको देख्दा अब अली सफा बन्छ की जस्तो लाग्छ ।
उपत्यकामा कतै घुम्न जानुप¥यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
उपत्यका भित्रका ग्रामिण क्षेत्र घुम्न रमाइलो लाग्छ । काठमाडौंको काठ क्षेत्रमा पाइने गाउँले परिवेश राम्रो लाग्छ । चिसापानी, गोटीखेल, चोभार, पाथिभरा, लेले लगायत क्षेत्रमा प्रायः घुम्ने गर्छु ।
यहाँको मनपर्ने खाने कुरा के हो ?
यहाँको सबैखाले खाना, खाजा राम्रो लाग्छ । त्यसभित्र पनि नेवारी खानेकुरा मिठो लाग्छ ।
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
विश्वका धेरै देशका सहर पुगेँ, मन भएर पनि पुग्न नपाएको ठाउँ रारा हो । समय र अवसर जु¥यो भने यहाँ छिटै पुग्छु ।
अन्तमा भन्न लागेको केही ?  
एकदुइटा भन्न मन छ । सहरमा बस्ने सबैले आफ्नो अघिकार पाउँनुपर्छ । जेष्ठ नागरिकहरुको यो सहरले समस्या बुझ्न सक्नुपर्छ । सत्तामा बस्नले इमान्दार भएर काम गर्नुपर्छ । पूरानो मौलिकतालाई जोगाएर सरकारले विकास निर्माणका काम अघि बढाओस ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ११ मंसिर २०७४ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App